हात्ती जमिनमा बस्ने स्तनधारी जीवमध्ये सबैभन्दा विशाल जनावर हो । हात्तीहरूमा अफ्रिकाली हात्ती सबैभन्दा ठूलो हुन्छ । अफ्रिका र एसियामा मात्रै हात्ती पाइन्छ । एसियाली हात्ती र अफ्रिकाली हात्ती गरी यसका प्रमुख दुई प्रजाति छन् । अफ्रिकाली हात्तीको सभाना र जङ्गली गरी दुई उपप्रजाति छन् । त्यस्तै एसियाली हात्तीको श्रीलङ्काली, भारतीय र इन्डोनेसियाली गरी तीन उपप्रजाति छन् । एसियाली हात्तीको वैज्ञानिक नाम ‘इलिफस म्याक्सिमस’ हो । यो पानीको स्रोत नजिकै बस्न रुचाउँछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार एसियाली हात्ती विश्वका १४ देशमा पाइन्छ । नेपालको तराई भेगमा पाइने हात्ती एसियाली हात्ती हो । नेपालका करिब २२ जिल्लामा हात्ती पाइन्छ । विशेषगरी बर्दिया, चितवन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा हात्ती पाइन्छन् । नेपालमा करिब २५५ देखि २६५ वटा जङ्गली र १५० वटा घरपालुवा हात्ती रहेका छन् । त्यस्तै हाल विश्वमा चार लाख ५० हजारदेखि सात लाख अफ्रिकाली हात्ती र करिब चालिस हजारदेखि पचास हजार वयस्क एसियाली हात्ती रहेको अनुमान गरिएको छ ।
हात्ती बुद्धिमान जीव हो । हात्तीको सबैभन्दा संवेदनशील अङ्ग यसको सँुड हो । जुन करिब एक लाख पचास हजार मांसपेशी एकाइले बनेको हुन्छ । यसको सहायताले यसले विभिन्न काम गर्न सक्छ । यसले आफ्नो सँुड विभिन्न वस्तु उचाल्न, चेतावनी दिन, अभिवादन गर्न, पानी पिउन र नुहाउन प्रयोग गर्छ । एसियाली भाले हात्तीको मात्रै दाह्रा हुन्छ, पोथीको हँुदैन वा भए पनि साह्रै सानो हुन्छ तर अफ्रिकाली हात्तीको सन्दर्भमा भन्नुपर्दा भाले र पोथी दुवैको दाह्रा हुन्छ । सँुडले जस्तै हात्तीले आफ्नो दाह्राको सहायताले थुप्रै कार्य गर्छ । यसले आफ्नो दाह्रा सँुडको रक्षा गर्न, विभिन्न वस्तु सार्न, खानेकुरा जम्मा गर्न, रूखको बोक्रा निकाल्न र आफ्नो रक्षा गर्न उपयोग गर्छ । यसका साथै खडेरीको समयमा पानी प्राप्त गर्नका लागि जमिनमा प्वाल बनाउन पनि दाह्राको प्रयोग गर्छ ।
वयस्क भाले हात्ती एक्लै बस्छ भने पोथी समूहमा बस्छ । समूहको नाइके सबैभन्दा बूढी हात्ती हुन्छे । हात्ती १८ वर्षमा वयस्क हुन्छ । यसको आयु ६० देखि ७० वर्ष हुन्छ । यो ४० देखि ४३ कि.मी. प्रतिघण्टाको दरले दौडन सक्छ । एसियाली हात्ती औसतमा नौ फिट अग्लो हुन्छ । विश्व वन्यजन्तु कोषका अनुसार हात्ती १८ देखि २४ फिट लामो र चारदेखि छ टन तौलसम्मको हुन्छ ।