वैशाख ७, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात कारोबार गर्न सकिने गरी उक्त बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले १३ प्रतिशत बोनस शेयर बापतको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता शेयर चैत ३१ गते नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको थियो । गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सम्बन्धित हितग्राही खातामै शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।
उक्त मिति पश्चात शेयर अभौतिकीकरण गराएकाको हकमा पनि क्रमश: जम्मा गरिदै जाने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ । २०७६ साल असोज २७ गतेपश्चात शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले भने १३ प्रतिशत बोनस शेयरमा लाग्ने कर भुक्तानी गर्नुपर्ने भएकाले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर जम्मा गरिने समेत कम्पनीको भनाइ छ ।
कर बापतको रकम शेयरधनीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल शाइन बोनस ट्याक्स आर्थिक वर्ष २०७६/७७ नाममा रहेको खाता नम्बर ०३६०१०४०२६५५७७ मा जम्मा गर्नु पर्नेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।