जेठ ६, काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र ८ दशमलव ५–२०८/८८’ नामको ऋणपत्र विक्री गरेको हो ।
प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो । सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ ।
यस ऋणपत्र खरीदका लागि आज (बिहीवार) बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।
उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।