व्यापार, व्यवसाय नाफा कमाउने उद्देश्यले गरिन्छ तर नाफा कमाउने नाममा बजारमा कमसल, खराब, कम गुणस्तरयुक्त वस्तुको विक्री गर्नु हुँदैन । गुणस्तरहीन वस्तुले मानिसको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले यस्ता वस्तुको विक्रीमा कानूनले नै रोक लगाएको हुन्छ । उपभोक्ताको स्वास्थ्यमा हानिनोक्सानी नहुने किसिमको गुणस्तरीय वस्तुको मात्र विक्री गर्नुपर्ने कुरालाई कानूनले मान्यता दिएको छ ।
गुणस्तर कायम नभएको वस्तु बजारमा विक्री गरेको पाइएमा त्यस्तो वस्तु विक्री गर्न नेपाल सरकाले रोक लगाउन सक्छ ।
मानिसको जिउज्यान, स्वास्थ्यमा हानि पुर्याउने वस्तु वा सेवाको विक्रीबाट सुरक्षित हुन पाउने अधिकारलाई उपभोक्ता संरक्षण ऐन, २०७५ ले व्यवस्था गरेको छ । उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा गुणस्तर, वस्तु उपभोग गर्ने तरीका र त्यसको उपभोगबाट पर्ने नकारात्मक असर, वस्तुको मूल्य, उत्पादन मिति आदि कुराको लेवल लगाउनुपर्छ । मानिसको स्वास्थ्यमा हानि पु¥याउने खालका पदार्थहरूको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्नको प्रयोग गर्नुपर्छ । उपभोक्तालाई क्षति पुग्ने गरी विषादी वा कुनै रसायनको प्रयोग गर्ने वा त्यसरी प्रयोग भएको वस्तु विक्री गर्ने कार्यलाई कानूनले निषेध गरेको छ । वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ मा पनि प्रत्यक्ष विक्रेता वा वितरकबाट खरीद गरेको वस्तुको गुणस्तर चित्त नबुझेमा उपभोक्ताले ३० दिनभित्र निजलाई फिर्ता गर्न सक्नेगरी गुणस्तरीय वस्तुको प्रत्यक्ष विक्रीलाई महŒव दिएको छ ।
पशु वधशाला र मासु जाँच ऐन, २०५५ ले वधशालामा वध गरिएको पशुको स्वस्थ मासु मात्र विक्री गर्नुपर्नेमा जोड दिएको छ । खाद्य ऐन २०२३ ले स्वास्थ्यलाई हानि हुने गरी सडेको, गलेको, वा फोहोरमैला वा विषाक्त अवस्थामा राखिएको वा तयार गरेको खाद्य पदार्थलाई दूषित खाद्य पदार्थ मानेको छ । कसैले पनि यस्ता दूषित खाद्य पदार्थको उत्पादन, विक्रीवितरण वा निकासी वा पैठारी गर्न हुँदैन । त्यस्तो खाद्य पदार्थ तोकिएको अधिकारीले शिलबन्दी गरी रोक्का राख्न सक्छ । जीवनाशक विषादी र खाद्य पदार्थको भण्डारण र विक्री अलगअलग स्थानबाट गर्नु पर्ने गरी जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ मा व्यवस्था गरेको छ ।
औषधि ऐन, २०३५ ले प्रत्येक औषधि तोकिएको स्तर कायम रहने गरी जनसुरक्षित, असरयुक्त र गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिएको छ । प्रत्येक औषधिको भाँडोमा अर्को औषधिसँग नमिसिने गरी लेबल राख्नुपर्छ । बाल आहारको निर्माण तथा विक्री वितरण गर्दा गुणस्तर कार्यालयबाट निर्धारित वा सिफारिश गरिएको गुणस्तरअनुसार हुनुपर्छ । गुणस्तरहीन वस्तु देशमा विक्री गर्न नपाइने गरी आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रीवितरण, नियन्त्रण) ऐन, २०४९ ले रोक लगाएको छ ।
नूनमा आयोडिनको गुणस्तर कायम गर्न र आयोडिनयुक्त नूनको समुचित उत्पादन, पैठारी, आपूर्ति, विक्रीवितरणको व्यवस्था आयोडिनयुक्त नून (उत्पादन तथा विक्री वितरण) ऐन, २०५५ बमोजिम हुने गर्छ । आयोडिनयुक्त नूनको गुणस्तर पहिचानको लागि उत्पादक वा वितरकले आयोडिनयुक्त नून विक्री गर्नुअघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट जाँच गराई गुणस्तर प्रमाणीकरण गराउनुपर्छ ।
मानिसको स्वास्थ्यलाई ख्याल नगरी नाफा कमाउने एक मात्र उद्देश्य राखी वस्तु विक्री गर्नु हुँदैन । क्रेताको उद्देश्यसँग मेल खाने वस्तु मात्र विक्रेताले विक्री गर्नुपर्छ । वस्तुको उपयुक्तता र गुणस्तरीयतासम्बन्धी शर्तको बारेमा वस्तु विक्रीसम्बन्धी करारमा नै उल्लेख गरी सोहीबमोजिम वस्तुको विक्री गर्नुपर्छ । विक्री गरिने वस्तु गुणस्तरयुक्त रहेको मानिने कुरा मुलुकी देवानी संहिता, २०७४ को दफा ५५१ मा उल्लेख गरेको छ । करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक विक्री भएको वा विक्री हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त भएको मानिन्छ । कुनै खास प्रयोजनका लागि विक्री भएको वा विक्री हुने कुनै खास वस्तु त्यो प्रयोजनका लागि उपयुक्त भएमा त्यसरी विक्री भएको वा हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त रहेको मानिन्छ । कुनै खास वस्तुको गुणस्तर करारमा उल्लेख भएकोमा सोहीबमोजिम र उल्लेख नभएकोमा त्यस्तो वस्तु प्रचलितर स्तरअनुसारको गुणस्तरयुक्त हुनुपर्छ ।
वस्तुको उपयुक्तता र गुणस्तरीयतालाई बेवास्ता गरी विक्रेताले वस्तु विक्री गरेमा क्रेताले अस्वीकार गर्न सक्छ । संहिताको दफा ५५२ अनुसार करारमा उल्लेख गरिएको भन्दा फरक गुणस्तरयुक्त वस्तु क्रेताले विक्रेतालाई बुझाउन ल्याएमा सम्पूर्ण वस्तु बुझिलिन इन्कार गर्न सक्छ । त्यस्तै विक्रेतालाई बुझाउन ल्याएको सम्पूर्ण वस्तु स्वीकार गरी बुझिलिने वा त्यसको कुनै अंश स्वीकार गरी बाँकी वस्तु इन्कार गर्न सक्ने गरी यसै दफामा उल्लेख गरेको छ । क्रेताले फरक गुणस्तरयुक्त वस्तु सम्पूर्ण रूपमा वा त्यसको कुनै अंश इन्कार गरेकोमा त्यस्तो वस्तुको गुणस्तर सुधार गर्न विक्रेतालाई सूचना दिन सक्ने र सोहीबमोजिम विक्रेताले गुणस्तर सुधार गर्नु पर्नेछ । यसप्रकार वस्तु विक्रीसम्बन्धी करार भइसकेपछि विक्रेताले करारबमोजिम गुणस्तरयुक्त वस्तु नबुझाएमा वा बुझाउनका लागि इन्कार गरेमा त्यसबापत क्रेताले विक्रेता विरुद्धमा क्षतिपूर्तिको दाबी गर्न सक्छ । यो कानूनी व्यवस्था देवानी संहिता आउनुपूर्व करार ऐन, २०५६ को दफा ४६ मा उल्लेख गरेको थियो ।
नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु प्राप्त गर्ने हक दिएको छ । स्वास्थ्यमा असर पुग्ने गरी गुणस्तरहीन वस्तु विक्री गर्न कानूनले नै निषेध गरेको छ । गुणस्तर कायम नभएको वस्तु बजारमा विक्री गरेको पाइएमा त्यस्तो वस्तु विक्री गर्न नेपाल सरकाले रोक लगाउन सक्छ । वस्तुको गुणस्तर कायम नभएको अवस्थामा सरकारले त्यस्तो वस्तुको गुणस्तर निर्धारण गर्न सक्छ ।
सडे, गलेको, फोहोर, रसायन वा विषाक्त पदार्थ मिसिएको गुणस्तरहीन वस्तुको नियमित प्रयोगले मानिसको स्वास्थ्यमा नराम्रो असर पुग्ने कुरालाई नकार्न मिल्दैन । त्यसैले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध रहने खाद्यान्न, मासु, औषधिजस्ता वस्तुको उत्पादन तथा विक्री वितरणमा कानूनले गुणस्तरलाई महŒव दिएको हुन्छ । त्यस्तो वस्तु मात्र विक्रीका लागि करार गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले विक्रेताले वस्तु विक्री गर्दा नाफालाई मात्र नहेरी मानिसको स्वास्थ्यलाई पहिले प्राथमिकता दिनुपर्छ । यसका लागि विक्रेताले व्यापारिक गुणस्तरीय वस्तु मात्र विक्री गर्नुपर्छ । अन्यथा वस्तु विक्रीको कार्य कानूनविपरीत हुन जान्छ ।
लेखक अधिवक्ता हुन् ।