काठमाडौं । सहज च्यालेन्ज फण्डले कोशी प्रदेशमा कृषिसँग सम्बन्धित व्यवसाय गर्नेलाई चौथो र पाँचौं चरणका लागि आवेदन माग गरेको छ । कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायिकीकरण र आर्थिक मूल्य प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्यसहित फण्डले चौथो र पाँचौं चरणका लागि आवेदन माग गरेको हो ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै फण्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृंखलामा विद्यमान अवरोध समाधान गर्न सहयोग गर्न लागिएको जानकारी दिएको छ । चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौं चरणमा पर्यावरणीय तथा वातावरणीय पहलको सेवामा सहयोग गरिने बताइएको छ ।
च्यालेन्ज फण्डका लागि इच्छुकले आगामी साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्यांकन गरिने र सफल आवेदकले पूर्ण व्यावसायिक योजना बुझाउनुपर्ने फण्डले जानकारी दिएको छ । पूर्ण व्यावसायिक योजना मूल्यांकन गरी सम्बन्धित व्यवसाय गर्नेलाई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम दिने बताइएको छ ।
प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिने फण्डले जानकारी दिएको छ । चौथो चरणमा उपकरण तथा मेशिनेरी खरीदका लागि सहयोग नदिइने र पाँचौं चरणमा उपकरण तथा मेशिनरी खरीदका लागि सहयोग रकमको ३० प्रतिशत प्रयोग गर्न सकिने बताइएको छ ।