वैदेशिक लगानीको रटान र यथार्थ

सरकारले हालै तयार गरेर लागू गरेको त्रिवर्षीय मध्यकालीन खर्च संरचनामा उद्योगको क्षेत्रमा महत्त्वाकांक्षी अपेक्षा राखेको छ । आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्ममा ९० हजार कम्पनी स्थापना हुने र तीमध्ये ३३० ओटा ठूला उद्योग हुने अपेक्षा सरकारको छ । तर, यसरी अपेक्षा गरिरहँदा यसअघिका लक्ष्य पूरा किन भएनन् र अब ती लक्ष्य पूरा हुने आधार के हुन् भन्नेमा सरकार स्पष्ट देखिँदैन । सरकारको काम कागजमा योजना बनाउने र कुनै सामान्य उपलब्धि प्राप्त भइहालेछ भने त्यसको जस लिन होडबाजी गर्ने मात्रै रहेको देखिन्छ । यदि त्यसो होइन भने उसले विगतका कमजोरीलाई सच्याएर तथा अन्य देशले लिएका नीतिबाट सिकेर त्यस्तो योजना बनाउन किन खोजिरहेको छैन ? सकिरहेको छैन त ?  सरकारले आगामी ३ वर्षमा ९० हजार कम्पनी र तीमध्ये ३३० चाहिँ ठूला कम्पनी हुने अपेक्षा गरिरहँदा विगतको प्रगति हेर्दा ३ सय नयाँ उद्योगमात्रै दर्ता भएका छन् । ती उद्योगले ६ लाख ७० हजार थप रोजगारी सृजना हुने अपेक्षा गरेको छ जब कि विगतको सफलता भने १६ हजार ९ सय रोजगारी सृजनामा सीमित रहेको देखिन्छ । तीन वर्षमा ४५ ओटा औद्योगिक क्षेत्र, ४५० औद्योगिक ग्राम स्थापना र १० ओटा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएको छ । सरकारले दशकौँ लगाएर पनि विशेष आर्थिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकेको छैन, दशकअघि नै घोषणा भएका औद्योगिक क्षेत्र निर्माण हुन सकेका छैनन् । घोषणा भएकै कामको थालनीसमेत भएको छैन । त्यसैले सरकारको यस्तो योजनाको कुनै काम देखिँदैन । बजेट भाषणमा राखिएका र बजेट विनियोजन गरिएका आयोजनामा समेत काम नहुँदा किन भएन भनेर समेत चासो नदिने सरकारले यस्तो घोषणा गर्नुको औचित्य देखिँदैन । वास्तवमा सरकारी कर्मचारीले काम गरेको देखाउन मात्रै यस्ता योजना ल्याउँछन् भन्दा पनि फरक पर्दैन ।  लगानीकर्ताले खोज्ने लगानी वातावरणदेखि लगानी फिर्तासम्मका विषयमा सबै देश यति धेरै उदार र लचक बनिरहेका छन् कि नेपालले तिनलाई पछ्याउनै सक्दैन । उद्योगमा २० प्रतिशत वैदेशिक लगानी बढाउने लक्ष्य सरकारको छ । यो ठूलो लक्ष्य होइन । तर, यो लक्ष्य भेट्न पनि सम्भव देखिँदैन । नेपालमा लगानीको सम्भावना नभएर होइन, लगानीका लागि सोच बनाएका व्यक्तिलाई विश्वासमा लिन र उनीहरूलाई व्यवसाय गर्ने वातावरण बनाउन सरकार समर्थ नहुने भएर यो सम्भावना नदेखिएको हो । भारत जस्तो ठूलो बजार भएको र उदीयमान अर्थतन्त्र भएको विश्वको पाँचौं ठूलो अर्थतन्त्रले त अपेक्षित मात्रामा विदेशी लगानी ल्याउन सकेको छैन भने नेपालले ठूलो विदेशी लगानीको अपेक्षा कसरी पूरा गर्न सक्छ ? यसको अर्थ नेपालले सक्दैन भन्ने होइन । साँच्चिकै काम गर्ने मनसायले यस्तो लक्ष्य लिइएको हो भने सोहीअनुसार कार्यान्वयन गर्न सक्नुपर्छ । सामान्यस्तरका काम गर्न त नसकिरहेको सरकारी संयन्त्रले यस्तो विशिष्टीकृत काम लक्ष्य लिँदैमा पूरा होला भनेर पत्याउने अवस्था छैन । मुलुकको प्रशासन विश्वमै उच्च भ्रष्टाचारी भनेर चिनिएको छ । कर्मचारीतन्त्रका अनेक बहानाबाजी र कागजी प्रक्रियाले गर्दा स्वदेशी लगानीकर्ता आत्तिएका छन् । सर्वसाधारण नेपाली नै पनि सरकारको कार्यशैलीप्रति आजित भएर विदेश पलायनको बाटोमा लागिरहेका छन् भने त्यहाँ अन्य देशका लगानीकर्ताले कसरी र किन लगानी ल्याउलान् ? अझ, चाहे स्वदेशी होस् चाहे विदेशी लगानीकर्ता, तिनले कमाएको नाफालाई ‘लुट’ सम्झने आमप्रवृत्ति नै छ भन्दा हुन्छ । व्यवसाय के हो, तिनले कसरी मुनाफा आर्जन गर्छन्, त्यसबाट मुलुकले के फाइदा पाउँछ भन्नेमा नै कर्मचारीतन्त्रदेखि राजनीतिक नेतृत्वसम्मले राम्ररी बुझ्न नसकेको अनुभव हुन्छ । त्यसैले व्यावसायिकताको सृजना गर्न सरकार चुकिरहेको हो भन्न सकिन्छ ।  सबै मुलुक विदेशी लगानी आओस् भन्ने चाहन्छन् । त्यसका लागि उनीहरूले जग्गा उपलब्ध गराउनेदेखि करछूटलगायत थुप्रै सुविधा दिइरहेका छन् । लगानीकर्ताले खोज्ने लगानी वातावरणदेखि लगानी फिर्तासम्मका विषयमा सबै देश यति धेरै उदार र लचक बनिरहेका छन् कि नेपालले तिनलाई पछ्याउनै सक्दैन । एउटा कानून संशोधनका लागि वर्षाैं लाग्ने मुलुकमा विश्वको तीव्र गतिलाई पछ्याउने सामथ्र्य छैन भन्दा हुन्छ । त्यसैले लगानी ल्याउन नेपालले गर्नुपर्ने थुप्रै काम छन् । ऐनकानूनदेखि लगानीकर्ताप्रति सकारात्मक सोच राख्नुपर्ने सम्मका विषयमा परिवर्तन नआई लगानी ल्याउन त्यति सहज देखिँदैन । यसका लागि सर्वप्रथम अहिलेको कार्यशैलीमा सुधार गर्नुपर्छ, जुन कुरा हरेक लगानीकर्ताले महसूस गर्नुपर्छ । 

सम्बन्धित सामग्री

आयात व्यापारले संकेत गरेका संकटहरू

आयात वृद्धि या ह्रासले मात्र मुलुकको समग्र अर्थतन्त्रको यथार्थ चित्रण हुन सक्दैन । तसर्थ आयात वृद्धिलाई समष्टिबाट होइन, व्यष्टिबाट हेर्नुपर्छ र ती व्यष्टिगत दृष्टिकोणहरूलाई पनि विभिन्न वर्गीकरणका तथ्यांकहरूबाट जाँच गरिनुपर्छ ताकि आयातमा आएको परिवर्तनले मुलुकको समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भन्ने पक्षको यथार्थ चित्रण प्रस्तुत हुन सकोस् । सारमा भन्नुपर्दा सबै आयातहरू खराब हुँदैनन्, देशभित्र उत्पादनको सम्भावना भएका वस्तुको आयात हुन्छ भने मात्र संवेदनशील आयातका रूपमा लिइन्छ । कुनै वस्तु स्वदेशमा उत्पादन गर्दा त्यस्ता वस्तुले देशको पर्यावरणलाई हानि गर्छन् भने ती वस्तु स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । विशेष गरी खनिज उत्खनन एवम् प्रशोधनमा अधिक रसायनको प्रयोग हुने वस्तुहरू स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । यस्तै सबै निर्यात पनि राम्रा मानिँदैनन् । स्वदेशको पर्यावरणलाई असर गर्ने खालका खनिज उत्खनन र प्राकृतिक स्रोतको निर्यातलाई यस वर्गमा लिने गरिन्छ । यस्तै अन्तिम प्रयोगकर्ताको आधारमा पनि मालवस्तु आयात र निर्यातको वर्गीकरण गरिन्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात गरी तीनओटा वर्गीकरणका आयातको प्रयोजन निर्धारण गर्ने गरिन्छ । मुलुकको कुल आयातमा माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश अधिक हुनुले मुलुकको अर्थतन्त्र स्वस्थतातर्फ उन्मुख हुँदै गएको पुष्टि गर्छ भने कुल आयातमा माध्यमिक र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश कम हुनु र पूर्ण तयारी मालवस्तुको आयातमा वृद्धि हुनुले देशको अर्थतन्त्रमा आन्तरिक क्रियाकलापमा न्यूनता रहेको पुष्टि गर्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात यी तीनओटै क्षेत्रमा ह्रास आउँदा मुलुकमा आर्थिक अनिष्टको संकेत गर्छ । माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको कमीले मुलुकभित्र उत्पादनका क्रियाकलापमा सुस्ती आएको पुष्टि हुन्छ भने पूर्ण तयारी मालवस्तु आयातको कमीले मुलुकभित्र वस्तुको मागमा कमी रहेको पुष्टि गर्छ । यसरी उत्पादन क्रियाकलाप र मागको कमी हुँदा त्यसले अर्थतन्त्र मन्दीतर्फ जान लागेको संकेत गर्छ ।  बृहत् आर्थिक वर्गीकरणअनुसार चालु आर्थिक वर्षको प्रथम १० महीनामा माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र तयारी मालवस्तुको आयात तीनओटै वर्गमा ह्रासको अवस्था छ । आर्थिक वर्ष (आव) २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा माध्यमिक उपभोगको आयातमा २६ दशमलव ४ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १६ दशमलव १ प्रतिशतले ह्रास आएको छ । औद्योगिक कच्चापदार्थका रूपमा परिचित यस माध्यमिक उपभोगको आयातको कमीले नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत गर्छ । यस्तै अवस्था पूँजी निर्माणमा सहयोग गर्ने आयातमा पनि रहेको छ । आव २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा पूँजी निर्माणमा सहयोग गर्ने आयातमा १५ दशमलव शून्य प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ३२ दशमलव ८ प्रतिशतले ह्रास आएको छ । औद्योगिक मेशिनरीको बाहुल्य रहेको यस वर्गीकरणअन्तर्गत भएको आयातको कमीले समेत नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत र भविष्यमा यो सुस्ती अझ बढ्ने संकेत गर्छ ।  आव २०७७/७८ को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा तयारी मालवस्तुको आयातमा ३४ दशमलव ७ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १३ दशमलव २ प्रतिशतले ह्रास आएको छ । विप्रेषणमा दोहोरो अंकको वृद्धि हुनु र नेपालको आयातको प्रमुख कारकतत्त्व विप्रेषण नै हुुनुका साथै तयारी मालवस्तुको आयातमा समेत ह्रास आउनुले आमजनमानसको खरीददारीमा रुचि नरहेको र यसप्रकारको त्रासको वातावरण रहेको पुष्टि गर्छ । यस्तो अवस्था सृजना हुनु भनेको अर्थशास्त्रको शास्त्रीय दुश्चक्रको निर्माण हुन लागेको संकेत हो । माग कम हुने, माग कम हुँदा उत्पादनका क्रियाकलापमा ह्रास आउने, उत्पादनका क्रियाकलापमा ह्रास आउँदा साथ थप बेरोजगारी बढ्ने र बेरोजगारी बढ्नासाथ मागमा थप कमी आई जुन दुश्चक्र शुरू हुन्छ त्यो दुश्चक्रको उत्पत्तिको चरणमा मुलुक रहेको हो भन्ने पूर्वसन्देश आयातको यस आँकडाले प्रवाह गरिरहेको छ ।  मुलुकमा आर्थिक दुश्चक्र निर्माण हुने चरणमा रहेको सन्दर्भमा यस दुश्चक्रको विस्तार हुनबाट रोकी भयावह प्रभावलाई समयमा नै निस्तेज गर्न न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै सजगताका साथ सक्रिय हुन आवश्यक देखिएको छ । यसका लागि मुलुक आर्थिक दुश्चक्रमा जाँदैन भनेभैंm गरी जनमानसका आत्मबल जगाउनु आवश्यक छ । जनमानसमा आत्मबल जगाउने पहिलो कार्यमा बजेटमा पूँजीगत शीर्षकको खर्चको अंश अधिक र चालू शीर्षकको अंश न्यून हुने विषयमा सरकारको तथ्यांकयुक्त दीर्घकालीन प्रत्याभूति हो । दोस्रो, लगानीको वातावरण सृजना नै हो । लगानीको वातावरण भन्नासाथ प्रक्रियागत सरलता, सुनिश्चित प्रतिफल, न्यून बोझ तथा लगानीको सुरक्षा यी चारओटा तत्त्व मुख्य रूपमा आकर्षित हुन्छन् । प्रक्रियागत सरलताका लागि संरचनागत सुधार, सुनिश्चित प्रतिफलका लागि स्वदेशी उद्योगलाई आयातबाट पर्न जाने चापबाट सुरक्षाकवच प्रदान, न्यून बोझका लागि करका दरहरूमा व्यापक कटौती तथा श्रम कानूनमा उदारता जस्ता विषय स्वत: आकर्षित हुन्छन् । आवेशयुक्त लगानी तथा अज्ञानयुक्त लगानीलाई हरेक देशले निरुत्साहित गरिरहेका हुन्छन् । वर्तमान समयमा देखापरेको आर्थिक संकटका पछाडि अन्यत्र जस्तै नेपालमा पनि घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटा क्षेत्रमा भएको आवेशयुक्त तथा अज्ञानयुक्त लगानीलाई मान्न सकिन्छ । शुरूमै यस्ता क्रियाकलापमा नियन्त्रण गर्न सकेको खण्डमा यी तीनओटै क्षेत्रमा यस स्तरको त्रासको सामना गर्नुपर्ने अवस्था आउने थिएन । तसर्थ घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटै पक्षमा हुने आवेशयुक्त र अज्ञानयुक्त लगानी कम गर्न कानूनी प्रावधानका अतिरिक्त चेतनामूलक शिक्षा प्रवाह पनि उत्तिकै जरुरी छ ।   यसरी उपर्युक्त बमोजिम अर्थतन्त्र चलायमान गराउन एकातिर विश्वासको वातावरण सृजना गर्न आवश्यक छ भने अर्कोतिर उत्पादनसम्बन्धी क्रियाकलापहरूमा वृद्धि गर्न उत्प्रेरणात्मक अवधारणामा निजीक्षेत्रलाई सरकार स्वयम्ले लगानीका क्षेत्रहरू, लाभको अवस्था तथा सुरक्षाको प्रत्याभूतिसहित साना, मझौला र ठूला सबै खालका प्रोजेक्टहरू विकास गरी लगानीका क्षेत्र पहिचान गर्नु आवश्यक देखिन्छ । दुश्चक्र आउने पूर्वसंकेत नेपालको आयात तथ्यांकको प्रयोजनयुक्त वर्गीकरणले स्पष्ट गरिसकेको अवस्थामा उक्त दुश्चक्र भयावह हुनपूर्व माथि उल्लिखित विषयमा सबै पक्षको समयमै ध्यान जानु आवश्यक देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

विकासशील देशमा स्तरोन्नतिपछिका चुनौती : कति यथार्थ, कति भ्रम ?

नेपाल अबको ३ वर्षपछि, अर्थात् सन् २०२६ को नोभेम्बरबाट अतिकम विकसितबाट विकासशील देशको सूचीमा समावेश हुने भएसँगै यसबाट हुने फाइदा र सम्भावित जोखिमका बारेमा चासो र चिन्ता सुनिन्छ, जुन स्वाभाविक हो । खासगरी अतिकम विकसित देशका लागि विश्व समुदायले दिएको सहुलियत गुम्ने र त्यसबाट अर्थतन्त्रमा नकारात्मक असर पर्ने हो कि भन्ने आशंका देखिएको छ । विकासशील अर्थतन्त्रको छवि निर्माण हुँदा वैदेशिक लगानी आउने सम्भावना बढी हुन्छ । विदेशी लगानीकर्ताले यो पक्षलाई हेर्छन् । आर्थिक वृद्धिदर बढी भएको देशमा बजार र अवसर बढी हुन्छ । त्यहाँ प्रतिफल बढी हुन्छ । जहाँ लगानीको सुरक्षा र प्रतिफल बढी हुन्छ, विदेशी लगानीकर्ता त्यस्ता देशमा स्वाभाविक रूपमा आकर्षित हुन्छन् । विगत ५० वर्षदेखि यो सूचीमा रहेर नेपालले कति उपलब्धि हात पार्‍यो वा यसबाट कति अवसर उपयोग गर्‍यो भन्ने विषयको विश्लेषण जरुरी हुन्छ । यससँगै स्तरोन्नति भएपछि सहुलियत कटौतीको सामना गर्ने रणनीति के छ ? यो महत्त्वपूर्ण कुरा हो । स्तरोन्नति आफैमा गर्वको विषय त हुँदै हो, त्यसका अवसर र जोखिमहरूलाई सही ढंगबाट व्यवस्थापन गर्नु भने चुनौतीको विषय हो । विश्वव्यापीकरणसँगै आर्थिक क्षेत्रमा उदाएको अवसर र त्यसबाट कमजोर अर्थतन्त्रले भोग्नुपर्ने जोखिमबारे बहस हुन थाल्यो । ठूला अर्थतन्त्रको छायामा कम विकसित देशको अर्थ व्यवस्था झन् समस्यामा पर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर सन् १९७१ मा यो समूह बनाएपछि नेपाल निरन्तर यस समूहमा छ । विश्व बैंकले २०२१ मा नेपाललाई न्यून आयबाट न्यून मध्यम आय भएको मुलुकमा स्तरोन्नति गरेको थियो । त्यसको ६ महीनापछि नै विकासशीलमा स्तरोन्नति गर्न सिफारिश गरेदेखि नै यसको अवसर र चुनौतीका बारेमा बहस शुरू भएको हो । स्तरोन्नतिका लागि हेरिने मुख्य तीन सूचकमध्ये मानव सम्पत्ति र आर्थिक जोखिम सूचकमा करीब १ दशकअघि (सन् २०१५ देखि) नै मापदण्ड पूरा गरिसकेको हो । प्रतिव्यक्ति आय पनि १२ सय २२ अमेरिकी डलर कटाउनुपर्छ । २०७२ को भूकम्प, त्यसै बेलाको नाकाबन्दी र त्यसपछिको कोरोना महामारीजस्ता कारणले यो उद्देश्यमा केही पछि परे पनि आय बढाउने विषय त्यति कठिन नभएको सरकारी दाबी पत्याउने हो भने नेपाल अबको ३ वर्षमा विकासशील देशको सूचीमा उभिनेछ । स्तरोन्नति हुँदा हामीले अन्तरराष्ट्रिय जगत्मा पाउने सम्मानजनक व्यवहार र बा≈य लगानी आकर्षण मुख्य उपलब्धि हुन सक्छ भने यसबाट अहिले व्यापारमा पाइआएको सहुलियत र विकास अनुदानमा केही कटौती हुन सक्छ । यसलाई तथ्यगत रूपमा हेरौं । कम विकसित देशको सूचीमा रहेर बितेको ५ दशकमा कति लाभ लियो ? यो अवसर गुम्दा के फरक पर्छ ? अहिले हामीले निकासी व्यापारमा केही देशमा शून्य भन्सार, परिमाणात्मक बन्देज नलाग्नेजस्ता सहुलियत पाएका छौं । विश्व व्यापार संगठनले व्यापारको अन्तरराष्ट्रिय नियममा पनि केही सहुलियत दिएको छ । जस्तो, निकासीमा अनुदान दिन पाइएको छ । अर्को, हामीले विकासका लिने ऋणमा ऋण तिर्ने समय र ब्याजदरमा सहुलियत पाएका छौं । यसबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले पाउने अध्ययन भ्रमण खर्च र राष्ट्रसंघीय शुल्कमा पाउने सहुलियत पनि हो । तर, यसको अंश खासै छैन । अहिले मुख्य रूपमा निर्यातमा अनुदान र सहुलियत नपाउनेमा बढी चिन्ता देखिन्छ । अतिकम विकसित देशको सूचीका देशलाई व्यापारमा सहुलियत दिने यूरोपका केही देश हुन् । ती देशमा हाम्रो निकासी कुल निर्यातमा १० प्रतिशतको हाराहारीमा हुन्छ । यो व्यापारमा हामीले कति लाभ लिन सकेका छौं ? पश्मिना, कपडा र कार्पेटको निकासीमा हामी पछि परिसक्यौं । दुःखका साथ स्वीकार गर्नुपर्छ, गुणस्तर कायम राख्न नसक्दा यो अवसरबाट हामी चुक्यौं । हामीभन्दा १ वर्षपछि बंगलादेश पनि स्तरोन्नति हुँदै छ । उसले यो अवसरको भरपूर उपयोग गर्‍यो, यतिसम्म कि गार्मेन्ट निकासीमा त भारतलाई नै पछि पारेको छ । हाम्रो कुल निर्यात १ अर्ब डलरभन्दा कम छ भने बंगलादेशले ४० अर्ब डलरको तयारी पोशाक निर्यात गर्छ । एशिया प्यासिफिक क्षेत्रमा बंगलादेशबाहेक अन्य कुनै पनि मुलुकले यो सुविधाको उपयोग गरेको छैन । हाम्रैजस्तो सूचीमा रहेको कम्बोडियाले निर्यात व्यापार १७ अर्ब डलर पुर्‍याएको छ । एक समय नेपाल र कम्बोडियाको निर्यात उस्तै (करीब ८० करोड डलरको हाराहारी) थियो । हामीजस्तै गरीब सूचीमा रहेको इथियोपियाले चीनको जुत्ता र छाला उद्योग आफ्नो देशमा भित्र्यायो । त्यहाँ जनशक्ति पनि सस्तो छ । २५/३० प्रतिशत मूल्य अभिवृद्धि गरेपछि विश्वबजारमा भन्साररहित सुविधा पाउने भएपछि त्यहाँ लगानी गयो । हामीले यस्तो अवसर उपयोग होइन, झन् वातावरण बिगार्ने काम गर्‍यौं । राजनीतिक द्वन्द्व, अस्थिरता, अस्थिर नीति, भ्रष्टाचार, श्रमका क्षेत्रमा अस्वाभाविक संरक्षणवाद र अराजकता, ऊर्जाको अभाव, अस्तव्यस्त ढुवानीजस्ता कारणले आएका लगानीकर्ता पनि फिर्ता गए । अहिले स्वदेशकै लगानीकर्ता नाफा कमाउनुभन्दा पनि घाटा कम गर्न काम गरिरहेको अवस्था छ । यस अवस्थामा अहिले स्तरोन्नतिपछि गुम्ने अवसरको चिन्तामा रहनु भनेको मुरी गएको थाहा छैन, मानोको खोजी भनेजस्तै हो । सरकार र निजीक्षेत्र दुवै रचनात्मक हुन सकेनन् । कुनै देशबाट कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गरेपछि शून्य भन्सारमा निकासी गर्न पाउने सहुलियत हुन्छ । अरू देशले त्यस्तै उत्पादन निकासी गर्दा उच्च दरको भन्सार तिर्ने अवस्था हुँदा नेपालले फाइदा लिन सक्थ्यो । तर, हामीले यो अवसरको उपयोग गर्न सकेका छैनौं । हामी उत्पादकत्व, प्रतिस्पर्धी दक्षताका लागि प्रविधि र शीपमा भन्दा पनि अनुदान पचाउने र करका दरहरूको चलखेलमा मात्रै बढी सीमित भयौं । ५० वर्षमा त अवसरको उपयोग हुन सकेन भने अब अवसर गुम्ने भयो भनेर चिन्ता प्रकट गर्नुको के अर्थ होला र ? बरु, स्तरोन्नति भइसकेपछि के कसरी अघि बढ्ने भन्नेमा सचेत हुनु बुद्धिमानी हुन्छ । हाम्रो कुल निकासीमध्ये ७० प्रतिशत व्यापार त भारतसँग हुन्छ । यो पनि सत्य हो कि, भारतमा हुने निकासी कम विकसित देशको शर्तमा भएको होइन । यो नेपाल–भारत व्यापार सन्धि र साफ्टाअन्तर्गत भइरहेको छ । यस कारण सबैभन्दा ठूलो निकासी गन्तव्यमा यसको असर नै पर्दैन । विश्व व्यापार संगठनको एउटा अध्ययनले यूरोपमा यो सहुलियत हटेको अवस्थामा पनि कुल निर्यातको २ देखि ४ प्रतिशतसम्म मात्रै बजार गुम्न सक्ने भनेको छ । यसकारण यति सानो अवसरका लागि हामी अतिकम विकसित देशको सूचीमै बसेर गरीबको छविमै रहन खोज्नु उचित होइन । स्तरोन्नति भइसकेपछि पनि यूरोपेली संघले सन् २०२९ सम्म सहुलियत दिने भनेकाले त्यसबीचमा अन्य देशको बजार र प्रतिस्पर्धाको आधार निर्माणमा सरकार र निजीक्षेत्रबीच सार्थक र रणनीतिक सहकार्यको खाँचो छ । मुख्यतया विकासमा सहायता दिने विश्व बैंक, एडीबी, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता बहुपक्षीय निकाय र अमेरिकालगायत हुन् । यिनीहरूले अतिकम विकसित देशको प्रावधानलाई मान्दैनन् । आय वर्गलाई नै प्राथमिकतामा राखेका छन् । यसका आधारमा विकास सहायतामा बाहिर चिन्ता गरिएजस्तो समस्या आउने देखिँदैन । बरु, विकासशील अर्थतन्त्रको छवि निर्माण हुँदा वैदेशिक लगानी आउने सम्भावना बढी हुन्छ । विदेशी लगानीकर्ताले यो पक्षलाई हेर्छन् । आर्थिक वृद्धिदर बढी भएको देशमा बजार र अवसर बढी हुन्छ । त्यहाँ प्रतिफल बढी हुन्छ । जहाँ लगानीको सुरक्षा र प्रतिफल बढी हुन्छ, विदेशी लगानीकर्ता त्यस्ता देशमा स्वाभाविक रूपमा आकर्षित हुन्छन् । अतः स्तरोन्नतिपछिका चुनौती समाधानका लागि अहिलेदेखि नै निजीक्षेत्र र सरकार सक्रिय भएर लाग्ने हो भने अवसरको नयाँ ढोका सावित हुनेमा आशंका गरिरहनु पर्दैन ।   ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

क्रस होल्डिङ भएका बीमा कम्पनीलाई फोर्स मर्जरमा लैजाने समितिको चेतावनी

बीमा समितिले जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूसँग अन्तरक्रिया गरेको छ । समितिले 'जीवन बीमासंग सम्बन्धित समस्या र समाधान' विषयमा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूसंग हिजो काठमाडौंमा अन्तरक्रिया गरेको हो  ।अन्तरक्रियामा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाहरूको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम् पारदशी ढङ्गले अघि बढाउन जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले बीमा कम्पनीका सुझावहरूलाई गम्भीरतापूर्वक लिएर नियम निर्देशिका बनाई समग्र वीमा क्षेत्रको सुधारका कार्यलाई अगाडि बढाइएको बताए । वीमा कम्पनीहरूमा सुशासन कायम गर्न, कारोबारलाई दुरूत राख्न र पारदर्शी हुन निर्देशन दिनुहुँदै अध्यक्ष सिलवालले भने, 'बीमा कम्पनीहरूको लगानीमा विविधीकरण छैन, लगानीको वार्षिक योजना छैन, जनशक्तिको विकासको कार्यक्रम छैन, बीमा सचेतना जगाउने विज्ञापनको व्यवस्था छैन, समस्या धेरै भए, यसतर्फ कम्पनीका अध्यक्षको ध्यान जानु पर्यो र अध्यक्षहरूको भूमिका प्रभावकारी हुनु पर्यो।' बीमा कम्पनी व्यक्तिको इच्छानुसार नभई कम्पनीकै रूपमा संचालन हुनुपर्ने, खर्च पारदर्शी हुनुपर्ने र बीमा अभिकर्ताको कामको अनुगमन गर्नुपर्नेतर्फ कम्पनीका अध्यक्षहरूको ध्यानाकर्षण गर्नुहुदै अध्यक्ष सिलवालले कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले कम्पनी कसरी चलाएका छन्, बीमा समितिका निर्देशनहरूको परिपालना भएका छन् कि छैनन्, नया नया बीमालेख ल्याउने र लगानी विविधीकरण गर्नेतर्फ के भएका छन् भन्ने कुराको अनुगमन, रेखदेख र नियन्त्रण गरी कम्पनीमा थिति बसाल्न अध्यक्षहरूलाई निर्देशन दिए। अध्यक्ष सिलवालले बीमा कम्पनीका कुनै समस्या भए बीमा समितिले समाधान गर्ने उल्लेख गर्दै जनताको बीमा रकमको सुरक्षाको ग्यारेन्टी समितिले खोजेको बताए।कार्यक्रममा 'जीवन बीमासंग सम्वन्धित समस्या र समाधान' विषयमा प्रस्तुती दिदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विश्वव्यापी कारोना भाइरसको महामारीका बीचमा पनि नेपालको जीवन वीमा क्षेत्रले केही गति लिएको देखिए पनि धेरै समस्याहरू रहेको बताए । उनले जीवन बीमा कम्पनीहरूको आन्तरिक कार्यविधि गुणस्तरीय नभएको, बीमादकीय मूल्याङ्कन समयमै गराई वित्तीय विवरण समितिमा स्वीकृतिका लागि पेश नगरेको, यथार्थ जोखिमाङ्कन नगरी वीमालेख जारी हुने गरेको, लगानी निर्देशिका बमोजिम लगानी नभएको, पूर्वाधार लगायतका तोकिएका क्षेत्रमा लगानी नभई वैङ्कका मुद्दती निक्षेपमा लगानी केन्द्रित भएको, शेयर लगानी अपारदर्शी रहेको, खरीद प्रक्रिया पारदर्शी एवम् व्यवस्थित नदेखिएको, वीमितलाई छिटो छरितोरूपमा दाबी भुक्तानी नगरेको र वीमकमा सरेण्डर तथा ल्याप्स रेसियो दिनानुदिन बढिरहेको लगायतका समस्याहरू रहेको उल्लेख गरे। कार्यकारी निर्देशक पौडेलले लगानी विविधीकरण गर्न, नयाँ नयाँ बीमालेख ल्याउन, सुशासन कायम गर्न, क्रस होल्डिङ्ग भई लगानी भएकाहरूलाई तुरून्त तोकिएको सीमाभित्र वस्न अन्यथा फोर्स मर्जरमा जानुपर्ने अवस्था आउन सक्नेतर्फ ध्यान दिन, स्व.इच्छाले मर्जरमा जाने वातावरण तयार गर्न, वित्तीय पारदर्शिता कायम गर्न र समयमै साधारण सभा गर्न सुझाव दिदै कम्पनीका समस्याको समाधानका लागि संचालक समितिका अध्यक्षहरू नै अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा सहभागी जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूले बीमा समितिले औल्याएका समस्याहरूको समाधान गर्ने तत्परता व्यक्त गर्दै लगानीको दायरा फराकिलो बनाउन, बीमा सम्बन्धी नीति, नियम र निर्देशिकाको समयानुकूल परिमार्जन गर्न, टिकटको व्यवस्था हटाउन, उधारी बीमा गर्न नपाउने व्यवस्थालाई नवीकरणमा पनि लागु गर्न, बोनस दरमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि हस्तक्षेपकारी नीति ल्याउन, बैङ्कसँगको साझेदारीमा लगानी गर्न पाउने व्यवस्था गर्न, करको दायरामा नपर्ने वर्गलाई पनि बीमामा आकर्षित गर्ने व्यवस्था गर्न, कर छुटको दायरा बढाउनका लागि पहल गरिदिन, बीमा क्षेत्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादनका लागि बीमा समितिको अग्रसरतामा वीमा कलेज जस्ता शैक्षिक प्रतिष्ठान स्थापना गर्न बीमा समितिलाई सुझाव दिएका छन्।

नेपाल धितोपत्र बोर्डद्वारा सार्वजनिक अवधारणाप्रति लगानीकर्ता संघहरुले गरे असहमति

असार २, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलवार ५१ ओटा सूचीकृत कम्पनीहरुको वारेमा सार्वजनिक गरेको अवधारणाप्रति नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।  देशको नियामक निकायले आफैले सञ्चालन स्वीकृति दिएका कम्पनीहरुमा लगानी गर्नु उचित छैन भनेर धारणा दिनै नमिल्ने भन्दै असहमति व्यक्त गरेका हुन् । यी संघहरुले संयुक्त विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डको उक्त कदमको खुलेर विरोध गरेका छन् ।  कुनै पनि कम्पनीको सूचनामा लगानीकर्ताहरूको तत्काल पहुँच पुर्‍याउन मद्दत गर्नु, सकेसम्म साप्ताहिक नभए मासिक रूपमा कम्पनीले गरेका गतिबिधिहरूलाई लगानीकर्ताहरू बीच  पुर्‍याउन श्रव्य दृश्य, इलेक्ट्रोनिक मेडिया, वेबसाइटजस्ता माध्यममार्फत दुरुस्त राख्न लगाउनु,सूचनाहरू अद्यावधिक भए नभएको हेर्नु जसलेगर्दा लगानीकर्ताहरूले कम्पनीको बारेमा सो सूचनामार्फत सहि विश्लेषण गर्दै लगानीको धारणा बनाउन सक्ने वातावरण सृजना गर्ने गराउने काम हुनुपर्नेमा सो कार्यबाट नेपाल धितोपत्र बोर्ड बिचलित भएको उनीहरुले आरोप लगाएका छन् ।  धितोपत्र बोर्डलेनै स्वीकृति दिएका ती कम्पनीहरूमा लगानी गर्ने लगानीकर्ताहरूको लगानीको सुरक्षा गर्ने जिम्मा बोर्डको हो की होईन ? करीब ४१ खर्ब रुपैयाँ पूँजीकरण भएको बजारमा यस्तो कार्य गर्नु अगाडि पूँजीबजारमा पार्ने असरको वारेमा ख्याल गर्नु पर्ने होईन र ? भन्ने प्रश्न पनि ती संघहरुले विज्ञप्ति मार्फत गरेका छन् ।  विज्ञप्तिमा कुनै पनि खेलमा हुने रेफ्रि बराबरको तटस्थ भुमिकामा नियामक निकाय हुनुपर्ने भन्दै  उसले नै कुनै पनि कम्पनीको बारेमा भेदभावपूर्ण अभिव्यक्ति प्रस्तुत गर्ने होइन त्यसमा पनि एनआरआईसी, सीआईटी, एसटसी, एचआईडीसीएल, अपर तामाकोशी जस्ता सरकारको प्रत्यक्ष लगानी भएको संस्थामा सर्वसाधारणले विश्वास गरेर आफ्नो लगानी (भविष्यलाई हेरेर) गर्नु के गलत नै हो त ? यदि त्यस्ता कम्पनीहरू जोखिममा छ भने सुचिकरण बाट नै हटाउने प्रक्रिया किन गरिंदैन ? कम्पनीको विश्लेषण गर्ने आ आफ्ना शैली र तरिका हुन्छन् ,नेपाल धितोपत्र वोर्डको विश्लेषणलाई सबै लगानीकर्ताले अक्षरश : स्विकार्नु पर्छ र ? भन्ने प्रश्न पनि गरिएको छ । लगानीकर्ताहरूले दैनिक भोग्दै आएका वेथितिहरू टीएमएस क्लोज आउट, मेरोशेयरको समस्या,सर्वसाधारण लगानीकर्ताहरूको सर्वशुलभ पहुँच पुरयाउन देशव्यापी ब्रोकरहरूको उपस्थिति,जसमा नयाँ ब्रोकरलाई लाईसेन्स,बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर कारोवारमा पहुँच, शेयर खरीदविक्रीमा लाग्दै आएको चर्को कमिशनमा एकतर्फि कमिशनको व्यवस्था, खरीदविक्रीमा लिइने गरिएको कमिशनमा पुनरावलोकन, पूँजीगत लाभकर घटाउने जस्ता लगानीकर्ताहरूको सर्वोपरी हितको कार्यक्रमहरूलाई ओझेलमा पार्दै शेयर बजारलाई घटबढ गराउने संस्थाको रूपमा धितोपत्र वोर्डका गतिविधिहरू बढ्दै गएकोमा गम्भिर चिन्ता लागेको पनि उनीहरुले भनेका छन् । कम्पनीहरूको यथार्थ विवरण तत् तत् समयमा लगानीकर्ताहरू माझ पुर्‍याइदिनु नियामक निकायको दायित्व भएको भन्दै विज्ञप्तिमा भनिएको छ, कम्पनीहरूको बारेमा उपलब्ध सूचनालाई विश्लेषण गरी लगानी गर्ने अधिकार स्वयं लगानीकर्ताहरूमा नै छाड्नुपर्ने अन्तरराष्ट्रिय मान्यता हो  ।  देशको राजस्व संकलनमा दोश्रो हुँदै प्रथम स्थान ओगट्न अग्रसर हुँदै गरेको पूँजीबजार र भर्खर सर्वसाधारण नागरिकहरूको चासो र लगानी हुन लागेको क्षेत्रलाई सुरक्षित,संरक्षित र विकसित गर्ने मुख्य दायित्व नेपाल धितोपत्र वोर्डको हुँदाहुँदै आफ्नो जिम्वेवारी र दायित्वलाई मनन नगरि गरिने कुनै पनि कार्यले पूँजीबजारको विकास र विस्तार सम्भव हुन नसक्ने तर्क पनि उनीहरुले गरेका छन् । यसअघि धितोपत्र बोर्डले सार्वजनिक गरेको अवधारणाप्रति भयभीत नभई संयमित तरिकाले लगानी सम्बन्धि धारणा बनाउन पनि उनीहरुले लगानीकर्ताहरुलाई भनेका छन् ।

एमसीसी विवाद : भ्रम र यथार्थ तथ्यसहित

काठमाडौँ । अमेरीकी सरकारको लगानीको मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकार अर्थ मन्त्रालयबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा विभिन्न तह र कोणबाट बहस भैरहेको छ । यसका प्रावधानलाई लिएर अनेकन टिका टिप्पणी ...

लगानी सम्मेलन र समृद्धि

विकासका निम्ति लम्किरहेको मुलुकलाई लगानी अपरिहार्य हुन्छ । विकासशील मुलुकलाई लगानीको स्रोत जुटाउन आफंैमा चुनौतीपूर्ण हुन्छ । आन्तरिक र बाह्य स्रोतबाट लगानीको माग पूरा गरिन्छ । आन्तरिक लगानी मुलुकको क्षमतामा निर्भर रहन्छ । बाह्य लगानी भौतिक पूर्वाधार न्यून मात्रामा र निर्माणको क्रममा रहेका मुलुकका लागि वैदेशिक लगानी भित्र्याउनु फलामे चिउरा चपाउनु सरह हुन्छ, तर पनि मध्यपूर्वका कैयौं मुलुकले बाह्य लगानीको माध्यमबाट नै समृद्धिको यात्रा सम्पन्न गरेको यथार्थ हाम्रो अगाडि साक्षी छ ।