चैत ६ , काठमाडौं । प्रहरीले जग्गा बैना गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- ३ घर भई काभ्रेको धुलीखेलमा बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् ।अभियुक्तलाई शुक्रवार साँझ दरवारमार्गबाट महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको जग्गा प्रतिआना २१ लाख रुपैयाँको दरले ४ आना जग्गा नाप जाँच गरी राजीनामा पास गरी दिने भन्दै अभियुक्तले पीडितमार्फत राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखा र ग्लोबल आइएमई बैंक शंखमुल शाखाबाट चेकमार्फत पटक - पटक ४५ लाख रुपैयाँ लिएर पनि जग्गा पास नगरेपछि प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।