सरकारसँग चार बुँदे सम्झौता गरी आन्दोलन स्थगित गरेका उखुु किसानले आठ दिनसम्म पनि कुनै भुक्तानी पाएका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच पुस १४ गते चार बुँदे सम्झौता भएको थियो तर सम्झौता भएको दिनदेखि हालसम्म एक पैसा पनि भुक्तानी नभएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले दाबी गर्नुभयो ।
सम्झौताअनुसार सम्झौता भएको दिनदेखि २१ दिनभित्र सबै बक्यौता रकम भुक्तानी गराउने मन्त्रालयले प्रतिबद्धता जनाएको थियो तर अहिले पूरै भुक्तानी ठप्प भएको उहाँले बताउनुुभयो । बरु आन्दोलन गरिरहेको अवधिमा ३३ करोड रुपियाँ किसानको खातामा आएको थियो तर सम्झौता भएको आज नौ दिन भइसक्दा पनि किसानको खातामा एक पैसा पनि नआएको उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, “उद्योग मन्त्रीले सम्झौता भएको दिनदेखि प्रत्येक दिन केही न केही रकम किसानको खातामा दिन लगाउने भन्नुुभएको थियो तर अहिलेसम्म कुनै रकम आएन । ”
उद्योगीले भने आफूहरूको खाता सरकारले रोक्का गरेका कारण भुुक्तानी गर्न नसकेको प्रतिक्रिया दिएको संरक्षक मिश्रले बताउनुुभयो । किसानको भुक्तानी नदिएका कारण सरकारले उद्योगीको खाता रोक्नुका साथै जग्गा जमिनसमेत रोक गरेको छ तर उद्योगीले अहिले त्यही बहानामा किसानको भुक्तानी दिइरहेका छैनन् ।