काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा शेयर व्यवस्थापनको सम्पूर्ण काम गर्ने जिम्मेवारी समेत दिईएको हो ।
कम्पनीले सर्वसाधारणमा विक्री गरेको आईपीओ बुधवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।
कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नु अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै क्यापिटलले कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि आवश्य प्रक्रिया पुरा गर्नुका साथै आगामी दिनमा सम्पूर्ण शेयर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ ।