जेठ ३, काठमाडौं । गुल्मीको मुसिकोट र लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । गुल्मीमा मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएका हुन् ।
मेयरमा निर्वाचित एमालेका खरेलले ७ हजार ३९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए ।
७ हजार ११ मत ल्याएर श्रेष्ठले उपमेयर जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याए ।
त्यस्तै, लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा पनि नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् । अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अर्याल मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याए ।