काठमाडौं । चैत २ अर्थात् भोलिदेखि देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ । मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि रहेको प्रतियोगितामा नेपालभरका वडाहरुबाट पुरुषमा २६ टिम सहित ४ सय ३३ र महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन् ।
प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला र पुरष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुन छ । वर्तमान वरियताका शीर्ष १६ मा रहेका नेपाली टेबल टेनिस खेलाडी भने सहभागी हुने छैनन् ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ छ ।
पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउने छन्। दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २५ सय नगद पुरुस्कार पाउने छन् ।
पदकतालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले नगद पचास हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन् । चैत ७ गने सम्म आयोजना हुने प्रतियोगिता काठमाडौंको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।