सामूहिक लगानी कोषप्रतिको आकर्षण

सामूहिक लगानी कोष एक प्रकारको लगानीको औजार हो, जसले बजारमा एकाइ जारी गरी लगानीकर्ताबाट रकम संकलन गर्ने र शेयर डिवेन्चर ऋणपत्र, मुद्दती निक्षेप वा अन्य लगानीका औजारमा पोर्टफोलियो मिलाई लगानी गर्ने गर्छ । सामूहिक लगानी कोषको पोर्टफोलियो संरचनागत हुन्छ र विवरणपत्रमा उल्लिखित उद्देश्यअनुरूप लगानी गर्छ । धितोपत्र बजार बियरिसमा गएको अवस्थामा कतिपय कम्पनीहरूको धितोपत्र निष्कासन तथा प्रत्याभूतिको कार्य गर्न अन्य मर्चेन्ट बैंकरहरूले नमानेको अवस्थामा समेत कोषले जोखिम लिएरै भए पनि ती कम्पनीलाई पूँजीबजारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । सामूहिक लगानी कोषको शुरुआत एनसीएम म्युच्युअल फन्ड २०५० बाट भएको पाइन्छ । यो रू. १० करोड बराबरको १० वर्ष म्याद अवधि भएको कोष थियो । त्यसपछि, नागरिक लगानी कोष व्यवस्थापक भई नागरिक एकांक योजना २०५२ एकाइ योजना आएको थियो । यो योजना नागरिक एकाङ्क योजना सञ्चालन कार्यविधि, २०५२ अनुसार हालसम्म सञ्चालन भइरहेको छ । सामूहिक लगानी कोष नियमावली, २०६७ आउनुभन्दा करीब १५ वर्ष पहिलेदेखि नै यो सञ्चालनमा आएको हो । नागरिक एकाङ्क योजना सञ्चालन कार्यविधि, २०५२ नागरिक लगानी कोष ऐन २०४७ ले दिएको अधिकार प्रयोग गरी सञ्चालन गरिएको छ । यो एकाइ योजनामा पूँजी र अवधि दुवै निश्चित छैन । कोष व्यवस्थापक (नागरिक लागनी कोष) मार्फत मात्र किनबेच हुने गर्छ । कसैले एकाइमा लगानी गर्न चाहेमा कोषबाट खरीद गर्न सक्छ भने विक्री गर्न चाहेमा कोषले खरीद गरिदिने व्यवस्था रहेको छ । यो योजनालाई अन्य सामूहिक लगानी कोषजस्तो धितोपत्र बजारमा सूचीकृत गरिएको छैन । यस एकांक योजनामा रू. १००० सम्म लगानी गर्ने लगानीकर्तालाई आय करमा छूट दिइएको छ । चालू आवको पहिलो त्रैमासमा करीब १५०० एकाइ धनीमार्फत रू. १ अर्ब ६० करोड बराबरको रकम संकलन भएको छ । यस योजनामार्फत वार्षिक करीब २ अर्ब ५० करोड बराबरको कारोबार हुने गरेको पाइन्छ । यस योजनाका एकाइधनीले योजना सञ्चालक (कोष) ले तोकेको प्रतिफल (ब्याज) पाउने व्यवस्था छ । धितोपत्र कारोबारमा अन्य सामूहिक लगानी कोषले पाउने सुविधा यस योजनाले समेत प्राप्त गरेको छ । धेरै मात्रामा सामूहिक लगानी कोषहरू सञ्चालनमा आउन थालेको सामूहिक लगानी कोष नियमावली, २०६७ आएपछि हो । सामूहिक लगानी कोषहरू यसका विशेषताअनुसार विभिन्न प्रकारका हुन्छन् । निश्चित पूँजी र अवधि भई कोष व्यवस्थापकमार्फत मात्र किनबेच हुने बन्दमुखी सामूहिक लगानी कोष हो भने पूँजी र अवधि दुवै अनिश्चित भएको तर कोष व्यवस्थापकमार्फत मात्र किनबेच हुने खालको खुलामुखी सामूहिक लगानी कोष हो । पूँजी र अवधि दुवै निश्चित नभएका ट्रस्ट करारबमोजिम सञ्चालन हुने कोष एकाइ योजना हुन् । धेरैजसो सामूहिक लगानी कोषहरू धितोपत्र बजारमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने गरेको पाइन्छ भने कतिपय सूचीकृत नभई पनि कोष व्यवस्थापकमार्फत किनबेच हुने गरेको छ । नेपालमा हाल आएर सामूहिक लगानी कोषको आकार, प्रकार र क्षेत्र बढिरहेको पाइन्छ । यसप्रति आम लगानीकर्ताको आकर्षण पनि बढिरहेको छ । पछिल्लोपटक सार्वजनिक निष्कासन भएका मेगा म्युचुअल फन्ड १ र नबिल ब्यालेन्स फन्ड ३ मा लगानीकर्ताको जुन आकर्षण देखियो त्यसले सामूहिक लगानी कोषप्रति आकर्षण बढेको देखाउँछ । नागरिक एकांक योजना, २०५२ एकाइ योजनाका रूपमा हालसम्म सञ्चालनमा रहेको एक सामूहिक लगानी कोष हो । नागरिक लगानी कोष ऐन, २०४७ को प्रस्तावनामा नै देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशीलता ल्याउन नागरिक लगानी कोषको स्थापना भएको उल्लेख गरिएको छ । ऐनले निर्दिष्ट गरेको कोषको लक्ष्यहरू मध्येको एक लक्ष्य हो ः पूँजी बजारको विकास तथा विस्तारमा गतिशीलता ल्याउनु । लागरिक लगानी कोषलाई सर्वसाधारण मानिसले स्वैच्छिक अबकाश कोष सञ्चालकका रूपमा चिने तापनि कोषले स्थापना कालदेखि नै मर्चेन्ट बैंकरका रूपमा कार्य गर्दै आएको छ । कोषले पूँजी बजारसम्बन्धी परामर्शकर्ता, धितोपत्र निष्कासनकर्ता, प्रत्याभूतिकर्ता र शेयर रजिस्ट्रारका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । हाल धितोपत्र बजारमा सूचीकृत भई कारोबार भइरहेका पुराना कम्पनीदेखि लिएर भर्खरै सूचीकृत भएका कम्पनीसम्मको पूँजी बजारसम्बन्धी कार्यमा कोषको कुनै न कुनै रूपमा भूमिका रहेको छ । यदि नागरिक लगानी कोषले पूँजी बजारसम्बन्धी कार्य नगर्ने हो भने ठूलो पूँजी चाहिने कम्पनीको ठूलाठूला धितोपत्र निष्कासन हुन मुश्किल हुने अवस्था छ । खासगरी ठूलो पूँजीको निष्कासनमा प्रत्याभूतिकर्ताको कमी हुन सक्छ । त्यस्ता ठूला कम्पनीहरू पूँजी बजारमा आउनबाटै वञ्चित हुने अवस्था पनि नआउला भन्न सकिँदैन । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को एक व्यवस्थाबमोजिम धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको तीन गुणासम्म मात्र प्रत्याभूति (अन्डरराइटिङ) गर्न सक्ने व्यवस्था रहेको छ । कुनै प्रत्याभूतिकर्ता (अन्डरराइटर) को नेटवर्थ ५० करोडको मात्र रहेछ भने उसले डेढ अर्बभन्दा बढीको धितोपत्र निष्कासनको प्रत्याभूति गर्न सक्दैन । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को अर्को एक व्यवस्थाअनुसार मर्चेन्ट बैंकिङ व्यवसाय गर्न न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ भए पुग्छ । तर, कोषको नेटवर्थ धेरै नै ठूलो भएको कारण यस्तो समस्या हुँदैन । हाल धितोपत्र बजारमा रहेका ठूला पूँजी भएका कम्पनीहरू निफ्रा र माथिल्लो तामाकोशीजस्ता ठूला कम्पनीको धितोपत्र निष्कासनको प्रत्याभूति नागरिक लगानी कोषबाहेक अरूले गर्न सक्ने अवस्था थिएन । धितोपत्र बजार बियरिसमा गएको अवस्थामा कतिपय कम्पनीको धितोपत्र निष्कासन तथा प्रत्याभूतिको कार्य गर्न अन्य मर्चेन्ट बैंकरहरूले नमानेको अवस्थामा समेत कोषले जोखिम लिएरै भए पनि ती कम्पनीलाई पूँजी बजारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोषले पूँजी बजारभन्दा बाहिर रहेका हरेक खालका कम्पनीहरूलाई आर्थिक विकास र औद्योगिकीकरणका लागि आवश्यक पर्ने पूँजी जुटाउन परामर्श दिने र प्रेरित गर्ने गरेको छ । सबै क्षेत्रका उद्योग र उद्योगीलाई पूँजी उपलब्ध गराउन मद्दत गरेर कोषले उत्पादकत्व बढाउन पूँजी बजारमा ठूलो भूमिका निर्वाह गरेको छ । दोस्रो बजारमा गतिशीलता ल्याउन कोषले नागरिक स्टक डिलर कम्पनी स्थापना गरी सञ्चालनमा ल्याएको छ । यसले धितोपत्रको किनबेच गरी पूँजी बजारको विकास र विस्तारमा गतिशीलता ल्याउन मुख्य भूमिका निर्वाह गर्छ । यसैगरी यसले पूँजी बजार सेवाका उपकरणहरू/औजारहरू प्रभावकारी ढंगले प्रयोग गर्ने उद्देश्य लिएको छ । कोष आफैले पनि पहिलो तथा दोस्रो बजारमा धितोपत्रको कारोबार गर्ने गर्छ । कोषले सामूहिक लगानी कोष सञ्चालनको निकै लामो कार्य अनुभवलाई बिस्तार गर्दै थप नयाँ सामूहिक लगानी कोष सञ्चालनमा ल्याई पूँजी बजारमा थप गतिशीलता ल्याउनुका साथै आम मानिसलाई लगानीको अवसर प्रदान गर्नुपर्छ । पूँजीबजारको विकास तथा विस्तारमा कोषको लामो अनुभव तथा इतिहास रहेको छ । यसलाई समयसापेक्ष परिष्कृत गर्दै लगी पूँजी बजारमा लगानीका आधुनिक तौरतरीका तथा औजारहरूको प्रयोग गर्दै कोषले पूँजी बजारको विकास र विस्तारमा आफ्नो भूमिकालाई अझै बलियो बनाइराख्नुपर्छ । बजारमा रहेका निजीक्षेत्रबाट सञ्चालित मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका थुप्रै संस्था छन् र यिनका ग्राहक पनि उत्तिकै संख्यामा रहेको पाइन्छ । सरकारी स्वामित्वको लागरिक लगानी कोषलाई सर्वसाधारण मानिसले अझ बढी विश्वास र भरोसा गर्न सक्ने भएकाले त्यो अवसरलाई कोषले सदुपयोग गरी पूँजी बजारका विभिन्न सेवा, सुविधा, औजार तथा कार्यक्रमहरू सञ्चालनमा ल्याई त्यसबाट आफूले पनि लाभ लिन र सहभागीलाई पनि अधिकभन्दा अधिक लाभ दिन सक्नुपर्छ । नागरिक लगानी कोषसँग आबद्ध गुरागाँईका यी विचार निजी हुन् ।

सम्बन्धित सामग्री

कुमारी सुनौलो लगानी योजनाको इकाई ५६ प्रतिशत विक्यो

काठमाडौं । प्राथमिक बजारमा साधारण शेयर पहिलो दिनमै विकेको अवस्थामा अन्य धितोपत्र विक्न मुस्किल परेको अवस्था छ । साधारण शेयरमा मागभन्दा बढी आवेदन परेपछि छिटो अवधिसम्म मात्र विक्री खुला हुने गरेको छ । यसका अलवा अन्य धितोपत्रमा भने लगानीकर्ताको आकर्षण कम देखिएको हो । हाल धितोपत्र प्राथमिक बजारमा कुमारी सुनौलो योजनाको इकाई विक्रीमा रहेको छ । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने खुला मुखी प्रकृतिको यस योजनाको इकाई चैत ९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याइएको हो । छिटो अवधि चैत १३ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि चैत २३ गतेसम्म विक्री खुला गर्ने मिति क्यापिटलले तय गरेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार उक्त योजनको इकाई हालसम्म ५६ प्रतिशत मात्र विक्री भएको छ । यस योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्काशनमार्फत विक्री खुला गरिएको हो । यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाई छ ।  क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।  लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।  यस योजनाको कुल आकार रू. १ अर्बको रहनेछ । प्रारम्भिक आकार रू. ५० करोड रहेको यस योजनाको इकाई  न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख विक्री हुनुपर्ने व्यवस्था छ । ५० प्रतिशतभन्दा कम इकाईका लागि खरीद आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ । तर योजनाको इकाई ५० प्रतिशतभन्दा बढी विक्री भैसकेको छ । तोकिएको अवधिभित्र माग बमोजिम आवेदन पर्नेमा योजना व्यवस्थापक विश्वस्त रहेको छ ।  यस योजना व्यवस्थापक कुमारी क्यापिटलले दोस्रो वर्षदेखि इकाईधनीहरूलाई लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस योजनाबाट लगानीकर्ताले दोस्रो बर्ष पश्चात् ८ प्रतिशत, अनि तेस्रो र चौथो वर्षमा १० प्रतिशत तथा पाँच देखि १० वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभाशं प्रतिफल पाउने प्रक्षेपण गरिएको जानकारी दिएका छन् । उनले दश वर्षको अन्त्य सम्ममा योजनाको खुद सम्पत्ति मूल्य  २७ रूपैयाँ ८६ पैसा पुग्ने प्रक्षेपण गरिएको समेत बताए । क्यापिटलले गरेको प्रतिफल प्रक्षेपणलाई आधार मान्दा १० वर्षमा लाभाशं सहित कुल २९६ दशमलव ६२ प्रतिशत प्रतिफल हुन आउने भनाई शर्माको छ ।  म्युचुअल फण्डमा लगानी गर्दा अल्पकालमै लाभ लिन्छु भन्दा पनि दिर्घकालसम्म लगानी गरी उच्च प्रतिफल आर्जन गर्छु भन्ने उदेश्य लिनुपर्ने सुझाब शर्माले दिएका छन् । दिर्घकालका लागि गरिने म्युचुअल फण्डको लगानीले मिल्ने प्रतिफल अवश्य पनि मुद्दती निक्षेपमा पाउने ब्याजदर भन्दा बढीनै हुने दाबी उनको छ । बजार घट्दा जुन हिसाबले व्यक्तिगत लगानीकर्ताले आफ्नो पोर्टफोलियो गुमाएका छन् त्यसको तुलनामा म्युचुअल फण्डको इकाईमा लगानी गर्दा गुमाउने रेसियो निकै कम हुने हुदा म्युचुअल फण्डमा विकल्पको रुपमा लगानी गरी आफ्नो पोर्टफोलियोको केहि हिस्सा बनाउँदा राम्रो प्रतिफलका साथै आफ्नो लगानी सुरक्षित बनाउँन सकिने सुझाब उनले दिएका छन् ।  खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछैन । योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरिद बिक्री गर्न सकिनेछ । पहिलो चरणको निष्काशन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।

के हो म्युचुअल फण्ड ?

काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार शुक्रवारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ५५ लाख ३३ हजार नाघेको छ । एउटै कम्पनीको आईपीओमा २७ लाखभन्दा बढी आवेदन पर्ने गरेकोले पछिल्लो समय युवापुस्तालगायत आम जनमानसमा शेयर बजारप्रति बढेको रूचिलाई पुष्टि गर्छ । यसको विपरीत म्युचुअल फण्डले निष्कासन गर्ने इकाईका लागि समयमै पर्याप्त आवेदन नपरेको देखिन्छ । यसले धरैलाई म्युचुअल फण्डबारे जानकारी नभएको बुझ्न सकिन्छ । म्युचुअल फण्डको इकाई विक्री खुला हुँदा लगानीकर्ताहरूले ‘आईपीओ’ हो कि भनेर सामाजिक सञ्जालमा जिज्ञासा राखेको पनि पाइन्छ । के हो म्युचुअल फण्ड ? म्युचुअल फण्ड कम्पनीले खडा गरेको  कोष हो । यसलाई सामूहिक लगानी कोष पनि भनिन्छ । नेपालमा कम्पनीको आईपीओ केही अवस्था बाहेक प्रतिकित्ता रू. १०० मा पाइन्छ भने यस्ता फण्डको इकाई रू. १० मा पाइन्छ । इकाई पनि आईपीओ जसरी नै सार्वजनिक निष्कासनमा ल्याइन्छ । यस्ता फण्डमा लगानी गर्दा कम जोखिम हुन्छ तर तत्काल त्यति धेरै लाभ पनि हुँदैन । त्यसैले नयाँ  लगानीकर्ताको लागि दोश्रो बजार भन्दा म्युचुअल फण्डमा गरिएको लगानी बढी सुरक्षित मानिन्छ । कम जोखिम र मध्यम नाफा दिने योजनाका रूपमा म्युचुअल फण्डलाई लिन सकिन्छ  । यस्ता फण्डहरूले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्दछन् । धितोपत्र बोर्डको नियमावलीअनुसार योजनाले एक कम्पनीको साधारण शेयरमा कुल चुक्तापूँजीको १० प्रतिशतसम्म लगानी गर्न सक्छन् । तर कम्पनीको कुल साधारण शेयरमा योजनाको आकारको कम्तीमा २० प्रतिशत लगानी योजनाको अवधिभर कायम राख्नुपर्ने हुन्छ । त्यस्तै यस्ता योजनाले कुनै पनि कम्पनीले निष्कासन गरेको अग्राधिकार शेयर वा डिबेञ्चरमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन्  । मुद्दती निक्षेपमा लगानी गर्दा योजनाको खुद सम्पत्ति मूल्यको १५ प्रतिशतसम्म लगानी गर्न पाइन्छ । साथै म्युचुअल फण्डहरूले प्रचलित कानुनबमोजिम कुल रकमको २५ प्रतिशतसम्म विदेशी धितोपत्रमा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । बन्दमुखी र खुलामुखी गरी म्युचुअल फण्ड दुई किसिमका हुन्छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३१ ओटा बन्दमुखी योजना छन् । यस्तै छ ओटा खुलामुखी म्युचुअल फण्ड पनि  छन् । खुलामुखी योजनाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् । म्युचुअल फण्डको प्रमुख आधार भनेको यसको कुल सम्पत्ति मूल्य हो । यो सूचकले फण्डको सम्रग सम्पत्तिको मूल्याङ्कन गर्दछ । कुल सम्पत्ति मूल्यलाई योजनाको कुल इकाईले भाग गर्दा आउने अनुपातलाई प्रतिइकाई खुद सम्पति मूल्य  भनिन्छ । म्युचुअल फण्ड डिस्काउन्ट र प्रिमियम मूल्यमा पनि खरीद गर्न सकिन्छ । प्रतिइकाई  सम्पत्ति मूल्यभन्दा धेरै मूल्यमा इकाई खरीदविक्री भएमा त्यो प्रिमियममा भएको बुझिन्छ । त्यस्तै विपरीत प्रतिइकाई सम्पति मूल्यभन्दा थोरै मूल्यमा इकाई खरीदविक्री गरियो भने त्यो डिस्काउन्ट मूल्यमा खरीद भएको बुझिन्छ । डिस्काउन्ट मूल्यमा खरीद गर्दा लगानीकर्तालाई केही सुरक्षित अनुभूति हुन सक्छ । बन्दमुखी योजना सर्वसाधारणमा इकाई निष्कासन गर्दा नै उक्त फण्ड कति समयका लागि सञ्चालन हुने भन्ने तोकिएको हुन्छ । सर्वसाधारणमा प्रतिइकाई रू. १० दरले इकाई निष्कासन हुन्छ । सर्वसाधारणमा इकाई निष्कासन भएपछि दोस्रो बजारमा कारोबारका लागि फण्डका इकाईहरू सूचीकरण गराइन्छ । यस प्रकारको फण्डमा साधारणतया पाँच वर्षदेखि १५ वर्षको अवधि तोकिएको हुन्छ । खुलामुखी योजना विभिन्न प्रकारका सामूहिक लगानी कोष योजनाहरूमध्ये खुलामुखी योजना पनि एक हो । यस्ता प्रकारका योजनाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् । तर इकाईहरू दैनिक रूपमा निर्धारण हुने प्रतिइकाई खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले आफूले चाहेको समयमा इकाईहरू योजना व्यवस्थापक वा तोकिएको वितरकमार्फत सजिलै रूपमा खरीदविक्री गर्न सक्ने व्यवस्था रहेको हुन्छ  । यस्ता योजनाहरूको आकार थपघट भइरहने हुन्छ । जस्तो लगानीकर्ताहरूले इकाईहरू खरीद गरेमा योजनाको आकार बढेर ठूलो हुँदै जान्छ भने विक्री गरेमा योजनाको आकार घटेर सानो हुँदै जान्छ । यस्तो योजना निश्चित समयमा परिपक्व नभई निरन्तर सञ्चालनमा भइरहन्छ । नेपालको पहिलो खुलामुखी योजना एनआईबिएल एस म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड हो ।

थप ६ वटा संस्थाले पाए प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स

नेपाल धितोपत्र बोर्डले थप ६ वटा संस्थालाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स प्रदान गरेको छ ।  बोर्डले ६ वटा मर्चेन्ट बैंकर्सहरुलाई  प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स दिएको हो ।बोर्डले एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल , एनआईसी एसिया क्यापिटल , प्रभु क्यापिटल , नबिल इन्भेष्टमेन्ट बैंकिङ , र एनआईबीएल एस क्यापिटललाई लाईसेन्स दिएको हो  । उनीहरुले आवश्यक पूर्वाधार गरेपछि बोर्डले अनुगमन गरि लाईसेन्स प्रदान गरेको जनाएको छ । बोर्डले आध्यान्त फण्ड लिमिटेडलाई पनि आवश्यक पूर्वाधार तयार गर्न पत्राचार गरेको र सो को अनुगमन गरेपछि लाईसेन्स दिने जनाएको छ । बोर्डले यस अघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स प्रदान गरिसकेको छ ।  बोर्डले  विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरिसकेको छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ मा विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा बोर्डले अनुमतिपत्र दिने ब्यबस्था छ । सोहि अनुसार बोर्डले लाईसेन्स दिन थालेको हो ।  नेपालको पूँजी बजारमा हाल शेयर , डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बोर्डको विश्वास छ ।

४ वटा बैंकको लगानी रहेको अवसर इक्विटी फण्डले पायो भेञ्चर क्यापिटलको लाईसेन्स

नेपाल धितोपत्र बोर्डले अवसर इक्विटी फण्डलाई भेञ्चर क्यापिटलको अनुमतिपत्र प्रदान गरेको छ ।  बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम अवसर इक्विटी फण्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अवसर इक्विटी फण्डमा सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी र नेपाल बैंकको समेत लगानी छ । बोर्डले यस अघि  ग्लोबल इक्विटी फण्डलाई भेन्चर क्यापिटलको लाईसेन्स दिएको थियो ।  विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम बोर्डले लाईसेन्स दिएको हो । त्यस्तै बोर्डले अन्य ७ वटा संस्थालाई पनि पूर्वाधार तयार पार्न भनेको छ । बोर्डले मर्चेन्ट बैंकरतर्फ एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, र एनआईबीएल एस क्यापिटल लिमिटेड, तथा म्युचुअल फण्डतर्फ आध्यान्त फण्ड लिमिटेडलाई आवश्यक पूर्वाधार तयार गर्न पत्राचार गरेको हो । उनीहरुले आवश्यक पूर्वाधार गरेपछि बोर्डले अनुगमन गरि लाईसेन्स प्रदान गर्ने छ   ।विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ मा विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा बोर्डले अनुमतिपत्र दिने ब्यबस्था छ । सोहि अनुसार बोर्डले लाईसेन्स दिन थालेको हो ।  नेपालको पूँजी बजारमा हाल शेयर , डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बोर्डको विश्वास छ ।

म्युचुअल फन्डलाई फलिफाप आर्थिक वर्ष

आर्थिक वर्ष २०७७-७८ मा धितोपत्र बजार पुँजीकरण १२३.७० र इन्डेक्स १११.६५ प्रतिशतले बढ्दै गर्दा धितोपत्रको मूल्य र नयाँ धितोपत्र निष्कासनसँगसँगै सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को आकर्षण, सक्रियता, मुनाफा र खुद सम्पत्ति (नेट एसेट्स भ्यालु–न्याभ) पनि उल्लेख्य बढे । वर्षौं घाटाका फन्ड नाफामा गएर उल्लेख्य लाभांश क्षमता बनाए । म्युचुअल फन्ड भनेपछि नाक खुम्च्याउने लगानीकर्ता […]