दमौली । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा निर्माणस्थल खाली गर्ने काम भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँ–बायाँ रहेका रूख हटाउने काम तीव्र पारिएको हो । मुग्लिङ–पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रूख हटाउन थालिएको मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करीब ५० प्रतिशत रूख काटिसकिएको छ,’ उनले भने, ‘रूख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडि बढाउँछौं ।’ उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडि बढाइरहेको छ । जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार १६३ रूख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० रूख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम शुरू गर्न केही ढिलाइ भएको थियो । रूख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन शुरू गरिने बताइएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार ७५० रूख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।
सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडि बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।
२०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि रू. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ । मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डका लागि रू. ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ । रासस