सानो उमेरमा जब म विद्यालय जान थालेँ त्यसबखतदेखि सिक्दै र सुन्दै आएको कुरा हो : नेपाल जलस्रोतमा धनी छ । जलस्रोत प्रकृतिले दिएको नि:शुल्क उपहार हो जसले नेपाललाई गौरवान्वित बनाइरहेको छ । हुन पनि नेपालका ६ हजार नदीनाला र खोलाहरूमा पानी बगिरहेको छ । नेपालका ठूला नदीहरू मध्य केही चीनको तिब्बत क्षेत्रमा उत्पत्ति भई नेपालमा बगेर आएका छन् भने बाँकी सबैको उत्पत्ति नेपालकै हिमालय क्षेत्रमा भएको हो । उन्नाइसौं शताब्दीको आधा समयसम्म पानीको प्रयोग सीमित क्षेत्रमा थियो । पिउने, पकाउने, सफासुग्घर गर्ने, सिँचाइ र अन्नको पिसानीकुटानीमा व्यापक रूपले प्रयोग हुने गथ्र्यो पानी । समयको अन्तरालसँगै पानीको प्रयोगमा पनि विविधता आयो । उल्लिखित कार्यका साथै पानीको कार्यमा विस्तार हुन लाग्यो । माछापालन, पौडी र जलविद्युत् यसका विस्तारित रूप हुन् । यसको प्रयोगले निरन्तरता पाइरहेको छ र पाइरहनेछ । यही कार्यको विविधताले गर्दा पानीको उपयोग विश्वमा नै बृहत् रूपले भइरहेको छ । पानीले जैविक विविधताको संरक्षण मात्र गरेको होइन कि जीवजन्तु बचाउने कार्य गरिरहेको छ । मानिस वा अन्य जीवजन्तुको निरन्तरताका निमित्त पानी अपरिहार्य तत्त्वका रूपमा रहेको छ । पृथ्वीमा भइरहेका सबै क्रियाकलाप निरन्तर रूपले सञ्चालन हुन पानीको आवश्यकता पर्छ । त्यसैले यसको माग ठूलो मात्रामा वृद्धि भइरहेको छ । आजभोलि विश्वभर नै पानीको अभाव हुन थालेको छ । त्यसैले संसारभरि यसको खोज, संरक्षण र विकास भइरहेको छ ।
लोडशेडिङका कारणले विगतका ३ दशक नेपाल अन्धकारमा थियो भन्ने तथ्य कसैबाट लुकेको छैन । यसले नेपालको आर्थिक र सामाजिक दुवै क्षेत्रलाई अपांग बनाएको थियो र आर्थिक वृद्धिमा ह्रास भइरहेको थियो ।
नेपालसँग पर्याप्त जलस्रोत छ तर अझै पनि यसको विकास हुन सकेको छैन । पानी उपयोगको पहिलो क्षेत्रअन्तर्गत पकाउने, खाने र सरसफाइ पर्छन् भने दोस्रो क्षेत्रमा माछापालन, पौडी, सिँचाइ र जलविद्युत् पर्छन् । खेर गइरहेको पानीको उपयोगका लागि पहिलो र दोस्रो दुवै क्षेत्रको न्यायपूर्ण, उचित र समान रूपले विकास गर्न आवश्यक मात्र होइन, अपरिहार्य नै भइसकेको छ । यदि नेपालले विवेकशील ढंगले पानीको सदुपयोग गर्न सक्ने हो भने नेपालीहरूको सामाजिक र आर्थिक क्षेत्रमा अकल्पनीय परिवर्तन आउन सक्छ । देशको आम्दानी वृद्धि हुन्छ । यसको विकासले राज्यको कल्याणकारी कार्यमा विस्तार गराउनुका साथै देशलाई समृद्धिको मार्गमा प्रवेश गराउन सक्दछ । तर, विभिन्न कारणले यसको विकास हुन सकेको छैन ।
पूँजीको अभाव हुनु यसको विकासका लागि एक बाधकका रूपमा रहेको छ । अल्प आयु भएका र टुटेफुटेका नीति तथा कार्यनीति पनि जलस्रोत विकासका बाधकका रूपमा रहेका छन् । जलस्रोतको विकास हुन नसक्दा नेपालको अर्थतन्त्रका अन्य बाँकी क्षेत्रको पनि विकास हुन सकेको छैन । राजनीतिक शक्तिहरू वा कुनै निश्चित समूह विशेषको निजी स्वार्थ, संकुचित देशभक्तिपन र कहिल्यै समाधान नहुने राजनीतिक अस्थिरता आदि कारणले यो क्षेत्रको विकास हुन सकेको छैन । जलस्रोतको विकास हुन नसक्दा यससँग सम्बद्ध अरू क्षेत्रहरूको पनि उन्नति हुन नसकेका कारण नेपालको अर्थतन्त्र गन्तव्यहीन हुन पुगेको छ । आउँदा दिनहरूमा यसै प्रकारको यथार्थले निरन्तरता पाइरहने हो भने नेपालको उन्नति हुन नसक्ने कुरा किटेर भन्न सकिन्छ ।
सक्रिय, जाँगरिलो र फुर्तिलो मानव शक्तिको उपलब्धताका लागि सफा र शुद्ध खानेपानी आवश्यक पर्छ । नेपालका सबै शहरी क्षेत्रहरू विशेष गरेर काठमाडौं उपत्यकामा पानीको मागअनुसार पूर्ति हुन सकेको छैन । काठमाडौं उपत्यकावासीहरूले अन्य स्रोतबाट पानीको गुजारा गरिरहेको देखिन्छ । यसका लागि उपत्यकाका घरपरिवारहरूले आफ्नो सीमित आम्दानीको केही अंश पिउन र सरसफाइ गर्न पानीका लागि खर्च गरिरहेका छन् । यसप्रकारको खर्च विगतका धेरै वर्षदेखि भइरहेको छ किनभने सरकारी निकायबाट वितरण हुने पानी नियमित र भरपर्दो छैन । खाने र सरसफाइ गर्ने पानीका लागि खेर गइरहेको जलस्रोतको विकास गर्न घरपरिवारले दैनिक रूपमा पानीको उपलब्धताका लागि खर्च गर्ने रकमलाई गतिशील बनाउन सरकारी र निजीक्षेत्रको सहभागिता हुन जरुरी छ । आशा गरौं, यदि प्राविधिक, राजनीतिक र आर्थिक स्वार्थका कारण अवरुद्ध नभएको खण्डमा काठमाडौं उपत्यकाका घरपरिवारहरूले लामो समयदेखि प्रतीक्षारत मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीको मागअनुसार पानी आपूर्ति गर्नेछ ।
नेपालको कृषि मनसुनमा आधारित छ । मनसुनी हावापानीको अनिश्चितताले गर्दा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वर्षेनि निरन्तर घटिरहेको छ । यसले पुष्टि गर्छ कि नेपालको कृषिक्षेत्रमा उत्पादनको ह्रास नियम लागू भएको छ । ७० प्रतिशत मानिसको जीवन कृषिमा आधारित हुँदाहुँदै पनि यसप्रति आकर्षण कम हुँदै गइरहेको छ । यो क्षेत्रलाई आकर्षित र आत्मनिर्भर बनाउन विभिन्न नदीनाला र खोलाखोल्सामा बगेर खेर गइरहेको पानीको विकास गर्न जरूरी भइसकेको छ । यसको विकासले कृषिक्षेत्रलाई विकसित र आकर्षक बनाउँछ । ठाउँअनुसार माछापालनका लागि सानाठूला पोखरीको निर्माण गर्दा खेतीपातीका साथै माछापालनमा पनि संलग्न गराउन सकिन्छ । यसो गर्नाले कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व बढ्छ । यसका लागि सरकारी तथा निजी क्षेत्रको पूँजी परिचालन गर्न सकिन्छ ।
नेपालले आशातीत आर्थिक वृद्धिदर प्राप्त गर्न बिजुलीको आपूर्ति भरपर्दो बनाउनुपर्छ । नेपालमा बिजुली उपभोगको वृद्धिदर आर्थिक वृद्धिदरभन्दा बढी छ । उपभोक्ताहरूको आम्दानीको स्तर बढी घटी जे हुँदा पनि बिजुलीको उपभोग निरन्तर रूपले बढिरहेको छ । लोडशेडिङका कारणले विगतका ३ दशक नेपाल अन्धकारमा थियो भन्ने तथ्य कसैबाट लुकेको छैन । यसले नेपालको आर्थिक र सामाजिक दुवै क्षेत्रलाई अपांग बनाएको थियो र आर्थिक वृद्धिमा ह्रास भइरहेको थियो । आर्थिक र सामाजिक दुवै क्षेत्रको विकासका लागि भरपर्दो बिजुलीको आपूर्ति आवश्यक हुन्छ ।
नेपालमा बिजुली उत्पादनको सम्भावना यथेष्ट मात्रामा हुँदाहुँदै पनि यसको उत्पादन हुन सकेको छैन । नेपालबाट भारततर्फ पानीको बहाव हुन्छ र बंगलादेश हुँदै समुद्रमा प्रवेश गर्छ । यी नदीहरूमा बहने पानी सबै देशका नागरिकले प्रयोग वा उपभोग गरिरहेका छन् । यसले के पुष्टि गर्छ भने नेपालका नदीहरू चार राष्ट्रका साझा सम्पत्ति हो । यी सबै देशहरूलाई फाइदा पुग्ने गरी जलविद्युत्को विकास गर्ने नमूनाको अनुसन्धान गर्न जरुरी भइसकेको छ । यस प्रकारको नमूनाले ठूलाठूला जलविद्युत् आयोजनाहरूको निर्माणमा लाग्ने क्षेत्रीय तथा अन्तरराष्ट्रिय पूँजी जुटाउन मदत पुर्याउँछ ।
नेपालसँग जलस्रोतबाहेक अन्य विकासयोग्य आर्थिक क्षेत्रहरू सीमित छन् । भएका पनि पानीको उचित विकासमा निर्भर रहेका छन् । जलस्रोतको विकासमा नेपालको समृद्धि झुन्डिएर बसेको छ । हुन पनि हो, नेपालको भौगोलिक बनावट जलविद्युत् उत्पादनका लागि वरदान नै साबित भएको छ । जलविद्युत् सफा र प्रदूषणमुक्त ऊर्जाका रूपमा उभिएको छ । नेपालले यसको विकास गर्न सकेमा पानीका साझेदार सबै मुलुकले जलविद्युत्बाट फाइदा लिन सक्छन् । तर, यसको विकास गर्न सजिलो देखिँदैन । पानीका हकदार सबै राष्ट्रको स्वार्थमा विविधता रहेको देखिन्छ । त्यसैले नेपालको पानीको व्यवस्थापनका लागि सबै साझेदार मुलुकलाई समावेश गराई सहमतिमा ल्याउन प्रयत्न गर्नुपर्छ । यसका अतिरिक्त जलविद्युत्को विकास गर्न आवश्यक क्षेत्रीय पूँजीको परिचालन गरी ठूलाठूला जलविद्युत् आयोजनाहरूको विकास गरी बिजुलीको निर्यात प्रवर्द्धन गर्नुपर्छ जुन नेपालका लागि वरदान साबित हुनेछ ।
लेखक अर्थशास्त्री हुन् ।