२८ किलोमिटर हिँडेर युक्रेनको सीमा पुगेका नवलपरासीका रमेश मगरले ३५ घण्टा बस्दा पनि पोल्यान्ड छिर्न पाएका छैनन् । उनी अझै करिब ५ हजार जनाभन्दा पछाडि नै छुटेका छन् । ‘पोल्यान्डको सिफातर्फ प्रवेश पाएको छैन । युक्रेनकै चेकपोस्टमा बढी लाइन लागेको छ । रातभरजसो हिउँ परिरहेको छ । हामी कठ्यांग्रिएका छौं,’ उनले टेलिफोनमा भने, ‘वरिपरि बस्न न्यानो ठाउँ छैन । मेरो खुट्टा सुन्निएको छ ।’