धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले आज (शनिबार) देखि एक महिने संगठन र संघर्ष अभियानको सुरुवात गरेको छ । फूलबारीमा आयोजित एक कार्यक्रमबीच राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले जिल्ला अध्यक्ष दयाराम सञ्ज्याललाई पार्टीको झण्डा हस्तान्तरण गरी अभियानको उद्घाटन गर्नुभएको हो ।
त्यस क्रममा नेकपा र नेपाली कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुलाई नेता भट्टले पार्टीको सदस्यता र अबिर प्रदान गरी स्वागत गर्नुभयो ।
अभियानसँगै संसद विघटनको विरुद्धमा फूलबारीको पच्चीस घरमा मसाल जुलुस प्रदर्शन गरिएको छ । जुलुसमा राजमो केन्द्रीय सदस्य मनोज भट्टसँगै केन्द्रीय सदस्य एवम् प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो प्रदेश सदस्य लक्षिराम आचार्यलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
गत पुस २५ गते केलालीमा सम्पन्न राष्ट्रिय जनमोर्चा र सम्बद्ध जनवर्गीय संगठनहरुको संयुक्त भेलाले प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता र गणतन्त्र रक्षाका लागि माघ महिनाभरी संघर्षका कार्यक्रम तय गरेको थियो ।
घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानीय तहमा दैनिक विरोध सभाको आयोजना गरिनेछ भने माघ १६ गते अत्तरियामा विशाल जनसभाको आयोजना गरिनेछ । भेलाले माघ १७ देखि फागुन १ गतेसम्म संगठन निर्माणको योजना बनाएको थियो ।
राजमोले कार्यक्रमका दौरानमा दैनिक मसाल जुलुशको आयोजना गर्ने राजमो कैलालीले जनाएको छ ।
यो पनिः कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम