नेपालको आयातको आँकडामा वृद्धि हुँदै जाँदा यस सम्बन्धमा विभिन्न टीकाटिप्पणी हुने गर्छन् । आयातको आँकडालाई सफलता र असफलताको कसीमा पनि नाप्ने गरिन्छ ।
टिप्पणीकारहरू आयातमा वृद्धि हुँदा साथ आकाश नै खसेको शैलीमा प्रस्तुत पनि हुने गरेका छन् । परन्तु आयातको आँकडालाई निरपेक्ष रूपमा केवल अंकमा भएको वृद्धि या ह्रासका रूपमा मात्र लिइनु हुँदैन । यो आँकडालाई विभिन्न कोणहरूबाट हेरिनुपर्छ । आयातका भित्री पाटाहरूलाई व्यष्टि व्यष्टिमा केलाउनुपर्छ । यसरी व्यष्टि व्यष्टिमा आयात तथ्यांकलाई वर्गीकृत गर्दा आयातको प्रकृतिका बारेमा एक प्रकारको चित्र तयार हुन्छ । त्यही चित्रका आधारमा आयातका बारेमा गरिने टिप्पणीहरूले मात्र यथार्थ पक्षलाई उजागर गर्न सकिन्छ ।
यही पक्षलाई दृष्टिगत गर्दै नेपाल राष्ट्र बैंकले हालैका वर्षहरूमा आएर बृहत् आर्थिक वर्गीकरणका आधारमा वस्तुगततर्पmको वैदेशिक व्यापारको विश्लेषण गर्ने प्रयासको थालनी गरेको छ ।
सारमा भन्नुपर्दा आयात कति अंकमा भन्दा पनि कुन प्रयोजनका लागि आयात भयो भन्ने विषयले विश्लेषणमा अधिक महत्त्व राख्छ । औद्योगिक कच्चापदार्थ र क्यापिटल सामग्रीको आयातलाई समग्र अर्थतन्त्रको लागि सकारात्मक रूपमा लिइने गरिन्छ । स्वदेशमा उपलव्ध नहुने अवस्थामा इन्धन र लुब्रिकेन्ट्सको आयातलाई पनि सकारात्मक रूपमा लिने गरिन्छ । यसरी समग्रमा हेर्दा आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल आयातमा औद्योगिक आपूर्तिको अंश ३७ दशमलव ३ प्रतिशत रहेको छ भने क्यापिटल गुड्सको आयातको अंश १४ दशमलव ९ प्रतिशत रहेको छ । यस अवधिमा नेपालको कुल आयातमा इन्धन र लुब्रिकेन्ट्सको अंश पनि १३ दशमलव २ प्रतिशत रहेको देखिन्छ । दैनिक उपभोगका अखाद्य वस्तुको अंश त केवल ८ दशमलव ५ प्रतिशतमा सीमित रहेको छ । नेपालको यस आयातमा खाद्य तथा पेयपदार्थको अंश करीब १८ प्रतिशत रहेको देखिन्छ । यसरी नेपालको कुल आयात औद्योगिक क्रियाकलाप वृद्धि गर्ने आयातको अंश ७३ प्रतिशत रहेको छ । यो तथ्यांकको संयोजनले नेपालको आयात नेपाली अर्थतन्त्रका लागि सकारात्मक योगदान दिने खालको रहेको पुष्टि हुन्छ ।
यसरी हेर्दा २७ प्रतिशत आयात मात्र नेपालको लागि अनुत्पादक आयात रहेको निष्कर्ष निकाल्न सकिन्छ । यो आयातमा पनि करीब १८ प्रतिशत आयात खाद्य तथा पेय पदार्थको रहेको छ । कृषिजन्य क्षेत्रका उत्पादनहरू स्वदेशमा उत्पादन नहुन्जेल यस्तो आयात अपरिहार्य मानिन्छ । वर्तमान आधुनिक युगमा सूचनाप्रविधि तथा फेशनसँग सम्बद्ध दैनिक उपयोगका आयातहरूलाई पनि अपरिहार्य आयात नै मान्ने गरिन्छ । यसरी समग्रमा हेर्दा नेपालको आयातबाट त्यत्ति धेरै चिन्तित भइहाल्नु पर्ने र यो आयात अनुत्पादक नै रहेको निष्कर्ष निकाल्नु गलत हुन जाने देखिन्छ ।
उपर्युक्त वर्गीकरणअनुसार नेपालको तथ्यांकबाट देहायका निष्कर्षहरू निकाल्न सकिन्छ । पहिलो, नेपालको निर्यात नेपाली अर्थतन्त्रलाई थप चलायमान गर्न गरी औद्योगिक उत्पादन वृद्धि उन्मुख रहेको पुष्टि हुन्छ । दोस्रो, कुन कुन क्षेत्रमा आयात प्रतिस्थापित गर्न सकिन्छ भन्ने स्पष्ट खाका पनि प्रस्तुत गरेको छ । यस चित्रणले उजागर गरेका आयात प्रतिस्थापनका क्षेत्रहरूमा खाद्य तथा पेयपदार्थ, दैनिक उपभोगका सामानहरू तथा इन्धनमा आदि रहेको देखिन्छ । कृषिजन्य उत्पादनको कुल आयातमा कृषिजन्य औद्योगिक आपूर्तिको हिस्सा १४ प्रतिशत रहेको तथा नेपालको कुल आयातमा कृषिजन्य औद्योगिक आपूर्तिको अंश २ प्रतिशत रहेको देखिन्छ ।
उपर्युक्त वर्गीकृत आँकडाले कृषिजन्य वस्तुहरू (प्रत्यक्ष उपभोग तथा औद्योगिक आपूर्ति) को आयात प्रतिस्थापनको सम्भावनालाई उजागर गरेको छ । उपयुक्त भूमिनीति, कृषि विकास नीति र उपभोग नीति अंगीकार गर्ने हो केही वर्षभित्र नेपालको कुल निर्यातमा करीब १८ प्रतिशत अंश रहेको खाद्य तथा पेयपदार्थको आयातलाई न्यून गर्न सकिन्छ । यसबाट हरेक वर्ष कम्तीमा पनि रू. २७८ अर्ब जतिको आयात प्रतिस्थापन गर्न सकिन्छ । यस्तै इन्धनमा पनि आयात प्रतिस्थापनको नीति लागू गर्न सकिने सम्भावना रहेको छ । उपयुक्त यातायात नीति र इन्धन खपत नीति लागू गर्ने हो भनी कम्तीमा पनि १० प्रतिशत जति इन्धनको आयात प्रतिस्थापन गर्न सकिने अवस्था छ ।
दैनिक उपभोगका वस्तुहरूको कुल आयात रू. १३१ अर्बको हाराहारीमा रहेको सन्दर्भमा यी वस्तुहरूको बुद्धिमत्तायुक्त उपभोग, अनावश्यक उपभोग नियन्त्रण, स्वदेशमा ती वस्तुहरू एसेम्बिलिङ उद्योगहरूको स्थापनाका माध्यमबाट दैनिक उपभोगका वस्तुहरूको आयात पनि धेरै हदसम्म न्यून गर्ने सकिने देखिन्छ । विशेषगरी स्वास्थ्यमा प्रतिकूल असर गर्ने वस्तुहरूको आयातमा नियन्त्रणका प्रावधानहरू कडाइका साथ लागु गर्ने हो वर्तमान अवस्थामा अनावश्यक आयातमा धेरै कमी ल्याउन सक्ने सम्भावना देखिन्छ ।
यसरी समग्रमा हेर्दा नेपालको आयात व्यापारलाई धेरै नकारात्मक रूपमा चित्रण गरिरहनु आवश्यक छैन । आयातले नेपालको अर्थतन्त्रको जग बसाल्दै स्वदेशमा रोजगारी सृजना गर्न भूमिका खेलिरहेको पक्षलाई यहाँ बिर्सनु हुँदैन । स्वदेशमा औद्योगिक कच्चापदार्थ उपलब्ध नहुनु, उपलब्ध भए तापनि ती कच्चापदार्थ उत्खनन र प्रशोधन व्यावसायिक रूपमा लाभप्रद नहुनुुजस्ता कारणले औद्योगिक आपूर्तिको आयातको अंश अधिक हुनु नेपालका लागि शुभसंकेत नै हो । नेपाल जस्तो विज्ञान र प्रविधिको आधार नभएको र मेशिनरीलगायत पूँजी निर्माणका अन्य साधनहरू स्वदेशमा निर्माण हुने वातावरण नरहेको सन्दर्भमा मेशिनरीहरूको आयातको कुल आयातको अंशमा करीब १५ प्रतिशत रहनु नेपालको अर्थतन्त्रका लागि अर्को शुभसंकेत हो । यस्तो आयातले पनि स्वदेशी अर्थतन्त्रलाई थप चलायमान बनाउन उल्लेख्य भूमिका खेलिरहेको हुन्छ । यातायातका साधनको आयात नेपालको कुल आयातको करीब ८ प्रतिशतको हाराहारीमा रहेको छ । यो आयातमा हवाईजहाज र त्यसका पार्टपुर्जाहरूको आयातमा प्रतिस्थापनको गुञ्जायस नै छैन । यातायातका साधनका बाँकी आयातमा हाललाई साइकल, मोटरसाइकल तथा बस र लरी आदिका बडीहरू बनाउने तथा टायर ट्युब, नटबोल्ट आदिमा आयात प्रतिस्थापनको नीति लिन सकिन्छ । यसबाहेक यातायातका साधनहरूले पनि अर्थतन्त्रलाई थप गतिशील बनाउन विशेष भूमिका खेलिरहेका हुन्छन् । यस पक्षलाई पनि यहाँ अनदेखा गरिनु हुँदैन । सारमा भन्नुपर्दा आर्थिक वर्ष २०७७/७८ को आयातले नेपालको अर्थतन्त्रको विकासमा सकारात्मक योगदान दिइरहेको छ । आयातमा उपर्युक्त प्रकारको संयोजन मुलुकको औद्योगिकीकरणका लागि लाभप्रद नै मानिन्छ । त्यसैले आयात वृद्धि भयो भन्दैमा आकाशै खसे सरी चिन्तित हुनु आवश्यक छैन । प्रयोजन उचित भएको खण्डमा त्यस्तो आयात वृद्धिलाई सकारात्मक नै मान्नुपर्छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।