संयुक्त राष्ट्रसंघीय तथ्यांक विभागबाट सन् १९६१ मा एसआईटीसीमा आधारित रही अन्तरराष्ट्रिय व्यापार तथ्यांकको अर्को उपयोगी वर्गीकरणको व्यवस्था गरियो जसलाई बृहत् आर्थिक वर्गीकरण भनिन्छ । यस वर्गीकरणको ४औं संस्करणले वर्तमान एचएसकोड प्रणालीसँग सहसम्बन्ध स्थापना गरेको छ, जसमा एचएसकोडका वर्गीकरणहरूलाई कुल सातओटा वर्गमा वर्गीकृत गरिएको छ । ती वर्गमध्ये औद्योगिक आपूर्ति पनि एक हो । यस वर्गमा औद्योगिक कच्चापदार्थका रूपमा प्रयोग हुने वस्तुहरूलाई वर्गीकृत गर्ने गरिएको छ ।
उद्योगको कच्चापदार्थको आपूर्तिको वर्गमा पर्ने हुँदा कुनै पनि मुलुकको आयातमा यस वर्गको आयातको आँकडाले विशेष महŒव राख्छ । यस आयातले मुलुकमा औद्योगिक गतिविधि, मूल्ययोग, मेकइन र मेडइनजस्ता क्षेत्रमा मुलुक सकारात्मक दिशातर्फ गइरहेको संकेत गर्छ ।
नेपालको सन्दर्भमा हेर्दा हाम्रो कुल आयातमा औद्योगिक आपूर्तिको अंश करीब ३७ दशमलव २८ प्रतिशत रहेको छ ।
नेपालको कुल औद्योगिक आपूर्तिमा सबैभन्दा बढी अंश आधारभूत धातुहरू (धाउसमेत) को रहेको छ । आधारभूत धातुहरू ( धाउसमेत) को कुल आयातमा औद्योगिक आपूर्तिको अंश करीब ९४ दशमलव ५१ प्रतिशत रहेको छ । यसको अर्थ आधारभूत धातुहरू ( धाउसमेत)को कुल आयातमध्ये रू. ११ अर्ब जति मात्र प्रत्यक्ष उपयोगमा खपत हुने गरेको छ । यसरी हेर्दा धातुजन्य आयातले नेपालको औद्योगिकीकरणमा विशेष योगदान दिएको देखिन्छ । विशेषगरी स्वदेशमा प्रविधि आमन्त्रण, रोजगारी सृजना तथा मूल्ययोग गरी यस्ता वस्तुहरूको प्रशोधित उत्पादनहरूको आयात प्रतिस्थापनमा ठूलो भूमिका खेलेको देखिन्छ । आधारभूत धातुहरू (धाउसमेत)को औद्योगिक आपूर्तिको आयातको अंश कम हुँदै जानुले कि त स्वदेशमा निर्माणलगायत गतिविधिहरू सुस्त भएको पुष्टि हुन्छ या प्रशोधित वस्तुहरूको आयातमा वृद्धि हुन जान्छ । नेपालमा आर्थिक दृष्टिकोणले आकर्षक धातु खानीहरूको उपलब्ध नरहेको सन्दर्भमा आधारभूत धातुहरू (धाउसमेत)को आयातले उपर्युक्त दुईओटा समस्यालाई एकैपटक सम्बोधन गरेको छ ।
प्लास्टिक तथा रबरको कुल आयातमा आपूर्तिको अंश करीब ७८ दशमलव २७ प्रतिशत रहेको छ । यसको अर्थ प्लास्टिक तथा रबरको कुल आयातमध्ये रू. १७ अर्ब जति मात्र प्रत्यक्ष उपयोगमा खपत हुने गरेको छ । यसरी हेर्दा प्लास्टिक तथा रबरको आयातले पनि धातुजन्य आयातझैं औद्योगिकीकरणमा विशेष योगदान दिएको देखिन्छ । यो प्रकृतिको आयातले विशेष गरी स्वदेशमा प्रविधि आमन्त्रण, रोजगारी सृजना तथा मूल्ययोग गरी प्लास्टिक तथा रबरका प्रशोधित उत्पादनहरूको आयात प्रतिस्थापनमा ठूलो भूमिका खेलेको देखिन्छ । प्लास्टिक तथा रबरको औद्योगिक आपूर्तिको आयातको हिस्सा कम हुँदै जानुु भनेको कि त स्वदेशमा निर्माणलगायत गतिविधि सुस्त भएको पुष्टि हुन्छ या प्रशोधित वस्तुहरूको आयातमा वृद्धि हुन जान्छ । नेपालमा बृहत् मात्रामा रबरको खेती नभइरहेको, ठूलो क्षेत्रफलमा रबरखेती विस्तार गर्न भूमिसमेत उपलब्ध हुन नसक्ने तथा प्लास्टिकको कच्चापदार्थको स्रोत पेट्रोलियम पदार्थ नेपालमा उपलब्ध नै नभएको पक्षलाई समेत दृष्टिगत गर्दा प्लास्टिक तथा रबरको आयातले उपरोक्त दुईओटा समस्यालाई एकैपटक सम्बोधन गरेको छ । यसर्थ प्लास्टिक तथा रबरको औद्योगिक आपूर्तिको आयातले पनि नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान दिएको छ ।
रेशाजन्य क्षेत्र भन्नाले एचएसकोडको शीर्षक ५० देखि शीर्षक ६३ सम्मको वर्गीकरणभित्र पर्ने रेशम, ऊन, सुती, जुटलगायत प्राकृतिक रेशा, सेन्थेटिक रेशा र त्यसबाट बनेका वस्तुहरू पर्छन् । नेपालको सन्दर्भमा यस्ता वस्तुहरूको कुल आयात रू. ८४ अर्बको हाराहारीमा रहे तापनि यसमध्ये ५७ दशमलव १३ प्रतिशतजति आयात औद्योगिक आपूर्ति अर्थात् कच्चा पदार्थका रूपमा रहेको छ । यस वर्गमा रू. ३६ अर्ब बराबरका वस्तुहरू मार्ग प्रशोधित रूपमा सीधै उपयोगका लागि आउने गरेको पाइन्छ । बाँकी रू. ४८ अर्ब बराबरको आयात कच्चापदार्थका रूपमा नै भएको देखिन्छ । यस वर्गबाट भएको यस्तो आयातबाट मुलुकलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादनको अतिरिक्त करीब रू. ४० अर्ब बराबरको निर्यात पनि भएको देखिन्छ । नेपालको आयातमा कृषिजन्य क्षेत्रको स्थिति भने अन्य क्षेत्रको तुलनामा अलि विकराल रहेको छ । कृषिजन्य क्षेत्रको कुल आयातमा करीब रू. ४६ अर्ब (१४ दशमलव शून्य ९ प्रतिशत) मात्र औद्योगिक कच्चापदार्थको रूपमा खपत हुने गरेको छ । शेष रू. २७८ अर्ब बराबरको कृषिजन्य आयात प्रत्यक्ष मानव उपभोगमा खर्च हुने गरेको छ । नेपाल जस्तो कृषिप्रधान मुुुलुकका लागि यो विषय संवेदनशील विषय रहिआएको छ ।
नेपाल सरकारको नीतिगत परिभाषामा सुन, चाँदी र हीरामोती, मणि माणिक्यलगायत बहुमूल्य पथ्थर आदिलाई विलासिता र अनुत्पादन आयातका रूपमा अंकित गरे तापनि यस्तो आयातले पनि मुलुकमा आर्थिक गतिविधिहरू वृद्धि गर्न विशेष योगदान दिएको पाइन्छ । नेपाली समाजमा गरगहनाप्रतिको आकर्षणलाई नेपाली गरगहना व्यवसायीहरूले धानी रहेको अवस्था छ । यस क्षेत्रले पनि सिँगो नेपालमा ठूलो मात्रामा रोजगारी सृजना गरेको छ । नेपालले आयात गर्ने सुन, चाँदी र हीरामोती, मणि माणिक्यलगायत बहुमूल्य पथ्थरमध्ये ९८ मध्ये ५१ प्रतिशत अंश औद्योगिक कच्चापदार्थका रूपमा खपत हुने गर्छ । केवल १ दशमलव ५ प्रतिशत अर्थात् करीब रू. ६० करोड बराबरको सुन, चाँदी र हीरामोती, मणि माणिक्यलगायत बहुमूल्य पथ्थरको आयात मात्र प्रशोधित रूपमा खपतको प्रयोजनका लागि हुने गर्छ ।
उद्योगका लागि अति आवश्यक कच्चापदार्थको स्रोतका रूपमा रहेको रसायनको कुल आयातमा करीब ८२ दशमलव ९२ प्रतिशत आयात औद्योगिक कच्चापदार्थका रूपमा हुने गर्छ । यस्ता वस्तुहरूको कुल आयात रू. ३४ अर्बको हाराहारीमा रहेकोमा प्रशोधित रसायनको आयात रू. ५ अर्बको हाराहारीमा रहेको सन्दर्भमा रसायनको आयातले पनि नेपालको औद्योगिक विकास, मूल्ययोग तथा रोजगारी सृजनामा सकारात्मक योगदान दिएको देखिन्छ । कृषि उत्पादन वृद्धिका लागि अपरिहार्य तŒवका रूपमा रहेको रासायनिक मलको आयात पनि करीब रू. २३ अर्ब रहेको छ । नेपालमा रासायनिक मलको कारखाना नरहेको सन्दर्भमा यस्तो आयातका पनि थुप्रै सकारात्मक आयामहरू रहेका छन् ।
समग्रमा भन्नुपर्दा मुलुकमा कच्चापदार्थ उपलव्ध नभएका वस्तुहरूको आयातले अर्थतन्त्रमा सकारात्मक योगदान दिएको पाइन्छ । यस सम्बन्धमा ध्यान दिने भनेको यस्तो आयातलाई कति तहको मूल्य योगमा उपयोग गरिएको छ भन्ने मात्रै हो । हाम्रो प्राथमिकता त्यसै दिशामा उन्मुख हुुनपर्छ । जस्तो तयारी पोशाक उद्योगका लागि कपडा आयात गर्नुभन्दा धागो आयात गरी कपडा बुनी तयारी पोशाक बनाउनु उत्तम हुन्छ । यो भन्दा उत्तम विकल्प कपास आयातत गरी धागो पनि स्वदेशमै उत्पादन गर्नु, कपडामा स्वदेशमै बुन्नु र तयारी पोशाक पनि स्वदेशमै उत्पादन गर्नु हो । स्वदेशमा औद्योगिक कच्चापदार्थ उत्पादनमा वातावरणीय प्रभाव बढी पर्ने खानीमा आधारित कच्चापदार्थहरू (धातुजन्य, सिमेन्टजन्य, प्रस्तर र मृतिकाजन्य, रसायनजन्य) तथा वनविनाशकारक कच्चापदार्थको आयातका पनि थुप्रै सकारात्मक पक्षहरू छन् । उपरोक्त पक्षलाई दृष्टिगत गर्दै कृषिजन्य कच्चापदार्थ, रबरजन्य कच्चापदार्थ तथा रेशाजन्य कच्चापदार्थ, काष्ठजन्य कच्चापदार्थको आपूर्तिमा स्वदेशी अंशमा वृद्धि गर्नु तथा अन्य कच्चा पदार्थहरूमा प्रारम्भिक चरणका कच्चापदार्थहरू आयातत गरी प्रशोधनका चरणहरूमा वृद्धि गर्नु नेपालको वैदेशिक व्यापार व्यवस्थापनको अंग हुुनुपर्छ ।
व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।