असोज ७, काठमाडौं । ठूलो डट कम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एन्ड जेन्डर इक्वालिटी (इमर्ज) ले उद्यमी उत्थान अनलाइन शपको शुरुआत गरेका छन् ।
गत सोमवारदेखि सो शप सञ्चालनमा आएको हो । यो शप उद्यमी उत्थान अभियानअन्तर्गत पर्ने ‘(घरेलु महिला उत्पादकसमेत) महिला नेतृत्वको व्यवसाय र उपभोक्ताहरुको उत्थानशीलतालाई बढावा’ शीर्षकको परियोजनाअन्तर्गत रहेको अनलाइन विक्री गतिविधिको हिस्सा हो ।
अमेरिकी सहयोग नियोग (युएसएड) को नेपाल–विपद् जोखिम उन्नत व्यवस्थापन परियोजनाको सहयोगमा अनलाइन शप सञ्चालन गर्न लागिएको हो ।
यो विपद् जोखिम न्यूनीकरण, विपद् जोखिमको पूर्व तयारी, प्रतिक्रिया र उत्थानसँग सम्बन्धित वस्तु तथा सामग्री विक्री वितरण गर्ने पसल हो । यहाँ विक्री गरिने सबै वस्तु औपचारिक र अनौपचारिक दुबै क्षेत्रका महिला तथा उद्यमी उत्पादकहरुले उत्पादन गर्छन् ।
ती सामग्रीहरुलाई आश्रय, स्वास्थ्य, सरसफाई, शिक्षा, खाद्य आदि श्रेणीमा राखिएको छ । ती सामग्रीहरुले अनपेक्षित अवस्थाको राम्रो तयारी गर्न सघाउनुको साथै र विपद्को समय र त्यसपछिको अवस्थामा दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति उपलब्ध गराउँछ । सो अनलाइन पसलमा कठिन समयमा सुस्वास्थ्यको हेरचाह गर्ने सामान पनि छन् ।