शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरुले शेयर खरिद गरेको रकम भुक्तानी गर्न ढिलासुस्ती गरेका छन् । करिब ३२ सयको बिन्दुमा रहेको बजार घटेर २७ सय हाराहारीमा आएपछि उच्च मूल्य तिरेर शेयर खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको शेयरको रकम भुक्तानी गर्न ढिलो गरेका हुन् । शेयर खातामा आईसक्दा धेरै घाटा हुने देखिएपछि लगानीकर्ताले रकम भुक्तानीमा चासो नदिएका हुन् । ब्रोकर संघका अध्यक्ष सन्तोष मैनालीका अनुसार लगानीकर्ताले तिर्न बाँकि रहको रकमको यकिन तथ्यांक नरहेपनि १० देखि १२ अर्ब रकम लगानीकर्ताले तिर्न बाँकि रहेको अनुमान गरिएको छ । लगानीकर्ताले समयमा भुक्तानी नगरिदिँदा ब्रोकरहरु भने समस्यामा परेका छन् । लगानीकर्तामा 'पैसा तिरेपछि मात्र शेयर खातामा आउँछ, पैसा नतिरेसम्म ब्रोकर कै खातामा रहन्छ, र जहिले पैसा तिर्यो त्यहि समयमा शेयर आउँछ, खरिद गर्दाको हकमा ब्रिकी गरेर शेयर ट्रान्सफर नगर्दामा जस्तो जरिवाना हुदैन' भन्ने बुझाई छ । जुन सत्य हो । तर ब्रोकरलाई समस्या परेमा ब्रोकरले लगानीकर्ताले किनेको तर पैसा नदिएको शेयर बिक्रि गरिदिन सक्छ । यसो हुँदा लगानीकर्ताले पछि पैसा तिरे पनि अगाडी किनेको शेयर पाउदैनन् । अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यविधि, २०७४ मा यस्तो ब्यबस्था रहेको छ । जसमा राफसाफ सदस्यलाई लिखित तथा विद्युतीय माध्यमबाट आदेश दिई खरिद गरेको धितोपत्रको भुक्तानी नदिएमा सो कारोबारको राफसाफ तथा फछ्र्यौट गर्ने जिम्मेवारी सम्बन्धित राफसाफ सदस्य स्वयंको हुने उल्लेख छ ।खरिदकर्ता ग्राहकले राफसाफ सदस्यलाई आफूले खरिद गरेका धितोपत्रहरुको भुक्तानी नदिएमा त्यस्ता धितोपत्रहरु जम्मा गर्ने प्रयोजनको लागि मात्र राफसाफ सदस्यले छुट्टै एउटा हितग्राही खाता खोल्न सक्ने ब्यबस्था कार्यविधिले गरेको छ ।ग्राहकले खरिद गरेको धितोपत्रको भुक्तानी T+2 भित्र नदिएमा सदस्य दलाल÷राफसाफ सदस्यले T+3 पश्चात सिडिएससिबाट स्वीकृति लिई उक्त धितोपत्र राफसाफ सदस्यको सो प्रयोजनको लागि खोलिएको हितग्राही खातामा सार्न सक्नेछ । यसरी सारिएको धितोपत्रहरु नेप्सेको स्वीकृतिमा बिक्री गर्न सकिने ब्यबस्था कार्यविधिले गरेको छ । अर्थात् ग्राहकले रकम भुक्तानी नगरेमा ब्रोकरले त्यस ग्राहकले खरिद गरेको शेयर नेप्सेको स्वीकृति लिएर बिक्रि गरिदिन सक्छ ।यसरी ब्रोकरले शेयर बिक्रि गर्दा नाफा हुन गएमा नाफा बराबरको रकम राफसाफ प्रत्याभुती कोषमा राखिने छ । तर घाटा भएमा घाटा भए बराबरको रकम सदस्य दलालले सम्बन्धित ग्राहकबाट असुल गर्ने ब्यबस्था कार्यविधिले गरेको छ ।ब्रोकर संघका अध्यक्ष मैनालीका अनुसार यो भनेको ब्रोकरको लागि रकम असुल गर्ने अन्तिम विकल्प हो, जुन कहिलेकाही मात्र प्रयोग हुन्छ । ब्रोकरले शेयर बेचिदिने कि नबेचिदिने भन्ने बारे ब्रोकरले नै बजारको अवस्था, शेयरको प्रकृति र रकम हेरेर निर्णय गर्ने उनी बताउछन् । यदि ग्राहकको मनस्थिति नै रकम नतिर्ने देखियो भने मात्र शेयर बेच्ने उनी बताउछन् । शेयर बेच्नु अगाडी यदि त्यो शेयरले भविष्यमा राम्रो रिटर्न दिने वाला छ, वा भाउ बढ्ने सम्भावना छ भने त्यसको विश्लेषण गरेर ब्रोकरले शेयर होल्ड गर्न ओअनी सक्ने उनी बताउछन् । तर ग्राहकले पैसा नतिर्ने मनस्थिति बनाई सकेको तथा धेरै नै घाटा भईसकेको अवस्थामा अझै होल्ड गर्दा घाटा बढ्ने हो भने ब्रोकरले अवस्था हेरेर उक्त शेयर बेच्ने उनको भनाई छ । हालसम्म यसको धेरै प्रयोग नभएको तर अब पनि बजारमा सुधार नदेखिएमा भुक्तानी समयमा नआउने समस्या बढ्ने भएकोले यसको प्रयोग बढ्न सक्ने उनी बताउछन् ।