वैशाख १०, काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ८ ले स्थानीय महिलालाई साडी बाँड्ने सूचना जारी गरी पुनः खण्डन सूचना जारी गरेको छ ।
शुक्रवार एक सूचना जारी गर्दै स्थानीय महिलालाई शनिवार (आज) दिनको २ बजे साडी बाँड्ने सूचना जारी गरेकोमा चौतर्फी आलोचनापछि वडाले अर्को सूचना जारी गर्न बाध्य भएको हो ।
पहिलो सूचनामा महिलाहरूले साडीको माग गर्दै वडामा निवेदन दिएकाले शनिवार साडी बाँड्ने बताइएको थियो । तर, अध्यक्षको हस्ताक्षर भएकै सूचनालाई भ्रमात्मक सूचना भनि पुनः अर्को सूचना जारी गरिएको थियो ।
उक्त वडाका अध्यक्ष सन्तोष खडका हुन् । उनले महिलाहरूलाई आफ्नो पक्षमा पार्न स्थानीय तह निर्वाचन, २०७९ को मर्यादा विपरित सूचना प्रकाशन गरी प्रलोभनमा पार्ने प्रयास गरेका थिए । सामाजिक सञ्जालमा आलोचना बढ्दै गएपछि उनले अर्को सूचना जारी गरेका हुन् ।