उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । सो बीउले यहाँका करिब आठ हजार ५०० रोपनी क्षेत्रफलमा पुग्ने उनले बताए ।