वैशाख २५, काठमाडौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म विक्रीमा रहने भएको छ ।
कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो । यस अवधिसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म विक्रीमा रहने जानकारी दिएको हो ।
बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र विक्री गरेको थियो ।
दोस्रो पटक भने बैंकले १५ वर्षे अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । निष्कासनमा आएको कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ प्रदान गरेको छ ।
ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।