काठमाडौं। कलेज अफ एप्लाइड बिजनेसले समाजको सुरक्षाका लागि भन्दै गंगाहिटी प्रहरी प्रभागलाई सिसिटिभी क्यामेरा प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–७ गंगाहिटीमा रहेको उक्त कलेजले बिहीवार गंगाहिटी प्रहरी प्रभागलाई ५ थान सिसिटिभी क्यामेरा र एक थान एनभिआर प्रदान गरेको हो ।
कलेजका प्राचार्य रमेश पाण्डेले सामाजिक उत्तरदायित्व वहन गर्दै सिसिटिभी सहयोग गरिएको बताए । कलेज तथा प्रहरी प्रभाग वरपर सुरक्षा जोखिम रहेको भन्दै उनले उक्त सहयोगले सुरक्षा संयन्त्रमा टेवा पुग्ने अपेक्षा गरे ।
सिसिटिभी प्रदान तथा जडान प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गतको अंश रहेको प्रहरी निरीक्षक रमेश शर्माले बताए । समाजमा हुने अपराध नियन्त्रणमा सिसिटिभी अनिवार्य भइसकेको भन्दै उनले उक्त कलेजको सहयोग महत्त्वपूर्ण रहेको बताए । सिसिटिभी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले प्रहरीले सदैव सेवक भई काम गर्नुपर्ने बताए । सिसिटिभी जडानपछि सो क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न ठूलो सहयोग पुग्ने उनको विश्वास छ ।