काठमाडौं । आरविवि म्युचुअल फण्ड (RBB Mutual Fund)अन्तर्गत सञ्चालन हुने आरविवि म्युचुअल फण्ड १ (RBB Mutual Fund 1) ले वैशाख महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस योजना रू. १ करोड ८६ लाखभन्दा बढी नोक्सानी (Loss)मा रहेको छ । चैत मसान्तसम्म रू. १ करोड ३८ लाखभन्दा बढी नाफामा रहेको योजना वैशाखमा भने नोक्सानीमा गएको हो ।
वैशाख महिनामा योजनाको आम्दानी ऋणात्मक हुँदा नाफा (Profit) मा असर परेको हो । चैत मसान्तसम्म रू. २ करोड ८९ लाखभन्दा बढी आम्दानी गरेको योजनाको वैशाख मसान्तसम्म भने आम्दानी रू. १९ लाख ४२ हजारभन्दा बढी ऋणात्मक छ । खर्च रकम पनि वैशाखमा बढेको छ । चैतमा रू. १ करोड ५१ लाखभन्दा बढी खर्च गरेको कम्पनीले वैशाखमा रू. १ करोड ६७ लाखभन्दा बढी खर्च गरेको हो ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७८ साल साउन ७ गतेदेखि सञ्चालनमा रहेको छ । १२ करोड ५० लाख इकाई जारी गरेको योजनाको प्रति इकाई खुद मूल्य चैत मसान्तसम्म रू. ९ दशमलव शून्य ८ रहेकोमा वैशाख मसान्तसम्म रू. ८ दशमलव ८२ कायम भएको हो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएको शेयर र डिबेञ्चरमा भएको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशनसहित रू. ९५ करोड ८३ लाख ५४ हजार रहेको छ ।
योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य परल मूल्यभन्दा कम छ । बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य रू. ७१ करोड ३४ लाखभन्दा बढी मात्र छ ।