वित्तीय साक्षरताबाट निक्षेप आकर्षण

विश्व आर्थिक मञ्चमा समेत वित्तीय साक्षरताको विषयले महत्त्व पाउन थालेको छ । वित्तीय साक्षरताले कुनै पनि व्यक्तिसँग भएका आर्थिक तथा वित्तीय स्रोत तथा साधन, वित्तीय क्षेत्रमा उत्पादित वस्तुका बारेमा प्रभावकारी एवं मितव्ययी उपयोग गर्ने विधि र ज्ञान दिन्छ । सीमित स्रोतसाधनको उच्चतम उपयोगबारे ग्राहक तथा सर्वसाधारणलाई जानकारी दिने र आर्थिक उन्नति गर्ने ज्ञान, शीप र कला प्रदान गर्नुलाई वित्तीय साक्षरता भनिन्छ । बैंकिङ क्षेत्रमा हाल पनि उपभोक्तालाई बैंकिङ सेवा तथा सूचना समयमा नपाउँदा र भरपर्दो किसिमबाट नहुँदा पर्न जाने असरको क्षतिपूर्ति सम्बन्धमा नीतिगत व्यवस्था छैन । हाल बैंकिङ बजारमा अत्यधिक कर्जा माग र लगानी छ भने निक्षेप संकलन न्यून छ । केही बैंकहरूको सीडी रेसियो ९० भन्दा माथि पुगेको देखिन्छ । यस्तो समस्या आउनुको प्रमुख कारण निक्षेपको तुलनामा कर्जाको विस्तार बढी हुनु हो । बैंकिङ क्षेत्रले पर्याप्त जनविश्वास कायम गर्न नसक्दा पूँजी पलायन भएकाले निक्षेपमा कमी आएको छ । विप्रेषणमा आएको कमी, विकास खर्च हुन नसक्नु, वित्तीय साक्षरताको कमीजस्ता कारणले बैंकहरूले तरतलाको कमीको समस्या भोग्नुपरेको हो । तथ्यांकले करीब ६७ प्रतिशतमा वित्तीय साक्षरता पुगेको भनिए तापनि अझै यो संख्या निकै न्यून छ । कर्जा प्रवाह गर्दा स्रोतको आकलन गर्दै ध्यानपूर्वक गर्नुपर्नेमा आक्रामक रूपमा प्रतिस्पर्धा गर्दा हालको अवस्था आएको हो । जब निक्षेप कम हुन्छ ब्याज बढाउने प्रतिस्पर्धा देखिन्छ । जब निक्षेप बढी हुन्छ निक्षेपमा दिने ब्याजदर निकै कम हुन्छ । निक्षेपमा ब्याजदर कम हुनुका साथ ग्राहकले शेयर खरीद तथा अन्यत्र लगानी गरेका हुन्छन् जुन तत्काल फिर्ता हुने सम्भावना रहँदैन । यसरी बैंकिङ क्षेत्रमा तरलतामा कमी आइरहेको छ । तसर्थ बैंक तथा वित्तीय संस्थाले आफ्नो क्षमताको प्रयोग गरी बढीभन्दा बढी ग्राहकलाई खुशी बनाउनुपर्छ, उनीहरूलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्छ । वित्तीय रूपमा ग्राहकलाई साक्षर बनाई निक्षेप संकलन गर्नुको विकल्प छैन । वित्तीय साक्षरताको अभावमा मानिसमा बचतको बानी विकास हुँदैन । उनीहरूको बचत नभएमा बैंकमा आउने निक्षेप पनि कम हुन्छ । वित्तीय संतुलनको लागी नियामक निकायको नीति पालना गर्दै निक्षेप संकलन र कर्जा प्रवाह गर्नुपर्छ । विगत ३/४ वर्षदेखि नै नेपालको बैंकिङ क्षेत्रमा वित्तीय सन्तुलन खलबलिँदै आएको छ । कहिले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्यून देखिन्छ भने कहिले अधिक देखिन्छ । यसबाट वाणिज्य बैंकहरूको बजार अंश संख्यात्मक रूपमा बढी भएता पनि गुणात्मक रूपमा कमजोर देखिन्छ । तरलताको दिगो समाधान तथा वित्तीय सन्तुलनलाई स्थिर र बलियो बनाउन ग्राहक सन्तुष्टि बढाउनुपर्छ, सेवालाई चुस्त र छिटाछरितो बनाउनुपर्छ । प्रविधिको प्रयोग मात्र नगरी यसले काम गरेको छ कि छैन वेलैमा सचेत भई मर्मत र अनुगमनलाई तीव्रता दिनुपर्छ । वित्तीय पहुँचलाई थप वृद्धि गर्दै वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ । उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ । तर, उपभोग्य क्षेत्रमा लगानी विस्तार भएको छ । विदेशबाट आउने विप्रेषणको सदुपयोग गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रेरित गर्न आवश्यक छ । हुन्डीलगायत अवैध कारोबार वा छाया बैंकिङलाई नियन्त्रण गर्न आवश्यक छ । यसका लागि वित्तीय साक्षरता प्रदान गर्नु पहिलो र महत्त्वपूर्ण काम हो । हाल वित्तीय साक्षरताका लागि काम भइरहे पनि त्यो अपर्याप्त छ । बैंकिङ क्षेत्रले पनि वित्तीय साक्षरताका लागि काम गर्नुपर्छ । यसो भएमा उपभोगमा भइरहेका खर्च बचत हुन थाल्छ र उत्पादनशील क्षेत्रमा लगानी बढ्नछ । यसले गर्दा आगामी दिनमा वित्तीय सन्तुलन कायम हुन गई तरलताको समस्या केही हद समाधान हुन सक्छ । वित्तीय साक्षरताले पैसा र यसको उपयोगबारे जानकारी प्रदान गर्छ । आफूसँग भएको सिमित बजेटको कसरी सदुपयोग गर्ने, धन सम्पत्ति कानूनबमोजिम कसरी प्राप्त गर्ने, उद्यम व्यवसायका लागि पूँजीको अभाव भएमा बैंकबाट रकम प्राप्त गर्ने, बैंकमा नै बचत गर्ने बानी बसाउने, विदेशको कमाइ बैंकिङ च्यानलबाट मात्र विप्रेषण गर्ने, वित्तीय संस्थाबाट उत्पादनमूलक कार्यका लागि ऋण सहयोग लिनेलगायत विषयमा ग्राहक तथा सर्वसाधारणलाई जानकारी दिनु नै वित्तीय साक्षरता हो । विद्यालय तहका बालबालिकादेखि कलेज अध्ययन गर्ने किशोरकिशोरीलाई समेत वित्तीय कारोबार र वित्तको महत्त्व र प्रयोग सम्बन्धमा असल संस्कार र आचरण सिकाउन सक्नुपर्छ । यसो भएमा बैंक तथा वित्तीय संस्थाको बजार शाख अझ वृद्धि हुनेछ । इजाजतपत्रप्राप्त संस्थाहरूले आफ्ना ग्राहकलाई प्रदान गर्ने सेवा शर्तसँग सम्बद्ध सबै प्रकारका विवरण सार्वजनिक रूपमा जानकारी गराउनुपर्छ । यस्ता विवरणमा वित्तीय सेवा तथा उपकरणहरूका अतिरिक्त त्यससँग सम्बद्ध शुल्क, कमिशन, ब्याजदर, जरीवाना, हर्जानालगायत सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया एवं शर्तहरू समावेश गरेको हुनुपर्छ । आफूले प्रदान गर्ने वित्तीय सेवा, सबै प्रकारका खाता एवं कर्जा र वित्तीय उपकरणसम्बन्धी जानकारीको संक्षिप्त विवरण/पुस्तिका तयार गरी ग्राहक एवं सर्वसाधारणलाई उपलब्ध हुने व्यवस्था मिलाउनुपर्छ । विभिन्न प्रकारका खाता र त्यससम्बन्धी विवरण, ग्राहकलाई प्रदान गरिने वित्तीय सेवामा लाग्ने शुल्कका आधार र त्यससम्बन्धी विवरण, बैंकिङ कारोबारका लागि निर्धारित प्रक्रिया एवं कार्यविधि, खाता बन्द गर्दा अवलम्बन गरिने प्रक्र्रिया, ब्याजदर गणना गर्ने विधि, अग्रिम भुक्तानी शुल्क, ऋणीले समयमा कर्जा भुक्तानी नगरेमा बैंकले गर्ने कारबाही, विलम्ब शुल्क, जरीवाना तथा हर्जाना, विभिन्न प्रकारका विद्युतीय कार्ड सञ्चालनसम्बन्धी कार्यविधि, बैंकिङ कारोबारमा हुन सक्ने सजाय तथा जरीवाना र ग्राहकले अवलम्बन गर्नुपर्ने सतर्कता सम्बन्ध मा जानकारी उपलब्ध गराउनुपर्छ । आफ्नो कारोबारसम्बन्धी जानकारी ग्राहकले निःशुल्क रूपमा लिन सक्ने व्यवस्था मिलाउनुपर्छ । तसर्थ वित्तीय साक्षरतामार्फत वित्तीय पहुँच निष्पक्ष र गुणस्तरीय एव पारदर्शी सेवा दिन सक्नुपर्छ । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

सम्बन्धित सामग्री

बैंकहरूको निक्षेप बढ्दा पनि मुद्दतीमा छैन आकर्षण

चार महिनामा एक खर्ब ४८ अर्बले निक्षेप बढे पनि मुद्दतीको अंश १.९५% विन्दुका दरले घट्यो बैंक तथा वित्तीय संस्थाको

धेरै हिसाबले आकर्षण छ बचतपत्रमा लगानीकर्ता भने अझै तानिएनन्

नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्प छन् । घरजग्गा, सुनचाँदी, पुँजी बजार र मुद्दती निक्षेप जस्ता क्षेत्रमा नागरिकले प्राथमिकता दिने गरेका छन् ।

अस्ट्रेलियाको घरजग्गामा नेपालीको आकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसमयमा सार्वजनिक सूचनामार्फत विदेशमा लगानी नगर्न सचेत गराए पनि अस्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्न नेपालीहरू आकर्षित भएको पाइएको छ । अस्ट्रेलियाको सरकारी कार्यालयले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार नेपालीहरूले १ वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी घरजग्गामा लगानी गरेको पाइएको हो । अस्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले सार्वजनिक गरेको वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनमा सन् २०२२–२३ मा नेपालीले १२६ ओटा लगानी प्रस्तावमार्फत अस्ट्रेलियाको घरजग्गा व्यवसायमा १० करोड अमेरिकी डलर लगानी गरेका छन् । बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार त्यो १३ अर्ब ३४ करोेड रुपैयाँ बराबर हुन्छ ।  सन् २०२१–२२ मा पनि नेपालीले १४० लगानी प्रस्तावबाट १० करोड डलर नै लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको पछिल्लो त्रैमासमा भने नेपालीले ५८ ओटा लगानी प्रस्ताव पेश गरेका छन् । अघिल्लो त्रैमासमा ६८ ओटा लगानी प्रस्ताव परेको थियो । प्रतिवेदनमा अस्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको नाम उल्लेख गरेकोमा नेपाल ८औं स्थानमा छ । संख्यात्मक रूपमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि नेपालको बढी लगानी छ । नेपाल पछाडि इन्डोनेशिया, बेलायत र मलेशिया छन् । लगानी रकमका आधारमा भने नेपालको स्थान तल छ । रकमका आधारमा नेपालको भन्दा बढी लगानी बेलायत र मलेशियाका लगानीकर्ताको रहेको प्रतिवेदनमा उल्लेख छ ।   एक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी लगानी  परिवारसहित पलायन हुनेले यताको सम्पत्ति बेचेर उता किनेको अनुमान अस्ट्रेलियाको घरजग्गा एजेन्ट कम्पनी ल्यान्ड एन्ड लिजमा सेल्स म्यानेजर रही काम गरेका ज्योतीन्द्र कडरियाका अनुसार अस्ट्रेलियामा घरजग्गाको लगानी सुरक्षित र प्रतिफल पनि राम्रो आउने भएकाले नेपालीको लगानी बढीरहेको छ । ‘अस्ट्रेलियामा घरजग्गा व्यवसाय उच्च नियमनमा रहेको र प्रतिफल सुनिश्चित रहेकाले लगानी गर्न सुरक्षित मानिन्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘नेपालीको कमाइ पनि राम्रो रहेकाले यस क्षेत्रमा लगानी गरिरहेका छन् ।’ घरजग्गा किन्दा मात्र सेटल भइने सोचाइका कारण पनि नेपालीले यसतर्फ लगानी गर्न जोड दिएका हुन् ।  उच्च शिक्षा अध्ययन, रोजगारी र विदेश बसाइका लागि अस्ट्रेलिया नेपालीको आकर्षक गन्तव्य बनिरहेको छ । विभिन्न पेशा व्यवसायमा स्थापित हुने नेपालीको संख्या बढ्दै गएको र रियल इस्टेट एजेन्ट, लेखापढी, ऋण ब्रोकर जस्ता व्यवसायमा पनि नेपाली उलेख्य रहेको कडरियाले बताए । यसले गर्दा नेपालीलाई यस क्षेत्रमा लगानी गर्न सजिलो भएको छ । अस्ट्रेलियन सरकारको गृह मन्त्रालयका अनुसार २०२१ जुनसम्ममा १ लाख २९ हजार ८७० नेपालीले स्थायी बसोवास अनुमति पाएका छन् । सन् २०११ मा यो संख्या २७ हजार मात्र थियो ।  सरकारले विदेशमा बस्ने नेपालीले बस्दाको अवधिसम्म आफ्नो आर्जनबाट विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरे पनि नेपालबाट लगानी लैजान पाउँदैनन् । विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ ले स्वदेशमै बस्ने नेपाली नागरिकलाई विदेशमा लगानी गर्न निषेध गरेको छ । सोही प्रावधानअनुसार राष्ट्र बैंकले समयसमय सूचना जारी गरी विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरीद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायत पूँजीगत प्रकृतिका कारोबार नगर्न सचेतसमेत गराउँदै आएको छ । तर, अस्ट्रेलियामा घरजग्गा व्यवसायमा भएको ठूलो लगानीले नेपालबाट समेत अवैध बाटोबाट पूँजी पलायन भएको आशंका गरिएको छ । परिवारसहित नेपालबाट पलायन भएका नेपालीले यहाँको सम्पत्ति बेचेर अस्ट्रेलियामा घरजग्गा किन्ने गरेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताए ।

बढेको ब्याजदर र घट्दो कर्जा आकर्षण

भदौ महीनामा अनअपेक्षित रूपमा बैंकहरूले ब्याज बढाए भन्ने आरोप अहिले यत्रतत्र देखिन्छ । सबै बैंकको सीडी अनुपात कम भएको समयमा, डलरको मूल्यले फेरि अर्को उचाइ रहेको समयमा, पेट्रोलको मूल्य फेरि बढिरहेको समयमा बैंकहरूको ब्याजदर वृद्धि हुनु शुभ पक्ष होइन । विगत केही समय अगाडि मात्र अन्तरबैंक १ प्रतिशत तल झरिसकेको अवस्था थियो, अर्थात् तरलता पर्याप्त थियो ।  बैंकहरूले यस्तो समयमा ब्याज बढाउँदा पर्ने प्रभाव समग्र अर्थतन्त्रलाई नकारात्मक हुनु स्वाभाविक नै हो । एकातिर व्यापारी वर्ग अब त कर्जाको ब्याज घट्ला भनी पर्खिरहेको समय, अर्कोतर्फ मुद्रास्फीति आफै उच्च रहिआएको परिप्रेक्ष्यमा बढाइएको ब्याजदरले शेयरबजारदेखि समग्र विकास नीतिसम्मलाई अवरोध पार्ने निश्चित छ । व्यक्तिगत आम्दानी नबढ्नु, खर्च गर्न सक्ने क्षमता नबढ्नु र भान्छामा खपत हुने वस्तुको मूल्य बढ्नुले व्यक्तिगत अर्थतन्त्रलाई मार परेकै छ । सोचेअनुरूप राजस्व नउठिरहेको अवस्थामा बैंकहरूले ब्याजदर बढाइदिँदा अर्थतन्त्र थप कमजोर हुने सहजै आकलन गर्न सकिन्छ ।  असार मसान्तमा तरलता समस्या हल भइसकेको जस्तो लागे पनि पुन: बल्झिएको जस्तो देखिनुमा पक्कै केही कारक तत्त्व छन् । अन्यथा हिजो बैंकको ब्याजदर घट्न थालिसकेको अवस्थामा पुन: वृद्धि हुने अवस्था आउने थिएन । साउनको पहिलो हप्ता जब सरकारले वाणिज्य बैंकहरूमा भएको स्थानीय निकायको निक्षेप फिर्ता लियो, यी बैंकबाट करीब १ खर्ब रुपैयाँ बाहिरियो । एउटा गति लिन थालिसकेको तरलताको अवस्थाले पुन: एक कदम पछाडि सर्नुपर्‍यो । निक्षेप वाणिज्य बैंकलाई दिने या नदिने, पूर्ण रूपमा सरकारी निर्णय थियो । नदिने हो भने उक्त रकम फिर्ता लिनु त्यही नै उपयुक्त समय थियो । बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ बाहिरिन्छ भन्ने थाहा पाएपश्चात्, साउन महीनामै कतिपय बैंकले आफ्नो ब्याजदर वृद्धि गरिसकेका थिए ।  मौद्रिक नीति आएपश्चात् नीतिगत दर परिवर्तन भएमा बैंकहरूले आफूले प्रकाशित गरेको ब्याजदर पुन: परिवर्तन गर्न पाइने एकीकृत निर्देशिकाको नीतिलाई आधार बनाएर पनि ब्याजदर परिमार्जन गरे । फलस्वरूप, उक्त रकम प्रणालीबाट घटे तापनि निक्षेपलाई आकर्षण गर्ने वृद्धि भएको ब्याजदर फलदायी नै रह्यो । रकम त्यही थियो, एउटा बैंकको निक्षेप बढ्दा अर्को बैंकको घट्यो, जसले गर्दा भदौ महीनामा उक्त समयमा ब्याज नबढाएको बैंकहरू बढाउन बाध्य भए । सामान्यतया, बैंकमा तरलता हुँदा अन्तरबैंक ब्याजदरदेखि बैंककै ब्याजदरमै कमी आउनुपर्ने हो तर यहाँ विषय अर्कै छ । तरलता कम शायद भएकै छैन यहाँ, जसले गर्दा बैंकमा ब्याजदर घट्ने प्रसंग नै उचित रहँदैन । अझ गम्भीर विषय त के हो भने, सीडी अनुपात कम भए तापनि बैंकहरूले यस समयमा कर्जा प्रवाह गर्न सकेका छैनन् । यसो हुनुको कारण कर्जाको माग नहुनु नै हो ।  स्थानीय निकायको रकम त पुन: बैंकिङ प्रणालीमा आएपश्चात् तरलता त सहज होला तर यो अवस्थामा अझै पनि कर्जा प्रवाह बढ्ने सम्भावना कमै छ । अर्थतन्त्रमा कर्जा प्रवाह नहुनु भनेको व्यापारीहरू निरुत्साहित हुनु हो । व्यक्तिले कुनै आर्थिक अपेक्षा नराख्नु हो । यो वास्तवमै एक गम्भीर आर्थिक समस्या हो । हिजो शेयरबजार र घरजग्गामा जुन आकर्षण देखिन्थ्यो, अहिले त्यो छैन । मौद्रिक नीति र केन्द्रीय बैंक मात्र अर्थतन्त्रको जिम्मेवार निकाय होइनन् । ब्याजदर बढ्दा उद्यमशीलता निरुत्साहित हुने पक्ष एकातर्फ छ भने अर्कोतर्फ व्यापारीहरू थप मर्कामा परेको देखिन्छ । व्यापारबाट हुने उक्त महँगीको चपेटाको मार अन्तत: आम सर्वसाधारणलाई नै हुने हो । बैंकको कर्जाको प्रयोग व्यापारका लािग गरिँदै छ भने अर्कोतर्फ यहाँबाट प्राप्त कर्जा विदेशमा आयातका लागि खर्च भइरहेको छ । अहिले बढेको ब्याजले प्रत्यक्ष प्रभाव पार्ने शेयरबजारलाई पनि हो । व्यापार व्यवसाय बन्द हुँदा विदेशिने युवाको संख्यादेखि बेरोजगारीको समस्याले थप मार पार्ने नै भयो ।  महँगो बजारमा जब आम सर्वसाधारणको खर्च गर्न सक्ने क्षमता कम हुन्छ, त्यसले प्रत्यक्ष रूपमा जनता प्रभावित हुने नै भए । आज देखिएको सहकारी पीडितको समस्या केही हदसम्म यही पक्षसँग आबद्ध रहिआएको बुझ्न सकिन्छ । घरजग्गा कारोबारमा उत्साह नदेखिनुदेखि कर्जाको बोझ थपिने हुन्छ । स्वदेशी लगानीमा उत्साह नभएर वैदेशिक लगानी वृद्धि नभएको देखिन्छ । साउनमा ६० ओटा उद्योगमा ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको तथ्यांकले यस पक्षको पुष्टिसमेत गर्छ ।  आजको यो अवस्था हिजो कोभिडको समयको झैं नै रहेको छ । कर्जाको माग न्यून भएको छ । कर्जाको माग न्यून हुनुको अर्थ आर्थिक क्रियाकलापमा वृद्धि नहुनु हो । जहाँ कर्जा प्रवाह नै सुस्त गतिमा भइरहेको छ त्यहाँ उद्योग, कलकारखाना, व्यापार, व्यवसायमा उत्साह नहुनु स्वाभाविक हो ।  ब्याजदर कुनै सिन्डिकेट प्रणालीबाट तोकिनु गलत हो । खुला बजारमा ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने हुन्छ । बैंकहरूले तरलता व्यवस्थापनका लागि ब्याजदरमा प्रतिस्पर्धा गर्न थालेपछि स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने व्यवस्थाअनुरूप अब केही समयमा तरलता शायद सामान्यतर्फ उन्मुख हुन थाल्छ । स्थानीय निकायको रकम पुन: बैंकिङ प्रणालीमा आएपश्चात् तरलता त सहज होला, तर यो अवस्थामा अझै पनि कर्जा प्रवाह बढ्ने सम्भावना कमै छ । यसले गर्दा बैंकहरूले उक्त रकम खोलिने ट्रेजरी बिल्स, ऋणपत्रबाहेकका ठाउँमा लगानी गर्ने सम्भावना न्यून छ । कर्जालाई ऊर्जा दिन समग्र क्षेत्र चलायमान हुन आवश्यक छ । तरलताको यस अवस्थामा अर्थतन्त्रले जे गुमायो, आफ्नो ठाउँमा होला तर सुधार उन्मुख भविष्यतर्फ सबै पक्ष एकीकृत रूपमा अगाडि बढ्न आवश्यक छ । रेग्मी बैंकर हुन् ।

सहकारीप्रति बचतकर्ताको आकर्षण किन

पछिल्लो पटक एक सहकारी भागेसँगै फेरि एकपटक सहकारी संस्थाहरूको विश्वसनीयतामा शंका उठेको छ । गणतन्त्र नेपालको संविधानले अर्थतन्त्रको एक खम्बा मानेको सहकारीमा यति धेरै विकृति आएर राम्रो काम गर्ने सहकारीहरू पनि बदनाम हुनुपरेको यो पहिलो पटक भने होइन । लामो समयदेखि अर्बौंको निक्षेप परिचालन गरेका सहकारीको नियमन तथा नियामकीय क्षमतामाथि प्रश्न उठिरहेकै हो । वास्तवमा […]

सेञ्चुरी बैंकले ल्यायो रिकरिङ्ग निक्षेप बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले नयाँ सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आम सर्वसाधारणलाई बचतमा आकर्षण गर्ने गरी हालैमात्र दुई वटा रिकरिङ्ग मुद्दती खाता र फ्लेक्सी फिक्सड बचत खाता सञ्चालनमा ल्याएको हो ।यी दुई बचत खाता नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई समेत लक्षित गरी ल्याइएको बैंकले जनाएको छ । न्यूनतम एक हजार रुपैयाँमा नै खोल्न सकिने र खातामा क्र

निक्षेपको प्रवृत्तिमा परिवर्तन साधारणबाट मुद्दतीतर्फ

बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने सर्वसाधारणको प्रवृत्तिमा परिवर्तन देखिन थालेको छ । सर्वसाधारणमा बढेको वित्तीय साक्षरता तथा बैंक तथा वित्तीय संस्थाको नीतिका कारण चल्ती र साधारणबाट मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल ४८ खर्ब रुपैयाँमध्ये मुद्दती निक्षेपको अंश ५४ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो आवको यसै अवधिमा मुद्दती निक्षेपको अंश ५० प्रतिशत रहेको थियो । बैंकमा चल्ती र साधारण बचतको अंश घटेर मुद्द...

मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै

बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने सर्वसाधारणको प्रवृत्तिमा परिवर्तन देखिन थालेको छ । सर्वसाधारणमा बढेको वित्तीय साक्षरता तथा बैंक तथा वित्तीय संस्थाको नीतिका कारण चल्ती र साधारणबाट मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइएको छ ।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल ४८ खर्ब रुपैयाँमध्ये मुद्दती निक्षेपको अंश ५४ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो आवको यसै अवधिमा मुद्दती निक्षेपको अंश ५० प्रतिशत रहेको थियो । बैंक

सामूहिक लगानी कोषप्रतिको आकर्षण

सामूहिक लगानी कोष एक प्रकारको लगानीको औजार हो, जसले बजारमा एकाइ जारी गरी लगानीकर्ताबाट रकम संकलन गर्ने र शेयर डिवेन्चर ऋणपत्र, मुद्दती निक्षेप वा अन्य लगानीका औजारमा पोर्टफोलियो मिलाई लगानी गर्ने गर्छ । सामूहिक लगानी कोषको पोर्टफोलियो संरचनागत हुन्छ र विवरणपत्रमा उल्लिखित उद्देश्यअनुरूप लगानी गर्छ । धितोपत्र बजार बियरिसमा गएको अवस्थामा कतिपय कम्पनीहरूको धितोपत्र निष्कासन तथा प्रत्याभूतिको कार्य गर्न अन्य मर्चेन्ट बैंकरहरूले नमानेको अवस्थामा समेत कोषले जोखिम लिएरै भए पनि ती कम्पनीलाई पूँजीबजारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । सामूहिक लगानी कोषको शुरुआत एनसीएम म्युच्युअल फन्ड २०५० बाट भएको पाइन्छ । यो रू. १० करोड बराबरको १० वर्ष म्याद अवधि भएको कोष थियो । त्यसपछि, नागरिक लगानी कोष व्यवस्थापक भई नागरिक एकांक योजना २०५२ एकाइ योजना आएको थियो । यो योजना नागरिक एकाङ्क योजना सञ्चालन कार्यविधि, २०५२ अनुसार हालसम्म सञ्चालन भइरहेको छ । सामूहिक लगानी कोष नियमावली, २०६७ आउनुभन्दा करीब १५ वर्ष पहिलेदेखि नै यो सञ्चालनमा आएको हो । नागरिक एकाङ्क योजना सञ्चालन कार्यविधि, २०५२ नागरिक लगानी कोष ऐन २०४७ ले दिएको अधिकार प्रयोग गरी सञ्चालन गरिएको छ । यो एकाइ योजनामा पूँजी र अवधि दुवै निश्चित छैन । कोष व्यवस्थापक (नागरिक लागनी कोष) मार्फत मात्र किनबेच हुने गर्छ । कसैले एकाइमा लगानी गर्न चाहेमा कोषबाट खरीद गर्न सक्छ भने विक्री गर्न चाहेमा कोषले खरीद गरिदिने व्यवस्था रहेको छ । यो योजनालाई अन्य सामूहिक लगानी कोषजस्तो धितोपत्र बजारमा सूचीकृत गरिएको छैन । यस एकांक योजनामा रू. १००० सम्म लगानी गर्ने लगानीकर्तालाई आय करमा छूट दिइएको छ । चालू आवको पहिलो त्रैमासमा करीब १५०० एकाइ धनीमार्फत रू. १ अर्ब ६० करोड बराबरको रकम संकलन भएको छ । यस योजनामार्फत वार्षिक करीब २ अर्ब ५० करोड बराबरको कारोबार हुने गरेको पाइन्छ । यस योजनाका एकाइधनीले योजना सञ्चालक (कोष) ले तोकेको प्रतिफल (ब्याज) पाउने व्यवस्था छ । धितोपत्र कारोबारमा अन्य सामूहिक लगानी कोषले पाउने सुविधा यस योजनाले समेत प्राप्त गरेको छ । धेरै मात्रामा सामूहिक लगानी कोषहरू सञ्चालनमा आउन थालेको सामूहिक लगानी कोष नियमावली, २०६७ आएपछि हो । सामूहिक लगानी कोषहरू यसका विशेषताअनुसार विभिन्न प्रकारका हुन्छन् । निश्चित पूँजी र अवधि भई कोष व्यवस्थापकमार्फत मात्र किनबेच हुने बन्दमुखी सामूहिक लगानी कोष हो भने पूँजी र अवधि दुवै अनिश्चित भएको तर कोष व्यवस्थापकमार्फत मात्र किनबेच हुने खालको खुलामुखी सामूहिक लगानी कोष हो । पूँजी र अवधि दुवै निश्चित नभएका ट्रस्ट करारबमोजिम सञ्चालन हुने कोष एकाइ योजना हुन् । धेरैजसो सामूहिक लगानी कोषहरू धितोपत्र बजारमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने गरेको पाइन्छ भने कतिपय सूचीकृत नभई पनि कोष व्यवस्थापकमार्फत किनबेच हुने गरेको छ । नेपालमा हाल आएर सामूहिक लगानी कोषको आकार, प्रकार र क्षेत्र बढिरहेको पाइन्छ । यसप्रति आम लगानीकर्ताको आकर्षण पनि बढिरहेको छ । पछिल्लोपटक सार्वजनिक निष्कासन भएका मेगा म्युचुअल फन्ड १ र नबिल ब्यालेन्स फन्ड ३ मा लगानीकर्ताको जुन आकर्षण देखियो त्यसले सामूहिक लगानी कोषप्रति आकर्षण बढेको देखाउँछ । नागरिक एकांक योजना, २०५२ एकाइ योजनाका रूपमा हालसम्म सञ्चालनमा रहेको एक सामूहिक लगानी कोष हो । नागरिक लगानी कोष ऐन, २०४७ को प्रस्तावनामा नै देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशीलता ल्याउन नागरिक लगानी कोषको स्थापना भएको उल्लेख गरिएको छ । ऐनले निर्दिष्ट गरेको कोषको लक्ष्यहरू मध्येको एक लक्ष्य हो ः पूँजी बजारको विकास तथा विस्तारमा गतिशीलता ल्याउनु । लागरिक लगानी कोषलाई सर्वसाधारण मानिसले स्वैच्छिक अबकाश कोष सञ्चालकका रूपमा चिने तापनि कोषले स्थापना कालदेखि नै मर्चेन्ट बैंकरका रूपमा कार्य गर्दै आएको छ । कोषले पूँजी बजारसम्बन्धी परामर्शकर्ता, धितोपत्र निष्कासनकर्ता, प्रत्याभूतिकर्ता र शेयर रजिस्ट्रारका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । हाल धितोपत्र बजारमा सूचीकृत भई कारोबार भइरहेका पुराना कम्पनीदेखि लिएर भर्खरै सूचीकृत भएका कम्पनीसम्मको पूँजी बजारसम्बन्धी कार्यमा कोषको कुनै न कुनै रूपमा भूमिका रहेको छ । यदि नागरिक लगानी कोषले पूँजी बजारसम्बन्धी कार्य नगर्ने हो भने ठूलो पूँजी चाहिने कम्पनीको ठूलाठूला धितोपत्र निष्कासन हुन मुश्किल हुने अवस्था छ । खासगरी ठूलो पूँजीको निष्कासनमा प्रत्याभूतिकर्ताको कमी हुन सक्छ । त्यस्ता ठूला कम्पनीहरू पूँजी बजारमा आउनबाटै वञ्चित हुने अवस्था पनि नआउला भन्न सकिँदैन । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को एक व्यवस्थाबमोजिम धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको तीन गुणासम्म मात्र प्रत्याभूति (अन्डरराइटिङ) गर्न सक्ने व्यवस्था रहेको छ । कुनै प्रत्याभूतिकर्ता (अन्डरराइटर) को नेटवर्थ ५० करोडको मात्र रहेछ भने उसले डेढ अर्बभन्दा बढीको धितोपत्र निष्कासनको प्रत्याभूति गर्न सक्दैन । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को अर्को एक व्यवस्थाअनुसार मर्चेन्ट बैंकिङ व्यवसाय गर्न न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ भए पुग्छ । तर, कोषको नेटवर्थ धेरै नै ठूलो भएको कारण यस्तो समस्या हुँदैन । हाल धितोपत्र बजारमा रहेका ठूला पूँजी भएका कम्पनीहरू निफ्रा र माथिल्लो तामाकोशीजस्ता ठूला कम्पनीको धितोपत्र निष्कासनको प्रत्याभूति नागरिक लगानी कोषबाहेक अरूले गर्न सक्ने अवस्था थिएन । धितोपत्र बजार बियरिसमा गएको अवस्थामा कतिपय कम्पनीको धितोपत्र निष्कासन तथा प्रत्याभूतिको कार्य गर्न अन्य मर्चेन्ट बैंकरहरूले नमानेको अवस्थामा समेत कोषले जोखिम लिएरै भए पनि ती कम्पनीलाई पूँजी बजारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोषले पूँजी बजारभन्दा बाहिर रहेका हरेक खालका कम्पनीहरूलाई आर्थिक विकास र औद्योगिकीकरणका लागि आवश्यक पर्ने पूँजी जुटाउन परामर्श दिने र प्रेरित गर्ने गरेको छ । सबै क्षेत्रका उद्योग र उद्योगीलाई पूँजी उपलब्ध गराउन मद्दत गरेर कोषले उत्पादकत्व बढाउन पूँजी बजारमा ठूलो भूमिका निर्वाह गरेको छ । दोस्रो बजारमा गतिशीलता ल्याउन कोषले नागरिक स्टक डिलर कम्पनी स्थापना गरी सञ्चालनमा ल्याएको छ । यसले धितोपत्रको किनबेच गरी पूँजी बजारको विकास र विस्तारमा गतिशीलता ल्याउन मुख्य भूमिका निर्वाह गर्छ । यसैगरी यसले पूँजी बजार सेवाका उपकरणहरू/औजारहरू प्रभावकारी ढंगले प्रयोग गर्ने उद्देश्य लिएको छ । कोष आफैले पनि पहिलो तथा दोस्रो बजारमा धितोपत्रको कारोबार गर्ने गर्छ । कोषले सामूहिक लगानी कोष सञ्चालनको निकै लामो कार्य अनुभवलाई बिस्तार गर्दै थप नयाँ सामूहिक लगानी कोष सञ्चालनमा ल्याई पूँजी बजारमा थप गतिशीलता ल्याउनुका साथै आम मानिसलाई लगानीको अवसर प्रदान गर्नुपर्छ । पूँजीबजारको विकास तथा विस्तारमा कोषको लामो अनुभव तथा इतिहास रहेको छ । यसलाई समयसापेक्ष परिष्कृत गर्दै लगी पूँजी बजारमा लगानीका आधुनिक तौरतरीका तथा औजारहरूको प्रयोग गर्दै कोषले पूँजी बजारको विकास र विस्तारमा आफ्नो भूमिकालाई अझै बलियो बनाइराख्नुपर्छ । बजारमा रहेका निजीक्षेत्रबाट सञ्चालित मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका थुप्रै संस्था छन् र यिनका ग्राहक पनि उत्तिकै संख्यामा रहेको पाइन्छ । सरकारी स्वामित्वको लागरिक लगानी कोषलाई सर्वसाधारण मानिसले अझ बढी विश्वास र भरोसा गर्न सक्ने भएकाले त्यो अवसरलाई कोषले सदुपयोग गरी पूँजी बजारका विभिन्न सेवा, सुविधा, औजार तथा कार्यक्रमहरू सञ्चालनमा ल्याई त्यसबाट आफूले पनि लाभ लिन र सहभागीलाई पनि अधिकभन्दा अधिक लाभ दिन सक्नुपर्छ । नागरिक लगानी कोषसँग आबद्ध गुरागाँईका यी विचार निजी हुन् ।

मुद्दती निक्षेपमा आकर्षण

बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा बढेको छ । बैंकहरूले निक्षेप बढाउनका लागि सर्वसाधारण आकर्षित गर्न मुद्दती योजनामा केन्द्रीत गरेपछि साधारण बचतको हिस्सा घटेर मुद्दती निक्षेपको हिस्सा वृद्धि भएको छ ।