चितवन। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा साइकल यात्रा गरिने भएको छ । विशेषगरी चितवनको ग्रामीण पर्यटन तथा पर्यापर्यटनको प्रवर्द्धनका लागि साइकल यात्रा गरिने भएको हो । भरतपुर महानगरपालिका– ६ स्थित बाटुली पोखरीबाट निकुञ्जको काख हुँदै जगतपुरसम्म ‘राइनो टु राप्ती राइड–२०८०’ गर्न लागिएको हो । दक्षिणकाली पर्यटन सहकारी संस्था र चितवन साइकल राइडर्सको संयुक्त आयोजनामा घटस्थापनाको अवसर पारेर आइतवार ३० किमी साइकल यात्रा हुने बताइएको छ ।
भरतपुर भ्रमण वर्ष आगमनको जानकारी दिन र विशेषगरी यस वर्ष ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न साइकल र्यालीको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । जंगल सफारीसहितको साइकल र्यालीले यस क्षेत्रको जैविक विविधता, पर्यापर्यटनका साथै पर्यटन प्रवर्द्धन र वन्यजन्तुको संरक्षणमा समेत सचेतना अभिवृद्धि हुने उनको भनाइ छ । र्यालीमा संरक्षणकर्मी, अभियन्ता, पर्यटनकर्मी, साइकलप्रेमी, जनप्रतिनिधि गरी १५० जनाले साइकल यात्रा गर्ने बताइएको छ ।