ललितपुर । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ देशैभरि २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान केन्द्रले शुक्रवार आयोजना गरेको रोपाइँ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् ।
बूढादेखि तन्नेरीसम्म रोपाइँमा सहभागी थिए । उनीहरूको अनुहारमा हाँसो देखिन्थ्यो । रोपाइँ चलिरहँदा झरी पर्यो । तर युवाहरुले रमाइलो गरी हिलो हिलो छ्याप्दै धान रोपे ।
‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ शुरूआत गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरिएको छ ।
तस्वीरहरू: सुनिल शर्मा / आर्थिक अभियान