जेठ ५, काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र जेठ १६ गतेसम्म विक्रीमा रहने भएको छ ।
कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको “एनएमबि ऋणपत्र ८ दशमलव ५–२०८७/ ८८” नामको ऋणपत्र विक्री खुला गरेको हो । यो ऋणपत्र छिटोमा जेठ ५ गतेसम्म र ढिलोमा जेठ १६ गतेसम्म विक्रीमा खुला रहने मिति तय गरिएको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधिसम्म विक्री खुला गरिने भएको हो ।
कम्पनीले प्रतिऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सार्वजनिक निष्कासनमा आएको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ ।
यसले उक्त कम्पनी समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।