शेयर भनेको त लगानीको अंश वा अंशियार बन्नु हो । दीर्घकालीन अवधि १ वर्षभन्दा बढीका लागि लेनदेन गरिने बजारलाई पूँजी बजार वा शेयरबजार भनिन्छ । प्राथमिक बजारमा कम्पनी वा संस्थाबाट प्रथमपटक निष्कासित शेयर, ऋण पत्र आदि पर्छन् भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भइसकेको शेयर किनेबच हुने गर्छ ।
शेयरबजारमा करीब ४१ लाखले शेयर खाता – डिम्याट खोलिसकेको अवस्था छ । शेयरसम्बन्धी जनचेतनाको स्तरलाई हेर्ने हो भने कुल जनसंख्याको करीब १० प्रतिशतलाई मात्र शेयर र यसको किनबेच, महŒवबारे थाहा होला भन्ने अनुमान गर्न सकिन्छ । डिम्याट, धितोपत्र दलाल, आस्बाजस्ता कुराहरूको पर्याप्त जानकारीविना शेयर कारोबार असम्भव छ ।
बजारमा तरलताको अभाव हुँदै गर्दा बैंकहरूले निक्षेपको ब्याज बढाउन थालेको अवस्थाले मात्र शेयरबजारलाई घटाउँछ भन्नुमा तथ्यगत आधार देखिँदैन । क्षमताभन्दा बढी ऋण लिएर, हल्लाको पछि लागेर अनि लगानी गर्न खोजिएको कम्पनीको लगानी गर्ने अवधिको वित्तीय विवरण, सञ्चालक समिति, व्यवस्थापन र गतवर्षहरूको वित्तीय विवरण एवं कम्पनीको रणनीति र शेयर घटबढको ट्रेन्डको सूक्ष्म अध्ययन नगरी शेयर खरीद गर्नु जुवा खेल्नुसरह हुनसक्छ । वित्तीय विवरण सही भए पनि गलत भए पनि यो वैध डकुमेन्ट भएकाले सबैले यसलाई अध्ययन गरेर मात्र सम्बद्ध कम्पनीको सकारात्मक र नकारात्मक सूचक थाहा पाउने हुँदा यो विकल्परहित कागजात हो ।
कमजोर सूचकांक भएको वित्तीय विवरण र कमजोर कम्पनीको शेयरमा सकारात्मक सर्किटसहित शेयर मूल्य बढेको छ तर सक्षम र सबल वित्तीय विवरण भएका वाणिज्य बैंकहरूको शेयर मूल्य स्थिर रहेको छ । तसर्थ यसलाई धेरैले लगामविनाको घोडा भन्ने गरेको सुनिन्छ । आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण हेर्दा लाभांश क्षमता ४ देखि ३० प्रतिशत भएको वाणिज्य बैंकको शेयर मूल्य न्यूनतम ३५० देखि अधिकतम १४५० छ भने १२ प्रतिशत लाभांश क्षमता भएको वित्त कम्पनी वा हाइड्रोको मूल्य १५०० माथि हुनुलाई मूल्यान्तरको खेल कसरी नभन्ने तसर्थ नेपालको शेयरबजार नियमनकारी निकायको नियन्त्रणमा नभई केही ठूला लगानीकर्ताको नियन्त्रणमा रहेको आरोप लगाइन्छ । नियामक निकाय धितोपत्र बोर्डले प्रविधिको विकासबाहेक अन्य पक्षमा नियमन गर्न चुकेको छ ।
बेलाबेलामा आउने बजार मूल्य करेक्शनले शेयरबजारलाई थप बलियो बनाउँछ । बजार हल्ला, मिडियाको अपुष्ट समाचार, ओहोदावाला व्यक्तिको अनियन्त्रित शब्द प्रहारले शेयरबजारलाई उत्तेजित बनाई घटाउन र बढाउन मद्दत पुर्याउँछ । शेयरबजारमा प्रवेश गर्दा जोखिम वहन गर्ने क्षमताको विकास गर्दै ट्रेडरभन्दा इन्भेस्टर हुँ भन्ने भावना लिनुपर्छ । कम्पनी बुझेर लगानी गर्ने कार्य भएको छ भने आत्तिनु पर्दैन । कुनै कम्पनीको शेयर घटे पनि केही समयमा बढ्छ । बोनसबाट पनि लगानी डुब्दैन भन्ने भरोसा राख्नुपर्छ । शेयरसम्बन्धी साक्षरताका लागि वित्तीय विवरणको अलावा विभिन्न मिडिया, फेसबुक र मेसेन्जरको समेत राम्रो अध्ययन गर्नु जरुरी छ, यसमा विभिन्न विज्ञद्वारा शेयरसम्बन्धी चेतना जगाउने शिक्षाप्रद कुराहरू उल्लेख गरिएको हुन्छ । तर, सामाजिक मिडियामा गरिएको पोस्ट नै आधारमा शेयर किनबेचको निर्णय गर्नु राम्रो होइन ।
शेयरकर्जाको सीमा कति भयो ? मार्जिन दर कति छ ? विद्युत् नियमन आयोगले के भन्यो ? हकप्रद निस्कासन हुन्छ हुँदैन ? धितोपत्र बोर्डले कुन कम्पनीलाई के ग¥यो ? सम्बद्ध मन्त्रीबाट के वक्तव्य आयो ? राष्ट्र बैंकको एकीकृत निर्देशनले के भन्यो ? यस्ता कुरामा लगानीकर्ताको ध्यान केन्द्रित भएको देखिन्छ । यी सबै कुरा लगानीकर्ताले अध्ययन गर्नुपर्छ तर कम्पनीको व्यवस्थापन र वित्तीय विवरणको अध्ययन गरी लाभांश क्षमता तथा कम्पनीको कार्यसम्पादन र बजार ख्यातिलाई हेरेर लगानी गर्दा लगानी सुरक्षित हुन्छ । अन्तिम लेखापरीक्षण पछि मात्र यी तथ्या यकिन हुने भएकाले अपरिष्कृत वित्तीय विवरण र अनुमानको भरमा लगानीको निर्णय गर्नु घातक हुन्छ ।
नियमनकारी निकायलाई पनि जस पाउन कठिन छ । वर्तमान अर्थमन्त्रीको शेयरप्रति सकारात्मक बोली भए तापनि केही समयदेखि शेयरबजारलाई कडाइ गर्ने नीतिगत व्यवस्था हुनुले राष्ट्रिय पूँजी निर्माणभन्दा पूँजी पलायन हुन्छ भन्नेतर्फ सम्बद्ध निकाय बेलैमा सजग हुनु जरुरी देखिन्छ ।
धितोपत्र बजारको उपकरणहरूमा विविधीकरण गर्ने, शहरी क्षेत्र र सीमित क्रियाकलापमा केन्द्रीकृत हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने, कृषि घरेलु उद्योग तथा ग्रामीण अर्थतन्त्रमा लगानी गर्न प्रोत्साहित गर्ने, सेवाक्षेत्रमा बढेको शेयरको आकर्षणलाई कृषि तथा उत्पादनमुखी उद्योगतर्फ आकर्षण गर्ने, दीर्घकालीन कर्जा प्रवाह गर्न उत्प्रेरित गर्ने, सर्वसाधारणलाई वितरण गरिने शेयरको मात्रा बढाउने, बचतलाई उत्पादनशील कार्यमा लगाउन जोड दिने, सर्वसाधारणलाई अनुत्पादक खर्चमा कटौती गर्न प्रेरित गर्ने र राजनीतिक हस्तक्षेपलाई घटाउने कार्य गर्नुपर्छ । यसले पूँजीबजारको दिगो विकासमा मद्दत पुग्छ । साथै नेपाली ऋणपत्र बजारमा अधिकतम ऋणपत्र र शेयर उपलब्ध हुने वातावरण मिलाउने, शेयर विक्री प्रबन्ध देशव्यापी रूपमा बनाउने, पब्लिक लिमिटेड कम्पनीको रूपमा उद्योग व्यवसाय सञ्चालन गर्न नरुचाउने प्रवृत्तिलाई कम गर्ने, शेयरबजारमा सूचीकृत संख्या बढाउने, सूचीकृत कम्पनीहरूको पनि वासलात समयमै प्रकाशित गर्नुपर्ने र लगानीकर्तालाई यसप्रति सुसूचित गराउने गरी शेयर शिक्षा दिने कार्य प्राथमिकतामा पर्नुुपर्छ । सीमित व्यक्तिले धितोपत्र बजारमा शेयर मूल्यमा उथलपुथल गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ । पोर्टफोलियो लगानी शुरू गर्ने, नियामकहरू बीच समन्वयको विकास गर्ने, धितोपत्र बजारमाथि नियमित सुपरिवेक्षणलाई थप वृद्धि गर्ने कार्यले शेयरबजारलाई दिगो बनाउँछ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको एकल व्यक्तिगत सीमा एउटा बैंकबाट ४ करोड र बढीमा तीनओटा बैंकबाट १२ करोड तोकेको अवस्थामा शेयर दलालबाट मार्जिन ट्रेडिङको व्यवस्था गरिनुपर्छ । यसले नेपालको शेयरबजार सुदृढ र भरपर्दो हुने कुरामा कसैको दुईमत नहोला ।
लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।