आर्थिक वर्ष २०६६/६७ मा किसानहरूलाई रासायनिक मलमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान दिइने कृषि सामग्री संस्थानले बताएको छ । गत वर्ष अनुदानका लागि ५० करोड रुपैयाँ छुट्याइएको थियो ।
यस वर्ष संस्थानले ६४ हजार ५ सय मेट्रिक टन रासायमिनक मलको आयात गरेको संस्थानका खरिद बिक्री महाशाखाका निमित्त प्रबन्धक नारायण मरासिनीले बताए । जसमा २७ हजार ५सय मेट्रिक टन युरिया, ५ हजार मेटन पोटास, ७ हजार ५ सय मेटन डीएपी भारतबाट अयात गरिसकेको छ ।
त्यसैगरी चीनको मिड गल्ट इन्टरनेसनल सप्लायर्सबाट १२ हजार मेटन डीएपी र बंगलादशको ब्लक ट्रेड इन्टरनेसनल कम्पनीबाट १२ हजार५ सय मेटन युरिया आयात गरेको छ । ३० हजार मेटन युरिया र २ हजार ५सय मेटन डीएपी केही दिनमै भारतबाट आउने मरासिनीले बताए । गत वर्षको आउन बाँकी ५ हजार मेट्रिक टन कम्प्लेक्स र १२ हजार ५ सय मेटन युरिया भारतबाट आइसकेको छ । यसैगरी ५ हजार ४ सय १२ टन युरिया जापानबाट आएको संस्थानले बताएको छ ।
२०६५ साल चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई रासायनिक मलमा प्रत्येक वर्ष १ लाख मेटन बराबरको मूल्य अनुदान दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम यस वर्ष पनि अनुदान दिन लागिएको हो । संस्थानले हालसम्म भारतबाट समता मूल्यमा र अन्य देशहरूसँग विश्वव्यापी टेन्डर प्रक्रियाबाट मलको आयात गर्दै आएको छ ।
वर्ष ५, अंक ३६, २०६७, वैशाख २७–जेठ २