पर्यटन क्षेत्रको विकासका लागि निजीक्षेत्रको भूमिका रहेको छ । सरकारले केही ठूला पूर्वाधार बनाउनेबाहेक अन्य काम गरेको पनि छैन र गर्ने पनि होइन । व्यवसाय सञ्चालन गर्ने काम व्यवसायीको हो । व्यवसायीहरू आआफ्नो व्यवसायमा केन्द्रित भएका हुन्छन् तापनि आफ्नो व्यवसायमा देखापरेका समस्याको समाधान गर्न, व्यवसाय विस्तारका लागि एकीकृत धारणा बनाउन, सरकारलाई आवश्यक सुझाव दिन, आआफ्नो व्यवसायमा रहेका समस्याहरूबारे सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउन व्यवसायीहरू संगठित हुन आवश्यक छ । त्यही भएर नेपालको पर्यटन क्षेत्रमा संलग्न विभिन्न संघसंस्था रहेका छन् । पर्यटनका विधागत संघसंगठनहरू रहे पनि सबैलाई समेट्ने गरी एउटै संस्था भने छैन ।
संगठनहरू व्यावसायिक हुन् । यसमा सदस्य पनि व्यावसायिक नै बन्नुपर्छ । कुन दलको निकट भन्ने आधारमा निर्वाचन हुँदा व्यवसायका समस्यालाई बुझेका र त्यसको समाधान गर्न सक्ने व्यक्तिहरू निर्वाचनमा पराजित हुने गरेको पाइन्छ ।
पर्यटनका अलगअलग क्षेत्र भए पनि ती एकआपसमा अन्तनिर्भर र अन्तरसम्बद्ध रहेका हुन्छन् । जस्तै नेपाल आउने पर्यटकलाई हवाईजहाजले ल्याउँछन् । त्यस सेवासँग सम्बद्ध व्यवसायीहरूको आफ्नै संगठन हुन्छ, तिनका सेवा र शुल्कआदि बारे तिनीहरूको चासो हुन्छ । नेपालमा निजीक्षेत्रले अन्तरराष्ट्रिय पर्यटक ल्याउन त्यति ठूलो भूमिका खेलेको छैन । सरकारी वायुसेवा निगम पनि विवाद र कमिशनको जालोमा फसेर निकम्मा बनेको छ । त्यसो हुँदा नेपालमा विदेशी पर्यटक ल्याएर त्यसको लाभ विदेशी कम्पनीले नै लगिरहेका छन् । आन्तरिक वायुसेवामा भने निजीक्षेत्रको बलियो उपस्थिति छ । निजीक्षेत्रले माउन्टेन फ्लाइटलगायत उडानबाट पर्यटकलाई सेवा दिइरहेका छन् । त्यस्तै काठमाडौं आएका पर्यटकलाई लुम्बिनी, पोखरा, नेपालगञ्जलगायत पर्यटकीय स्थलमा लैजाने काम पनि यिनीहरूले गरिरहेका छन् । यससँग सम्बन्धित व्यवसायीहरूको आफ्नै संगठन छ ।
त्यस्तै नेपाल आउने पर्यटक होटेलमा बसोवास गर्छन् । नेपालमा साना ठूलो गरी ८० हजारजति होटेल व्यवसायी रहेको अनुमान छ होमस्टेदेखि पाँचतारे होटेलसम्मले पर्यटकलाई सेवा दिइरहेका छन् । होटेल एशोसिएशन नेपाल (हान) पर्यटनसम्बद्ध पुरानो संगठन हो । यसमा ठूला होटेल व्यवसायीहरू सम्बद्ध छन् । त्यस्तै होटेल व्यवसायी महासंघ नेपाल पनि होटेल व्यवसायीहरूको संगठन हो ।
पर्यटकहरूलाई नेपाल ल्याउन सेवा दिनेहरूको संस्था नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) यस क्षेत्रको ठूलो र महŒवपूर्ण संगठन हो । यसमा हजारौं व्यवसायी आबद्ध छन् । त्यसैगरी निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पर्यटन तथा हवाई उड्डयन समिति पनि छ । वायु सेवाप्रदायकहरूको संगठन नेपाल वायुसेवा सञ्चालक संघ पनि यस्तै संगठन हो ।
पर्यटन क्षेत्रमा कार्यरत ट्रेकिङ एजेन्ट्स एशोसिएशन नेपाल (टान), नेपाल माउन्टेनरिङ एशोसिएशन, र्याफ्टिङ एशोसिएशन आदि संगठन पनि पर्यटन क्षेत्रमा सक्रिय संगठन हुन् । यसबाहेक नेपाल पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयमा दर्ता भएका सयौं संगठनहरू छन् । यीमध्ये कतिपय संगठन दर्तामा मात्रै रहेका पनि पाइन्छन् ।
यसरी पर्यटन क्षेत्रमा दर्जनौं संस्था सक्रिय रहेको पाइए पनि तिनले पर्यटनसम्बद्ध समस्याको बारेमा सम्बद्ध निकायसँग प्रभावकारी रूपमा आवाज उठाउन सकेको पाइँदैन । पर्यटन व्यवसायलाई माथि उकास्न यस क्षेत्रमा विद्यमान थुप्रै समस्याको निराकरण हुन जरुरी छ । प्रत्येक व्यवसायमा देखापरेका समस्या सरकारले सम्बोधन गर्नुपर्ने खालका छन् । उदाहरणका लागि पर्यटक बसले भोग्नुपरेको बसपार्कको अभावलाई नै लिन सकिन्छ । पर्यटक बसका लागि बसपार्कको माग गरिए पनि सरकारले यसको सुनुवाइ गरेको छैन । नेपाल भित्रिएका पर्यटकलाई एक पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलमा लैजान सेवासुविधायुक्त गुणस्तरीय पर्यटक बस चाहिन्छ । केही व्यवसायीले यसमा लगानी गरेका छन् । तर, बसपार्कको अभावमा यसलाई व्यवस्थित गर्न समस्या परेको छ ।
पर्यटन व्यवसायलाई चलायमान बनाउने काम टुर अपरेटरहरूको हो । यसको आधिकारिक सगठनहरूका नाट्टा र टान रहेका छन् । यिनीहरूले सरकारलाई बेलाबखतमा राम्रा सुझाव दिएका छन्, मागहरू राखेका छन् । केही माग पूरा भएका पनि छन् । तर, यी संगठनहरू राजनीतिक भ¥याङ चढ्ने थलोका रूपमा पनि उपयोग भइरहेका छन् । खासगरी यी संस्थामा हुने अधिवेशनमा दलीय आधारमा उम्मेदवार बन्ने र त्यसैअनुसार निर्वाचन हुने गरेको छ । यी संगठन व्यावसायिक हुन् । त्यसो हुँदा यसमा सदस्य बन्ने व्यक्तिहरू पनि व्यावसायिक नै बन्नुपर्छ । कुन दलको निकट भन्ने आधारमा निर्वाचन हुँदा व्यवसायका समस्यालाई बुझेका र त्यसको समाधान गर्न सक्ने व्यक्तिहरू निर्वाचनमा पराजित हुने गरेको पाइन्छ । व्यवसायलाई राजनीतिमा जोड्नुको बेफाइदा हो यो । त्यसैले यस्ता संगठनहरू विशुद्ध व्यावसायिक बन्नुपर्छ ।
हान, नाट्टा, टान, नाराजस्ता संघभित्र राजनीतिक विषयमालाई छिराउनु भनेको व्यवसायलाई भन्दा राजनीतिलाई बढी महŒव दिनु हो । यिनीहरूको निर्वाचनका बेलामा उम्मेदवारले संगठनलाई कस्तो बनाउँछु भन्ने प्रतिज्ञा गरेको छ, व्यवसायीहरूका समस्यालाई कसरी समाधान गर्छु भनेको छ तथा संगठनलाई कसरी बलियो बनाउँछु भनेको छ त्यसका आधारमा संगठनको नेतृत्व चयन गर्नुपर्छ ।
संगठन जति नै पुरानो र बलियो भए पनि त्यसको नेतृत्व बलियो र व्यावसायिक हितका बारेमा सोच्ने भएन भने त्यसको औचित्य सिद्ध हुँदैन । संगठनको नेतृत्वले व्यवसायका समस्यालाई राम्ररी चिनेको हुनुपर्छ र सामूहिक भलाइको लागि काम गर्ने खालको हुनुपर्छ । तर त्यस्तो हुन सकेको छैन । गुटउपगुट र खुट्टा तानातानले गर्दा व्यावसायिक संगठनहरू व्यवसायलाई मद्दत गर्ने गरी काम गर्न सकेका छैनन् वा तिनको भूमिका पर्याप्त रूपमा देख्न सकिएको छैन । यसमा तमाम व्यवसायीहरू सचेत हुनुपर्छ ।
कोरोनाका कारण सबैभन्दा बढी थलिएको व्यवसाय पर्यटन नै हो । तर, अन्य व्यवसायले पाएको जत्तिको राहत पनि पर्यटन व्यवसायले पाउन सकेन । पर्यटन पुनरुत्थानका प्याकेजहरू पनि सांगठनिक रूपमा पूरा गराउन सकिएको छैन । केही पनि नभएको होइन । तर, अन्य व्यवसायको दाँजोमा पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित भएर पनि राहतमा भने पछाडि नै परेको हो ।
अतः पर्यटन व्यवसायीहरूले आआफ्ना व्यावसायिक संगठनहरूलाई व्यवसायसँग सम्बद्ध समस्यामा मात्रै केन्द्रित गर्नु उपयुक्त हुन्छ । यसमा राजनीतिक वा क्षेत्रीय कुरा ल्याएर गुटउपगुट बनाउँदा समग्र व्यवसायलाई नै प्रभावित पारेको छ । त्यसैले व्यवसायलाई उकास्ने गरी संगठनलाई अघि बढाउन सबै सतर्क हुन जरुरी देखिन्छ ।
लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।