काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुन पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । गतवर्ष २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
सोही वर्षको कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाअध्यक्ष पुन केही समयअघि राहत सामग्री खोलामा फालेपछि विवादमा तानिएका थिए । प्रवासी नेपालीहरुले विदेशबाट संकलन गरेर पठाएको रकमबाट बागलुङका बाढी पीडितलाई राहत बाँड्न लैजाँदा पुनको निर्देशनमा सो राहत खोलामा बगाइनुका साथै राहत बाँड्न जानेमाथि कुटपिट भएको थियो ।
पार्टीको हित विपरित कार्य गरेको तथा राहत खोलामा बगाएको आरोपमा राष्ट्रिय जनमोर्चाले उनलाई पार्टीबाट निष्काशन गरेको थियो ।