जेठ १२, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण विहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६२ करोड ४९ लाख लगानी गरेको छ । यो लगानी चैत महीनाको तुलनामा १ दशलमव ९५ प्रतिशत वृद्धि भएको हो। फण्डले चैत मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६१ करोड २९ लाख लगानी गरेको थियो ।
वैशाख मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभी भने चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ ।
फण्डको एनएभी चैत मसान्तसम्ममा रू. ९ दशलमव ८२ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशलमव ७४ कायम भएको छ । वैशाख मसान्तसम्ममा फण्डले रू. ४ करोड ९६ लाख नोक्सानीमा रहेको छ ।
चैत मसान्तसम्ममा पनि फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा थियो । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएसँगै जम्मा आम्दानी रू. ३ करोड ७ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।