कर्जाको ब्याजदर फेरि बढ्ने संकेत

काठमाडौं। उद्योगी व्यवसायीले ब्याजदर घटाउन लबिङ गरिरहेकै बेला बैंक, वित्तीय संस्थाको कर्जा अझै महँगो हुने देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कोषको लागत बढेपछि कर्जाको ब्याजदर पनि बढ्ने देखिएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार २०८० साउनमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर र आधारदर वृद्धि भएको छ । २०८० असारमा बैंकहरूको निक्षेपमा औसत ब्याजदर ७ दशमलव ८६ प्रतिशत रहेकोमा साउनमा ८ प्रतिशत पुगेको छ ।  नेपाल बैंकर्स संघले ब्याजदर तोक्ने प्रचलन हटाउँदै बैंकहरूले साउनदेखि आफूखुशी ब्याजदर तोक्न थालेका हुन् । बैंकहरूबीच प्रतिस्पर्धा हुन थालेपछि निक्षेपको ब्याजदर बढिरहेको छ । असोजमा पनि आठओटा बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । वैशाखमा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झरेकोमा असोजको ब्याजदर तोक्दा ११ दशमलव ३५८ प्रतिशतसम्म पुगिसकेको छ ।  राष्ट्र बैैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महीना लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महीना प्रकाशित गर्नुपर्छ । तर, ब्याजदर तोक्दा साविकको ब्याजदरमा १० प्रतिशत मात्र तलमाथि गर्न पाइने व्यवस्था छ ।  कर्जाको माग नबढे पनि वाणिज्य बैंकहरूलाई भएको निक्षेप जोगाउन ब्याजदर वृद्धि गर्नुपर्ने बाध्यता रहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बैंकहरूबीच निक्षेप खोसाखोसको अवस्था छ,’ उनले भने, ‘भएको निक्षेप टिकाउन पनि ब्याजदर बढाउनुपर्ने बाध्यतामा छौं ।’ निक्षेपको ब्याजदर वृद्धिसँगै बैंकहरूको लागत महँगो भई आधारदर बढिरहेको छ । यसले गर्दा कर्जाको ब्याजदर बढ्ने सम्भावना उच्च हुन पुगेको हो ।  २०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव शून्य ३ प्रतिशत रहेकोमा साउनमा १० दशमलव ११ प्रतिशत पुगेको छ ।  बैंक, वित्तीय संस्थाहरूले लागतमा शून्य दशमलव ७५ प्रतिशत नाफा समेत जोडेर आधारदर तय गर्न पाउँछन् । बैंकहरूले मासिक रूपमा आधारदर गणना गरी महीना सकिएको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।  नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी केन्द्रीय बैंक र वाणिज्य बैंकहरूबीच एकअर्कालाई असहयोग गर्ने नीतिका कारण ब्याजदर वृद्धि भएको बताउँछन् । तरलता बढी हुँदा पनि राष्ट्र बैंकले मौद्रिक औजारबाट तरलता नतानेको र बैंकहरू पनि निक्षेप खोसिने डरले ब्याजदर बढाउन लाग्दा कर्जा महँगो भइरहेको उनले टिप्पणी गरे । बैंकहरूले पछिल्लो ३ महीनाको आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घटबढ हुँदा कर्जाको ब्याजदर स्वत: घटबढ हुन्छ । हाल वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । तर, कर्जा सम्झौतामा तोकिएको प्रिमियम परिवर्तन गर्न नपाइने प्रावधान छ ।  राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८० असारको तुलनामा साउनमा कर्जाको औसत ब्याजदर भने घटेको छ । असारमा १२ दशमलव ३० प्रतिशत रहेको कर्जाको औसत ब्याजदर साउनमा भने १२ दशमलव २४ प्रतिशतमा झरेको छ । उच्च ब्याजदरका कारण पछिल्लो समय बैंकहरूको कर्जा बढ्न सकेको छैन । जसको कारण बैंक, वित्तीय संस्थामा ४ खर्ब रुपैयाँ तरलता थन्किएर बसेको छ । शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ८२ दशमलव ६८ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म कर्जा–निक्षेप अनुपात कायम गरेर कर्जा दिन पाउँछन् । शनिवारसम्म बैंक वित्तीय संस्थामा कुल ५७ खर्ब २६ अर्ब निक्षेप छ । कर्जा प्रवाह ४९ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । 

सम्बन्धित सामग्री

कर्जाको ब्याजदर घट्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर घटाएसँगै कर्जा पनि सस्तो हुन थालेको छ । निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको लागतसँगै आधारदर कम भएर कर्जाको ब्याजदर घट्न थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को असोजमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ११ प्रतिशतमा झरेको छ । साउनमा कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत थियो । साउनमा १० दशमलव ११ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधारदर असोजमा ९ दशमलव ९४ प्रतिशतमा झरेको छ । आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो ।  साउनको तुलनामा असोजमा विकास बैंकहरूमा भने ब्याजदर बढेको छ । साउनमा विकास बैंकहरूको कर्जाको औसत ब्याजदर १३ दशमलव ८८ प्रतिशत रहेकोमा असोजमा १३ दशमलव ९१ प्रतिशत कायम भएको छ । भदौको तुलनामा भने असोजमा ब्याजदर घटेको छ ।  यसैगरी फाइनान्स कम्पनीहरूमा पनि कर्जाको औसत ब्याजदर घटेको छ । फाइनान्स कम्पनीहरूमा साउनमा १४ दशमलव ६६ प्रतिशत औसत ब्याजदर रहेकोमा असोजमा १४ दशमलव ६१ प्रतिशतमा झरेको छ ।  तरलता अभाव भएसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि लागत बढेर कर्जा पनि महँगो भएको थियो । पछिल्लो समय विष्रेषण आप्रवाहमा सुधार र आर्थिक गतिविधि बढेपछि बैंकमा निक्षेप बढिरहेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेपछि कर्जा पनि सस्तो हुन थालेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी आधारदर सस्तो भएको र बैंकहरूले प्रिमियम पनि घटाएकाले कर्जाको ब्याजदर घटिरहेको बताउँछन् । ‘अहिले निक्षेप वृद्धिको तुलनामा कर्जाको माग छैन,’ उनले भने, ‘बैंकहरूले लगानी बढाउन प्रिमियम पनि घटाएकाले कर्जा सस्तो भइरहेको छ ।’ मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ ।  राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्न पाउँछन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्थाले कर्जाको ब्याजदर घटेको छ ।  यसैगरी मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ । तरलता सहज भएपछि बैंकहरूले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् ।  राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २१ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३१ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार अझै ५ खर्ब १४ रुपैयाँ थप कर्जा प्रवाह क्षमता रहेको छ ।  तरलता उच्च भएपछि बैंकहरूले ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिएका छन् । यसले गर्दा कर्जा प्रवाह वृद्धि हुन थालेको छ । चालू आवको असोजसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप शून्य दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो ।

लागत घटेपछि बैंक कर्जाको ब्याजदर सस्तो

काठमाडौं। वाणिज्य बैंकहरूमा पूँजीको लागत घटेपछि ऋणको ब्याजदर सस्तो भएको छ । तरलताको अवस्था सहज भएपछि निक्षेपको ब्याजदर घटाउनुका साथै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार स्प्रेडदर (बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने औसत ब्याजदरबीचको अन्तर) समेत समायोजन गर्दा गत आर्थिक वर्ष (आव) २०७९/८० को असारमा बैंकहरूको आधारदर घटेपछि ऋणीहरूलाई राहत भएको हो ।  प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार २०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव १२ प्रतिशत कायम भएको छ । अघिल्लो आवको यस अवधिमा बैंकहरूको औसत आधारदर ९ दशमलव ३२ प्रतिशत रहेकोमा बढेर आव २०७९/८० को पुसमा १० दशमलव ६५ प्रतिशतसम्म पुगेको थियो । माघबाट भने आधारदर घट्न थालेको हो ।  तरलता अभावसँगै बैंकहरूले लगातार बढाएको ब्याजदर फागुनदेखि घटाउन थालेका थिए । २०७९ पुसमा वाणिज्य बैंकको निक्षेपमा ब्याजदर १२ दशमलव ३३ प्रतिशतसम्म पुगेको थियो । २०८० वैशाखदेखि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर एकल अंक अर्थात् ९ दशमलव ९९ प्रतिशत कायम गरेकोमा साउनदेखि बैंकले आफै निर्धारण गर्न पाउने निर्णय गरेका छन् । यसैगरी राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले स्प्रेडदर २०८० असारदेखि ४ प्रतिशतमा झारेका छन् । स्प्रेडदर कायम गर्न समेत बैंकहरूले ब्याजदर घटाएका छन् । असारमा २० ओटा बैंकमध्ये १२ को स्प्रेडदर ४ प्रतिशतभन्दा कम छ । ८ ओटाको स्प्रेडदर ४ प्रतिशभन्दा बढी छ । मर्जरमा सहभागी बैंकलाई भने एक प्रतिशत विन्दु बढीसम्म स्प्रेडदर छूट छ । असारमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव शून्य २ प्रतिशत रहेको छ । सबैभन्दा बढी कुमारी बैंकको १० दशमलव ९० प्रतिशत रहेको छ । यसैगरी एभरेष्ट, नेपाल इन्भेष्टमेण्ट मेगा, नेपाल, नबिल, एन.आई.सी. एशिया, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधारदर पनि एकल अंकमा छ ।  राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्छन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ ।  हाल वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । एकपटक कर्जा सम्झौतामा तोकिएको प्रिमियम परिवर्तन गर्न पाइँदैन ।

कात्तिकदेखि कर्जाको ब्याज थप बढ्ने, १८ प्रतिशतसम्म पुग्ने

असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले प्रथम त्रैमास (साउनदेखि असोज) सम्म बेसरेटमा भएको औसत वृद्धिको आधारमा कर्जाको ब्याजदर पनि कात्तिकबाट बढाउनेछन् । निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको बेसरेट पनि बढ्छ । यसले कात्तिकबाट नयाँ कर्जा मात्रै होइन, पुरानो कर्जा समेत महँगिने भएको छ ।

निक्षेपको ब्याजदर स्थिर, महँगिँदै कर्जा

कात्तिकमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका छन् । असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरूले लागत बढ्ने भएपछि कर्जाको ब्याजदर वृद्धि हुने भएको हो । गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा...

कर्जाको ब्याजदर दोहोरो अंकमा

वैशाख २, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर दोहोरो अंकमा पुगेको छ । निक्षेपको ब्याजदरसँगै बैंकहरूको लागत बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार फागुनमा बैंकहरूको कर्जामा औसत ब्याजदर साढे १० प्रतिशत नाघेको छ । माघबाट बैंक, वित्तीय संस्थाको औसत ब्याजदर दोहोरो अंकमा पुगेको हो ।  चालू आर्थिक वर्ष (आव) को साउनमा बैंक कर्जामा औसत ब्याजदर ८ दशमलव ४८ प्रतिशत थियो । तरलता अभाव भएसँगै बैंकहरूले निक्षेप तान्न ब्याजदर बढाएपछि कर्जाको ब्याजमा पनि दबाब बढेको हो ।  यसैगरी निक्षेपको ब्याजदर पनि चालू आवमा झन्डै दोब्बर भएको छ । गत साउनमा बैंक, वित्तीय संस्थाले निक्षेपमा वार्षिक औसत ४ दशमलव ७६ प्रतिशत ब्याज दिन्थे । फागुनमा त्यो औसत ८ दशमलव ७३ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ ।  तरलता अभाव हुन थालेपछि असोजदेखि बैंक, वित्तीय संस्थाबीच बचतको ब्याजदर बढाएर निक्षेप तान्ने प्रतिस्पर्धा शुरू भयो । ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा रोक्न कात्तिकमा केन्द्रीय बैंकले हस्तक्षेप नै गर्नुपर्‍यो । कात्तिक २ गते एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले एकपटकमा १० प्रतिशतभन्दा बढीले ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्‍यो ।  उक्त हस्तक्षेपका कारण बैंकहरूको ब्याजदर अनियन्त्रित हुन नपाएको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल दाबी गर्छन् । ‘राष्ट्र बैंकले निर्देशन जारी नगरेको भए यतिबेला कर्जाको ब्याजदर १८ प्रतिशत पुग्थ्यो,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशनकै कारण बचत र कर्जाको ब्याजदर संयमित अवस्थामा छ ।’  वाणिज्य बैंकहरूले आफ्ना प्रमुख कार्यकारी अधिकृतहरूको संगठन नेपाल बैंकर्स संघमार्फत भद्र सहमति गरी ब्याजदर स्थिर राख्ने प्रयास गरिरहेका छन् । राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार बैंकहरूले फागुनमा १० प्रतिशतले ब्याजदर बढाए पनि चैत र वैशाखमा सोही ब्याजदर कायम राखेका छन् । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । रेमिट्यान्स मुद्दतीमा भने थप १ प्रतिशत विन्दुले बढी ब्याजदर दिने गरेका छन् ।  बचतको ब्याजदर बढाएपछि बैंकहरूको आधारदर समेत वृद्धि भएको छ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७७ फागुनमा ६ दशमलव ८४ प्रतिशत रहेकोमा २०७८ फागुनमा ८ दशमलव ९८ प्रतिशत कायम भएको छ । बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने भएकाले आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदरसमेत बढ्ने गरेको छ ।  चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ दशमलव १ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने १२ दशमलव ८ प्रतिशतले बढेको छ । बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च भएकाले बजारमा तरलता अभाव हुँदै आएको छ । तरलता अभावकै कारण पछिल्लो समय बैंकहरूको नयाँ कर्जा प्रवाह ठप्प जस्तै छ । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

बैंकको ब्याजदर अझै बढ्ने !

१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु […]

अनुत्पादक कर्जामा कडाइ, बढ्ने भयो ब्याजदर

बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट लिने कर्जाको ब्याजदर अर्थात् बैंकदर २ प्रतिशत विन्दुले थप गरेर ७ प्रतिशत पुर्‍याएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बैंकदर ५ प्रतिशत रहेको थियो ।यस्तै, ब्याजदर कोरिडोरसँग सम्बद्ध स्थायी तरलता सुविधा दर, नीतिगत रिपो दर र निक्षेप संकलन दर पनि २/२ प्रतिशत विन्दुका दरले बढाइएको छ ।स्थायी तरलता सुविधा दर ५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत रिपो दर ३ दशमलव ५ प्रतिशतबाट ५ दशमलव ५ प्र

हायर पर्चेज कर्जाको ब्याजदर बढ्यो, धितोको ८०५ सम्म कर्जा

अब हायर पर्चेज कर्जा दिने कम्पनीबाट कर्जा लिँदा थप १ प्रतिशत ब्याजदर बढ्ने भएको छ । कम्पनीहरूले ऋण तथा सापटी लिएर गरेको लगानीमा बेस रेटबाट ४ प्रतिशत ब्याज थप गर्न पाउने...

महँगियो कर्जाको ब्याजदर

वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो । चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ । आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा क...

कर्जाको ब्याजदर महँगियो

काठमाडौं । वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो । चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ । आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा कर्जाको ब्याजदर स्वतः वृद्धि हुन्छ भने नयाँ ऋणका लागि समेत बैंकहरूले उक्त आधारदरमा प्रिमियम निर्धारण गरी कर्जा दिने भएकाले कर्जा महँगो हुन्छ । बैंक तथा वित्तीय संस्थाको त्रैमासिक आधारदरका आधारमा कर्जाको ब्याजदर स्वतः घटबढ हुने व्यवस्था छ । बैंकहरूको वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव ६० प्रतिशत रहेको छ भने सबैभन्दा उच्च आधारदर सिभिल बैंकको ९ दशमलव ७४ प्रतिशत रहेको छ । चालू आवको शुरुआतदेखि नै बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभाव हुन थालेपछि बैंकहरूले बचतको ब्याजदर वृद्धि गर्दै लगेका थिए । यसको कारण पूँजीको लागत वृद्धि हुन गई आधारदरसमेत बढेको हो । बैंकहरूबीच निक्षेपको ब्याजदर भएको प्रतिस्पर्धामा राष्ट्र बैंकले हस्तक्षेप गरेपछि आधारदरसमेत एकल अंकमै सीमित भएको हो । बैंकहरूको बचतको ब्याजदर बढाउँदै १२ प्रतिशत पुर्‍याएपछि कात्तिकमा राष्ट्र बैंकले हस्तक्षेप गरी एकल अंकभित्र राख्न मौखिक दबाब दिएको थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले एकपटकमा १० प्रतिशतभन्दा बढीले ब्याजदर घटबढ गर्न नमिल्ने गरी निर्देशन नै जारी गरेको थियो । उक्त व्यवस्थाअनुसार ब्याजदर वृद्धि गर्दा पनि अहिले निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशतभन्दा मुनि कायम छ । कर्जाको ब्याजदर पारदर्शी तथा प्रतिस्पर्धी बनाउन राष्ट्र बैंकले २०६९/७० को मौद्रिक नीतिमा आधारदर लागू गर्ने घोषणा गरेको थियो । उक्त व्यवस्थाअनुसार २०६९ सालबाट वाणिज्य बैंकहरूमा तथा २०७० बाट विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा यो व्यवस्था लागू गरेको हो । आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफलसमेत जोडेर आधारदर तय गर्न पाउँछन् । बैंकहरूले मासिक रूपमा आधारदर गणना गरी महीना सकिएको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । बैंकहरूले कर्जाको ब्याजदर प्रकाशित गर्दा पनि आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गर्ने व्यवस्था कार्यान्वयन गर्छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने गरेको छ । यसैगरी सर्वसाधारणले पनि बैंकहरूको आधारदर हेरेर कर्जाको ब्याजदरमा बार्गेनिङ गर्ने थालेका छन् ।