काठमाडौं (अस) । नेपाली बजारमा सेडानमध्ये टाटाको टिगोर गाडी बिक्री हुँदै आएको छ । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपंक्तिमा रहेको टाटा टिगोर नेपालमा सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको थियो ।
आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ ।
झन्डै तीन महिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार तोकिएको छ ।
नेपाली बजारमा पनि टिगोर ईभीलाई छिट्टै भित्र्याइने भएको छ । नेपाली बजारमा टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी बिक्री हुनेछन् ।
नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ ।
टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ ।
टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो गाडी २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराइए यसको माथिल्लो भाग (रुफ) कालो रंगको हुनेछ । यसको अगाडि भागमा पूरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ । गाडीको पछाडि हेर्ने रिअर भ्यू ऐना पनि फोल्डेबल हुनेछन् ।
गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायत विशेषता रहेका छन् ।
टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डरजस्ता विशेषता छन् ।
टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा टिगोर ईभीको मूल्य तोकिए पनि नेपालमा हालसम्म मूल्य सार्वजनिक गरिएको छैन । नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।