दस वर्षअघि विकासविद् तथा सरकारका उच्च प्रतिनिधिको रियो+२० सम्मेलनले ‘हामीले चाहेको विश्व’ को विकास परिदृश्य कार्यान्वयनका लागि दिगो विकासको लक्ष्यखाका कोरेको थियो । यसले विकास, सुरक्षा र मानव अधिकार मानव मात्रका साझा लक्ष्य हुन्, जसलाई प्राप्त गर्न देशगत प्रयास मात्र पर्याप्त हँुदैन भन्ने मान्यता राखेको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय, स्थानीय तहका सबै संरचना र राज्यबाहिरका पात्रको सामूहिक प्रयास नभई विश्वका करिब एक अर्ब मानिसको गरिबी, विपन्नता, वञ्चिती तथा मानव असुरक्षाको उपचार खोज्न सकिँदैन । विश्व विकास परिदृश्यमा यो दोस्रो साझा सङ्कल्प थियो, जसले सन् २०३० सम्मका लागि विकासको मार्गचित्र स्थापना स्थापना गर्नुका साथै कार्यान्वयनको सङ्कल्प गरेको थियो । यस मार्गचित्रको केन्द्रबिन्दुमा पृथ्वी, मानिस र समृद्धि (प्लानेट, पिपुल, प्रोस्पेरिटी) रहेको छ, जसका लागि दिगो शान्ति र सहकार्य (पीस एन्ड पार्टनरसीप) पूर्वाधार हुन् ।