माघ ३, काठमाडौं । धितोपत्र दोस्रो बजारमा जलविद्युत् समूहको शेयरप्रतिनै पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।
कम मूल्यका यी समूहका कम्पनीहरुको शेयर खरीदमा यो दिनको कारोबारमा लगानीकर्ताहरुको उच्च सक्रियता देखिएको छ । सोमवारको कारोबारको अवस्थालाई हेर्दा समूहगत परिसूचक पनि जलविद्युतकै सर्वाधिक बढेको छ भने कारोबार रकम पनि सर्वाधिक रहेको छ ।
१ दशमलव ६१ प्रतिशत परिसूचक बढ्दा जलविद्युत् समूह अन्तर्गतको मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सर्वाधिक मूल्य बढ्ने १० ओटा धितोपत्रभित्र ६ ओटा जलविद्युत् कम्पनीहरुकै धितोपत्र परेको छ ।
कारोबारमा आएका १३ ओटा समूहमध्ये यो दिन जलविद्युत् समूहको सर्वाधिक रू. २ अर्ब ८७ करोड ६५ लाख ९३ हजार बराबरको ५६ लाख ६ हजार १८१ कित्ता शेयर कारोबार भएको छ ।
यस दिन सर्वाधिक रकमको शेयर कारोबार यसै समूह अन्तर्गतको अरुण भ्याली हाइड्रोपावरको भएको छ । सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीहरुमध्य पाँच जलविद्युत कम्पनीहरु रहेका छन् ।
पछिल्लो समय जलविद्युत कम्पनीहरुले आकर्षक लाभांशसँगै हकप्रद शेयर निष्कासनमा पनि जोड दिएकाले यो क्षेत्रको शेयर खरीदमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।
यस वर्ष वार्षिक साधारण सभा सम्पन्न गरिसकेका धेरै जसो जलविद्युत् कम्पनीहरुले लाभांशसँगै हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि पारित गरिसकेका छन् । यसर्थ उक्त हकप्रद शेयर प्रक्रियामा जानासाथ शेयरमूल्यमा गति लिने विश्वासले पनि यो क्षेत्रका कम्पनीहरुको शेयर खरीदमा लगानीकर्ता सक्रिय भएको जानकारहरु बताउँछन् ।