नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, […]

सम्बन्धित सामग्री

नयाँ सात ब्रोकर कम्पनी धितोपत्र बजारमा प्रवेश

काठमाडौं। धितोपत्र बजारमा बिहीवार (असार २८) देखि नयाँ सात ब्रोकर कम्पनीले कारोबार शुरू गरेका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स बाँड्न प्रक्रिया शुरू गरेको ९ महीनापछि थपिएका ब्रोकर कम्पनीमध्ये ७ ले कारोबार थालेका हुन् ।  बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न २०७९ असोज २ देखि ३१ गतेसम्म आवेदन संकलन गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि करीब ६ महीना प्रक्रिया रोकिएको थियो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सदस्यता पाएका भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडले औपचारिक रूपमा कारोबार शुरू गरेका हुन् ।  नेप्सेले भोले गणेशलाई ६१, क्यापिटल म्याक्सलाई ६२, हिमालयन ब्रोकरेजलाई ६३, सन सेक्युरिटिजलाई ६४, शेयरप्रो सेक्युरिटिजलाई ६५, मियो सेक्युरिटिजलाई ६६ र प्रोपर्टी विजार्डलाई ६७ ब्रोकर संकेत नम्बर प्रदान गरेको छ । सोही नम्बरका आधारमा यी कम्पनीहरूले सेवा शुरू गरेका हुन् । लाइभ कारोबारमा जानुअघि यी कम्पनीले परीक्षण कारोबार गरेका थिए ।  परीक्षण कारोबारमा सफल भई नियमित कारोबारमा सहभागी भएको सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले जानकारी दिए । उनका अनुसार पहिलो दिन सातओटै ब्रोकर कम्पनीले थोरै मात्रामा धितोपत्र कारोबार गरेका छन् । नयाँ प्रविधि, नयाँ राफसाफ प्रणालीमा अभ्यस्त हुँदै विस्तारै कारोबार बढाउँदै जाने गिरीको भनाइ छ ।  आफूहरूको योजनाबमोजिम असारभित्रै कारोबार शुरू गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै गिरीले यसका लागि भूमिका खेल्ने नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई धन्यवाद ज्ञापन गरे । नयाँ कम्पनीहरूलाई यतिबेला नयाँ अवसरसँगै चुनौतीसमेत रहेको भन्दै उनले यो अवस्थामा लगानीकर्ताको सहयोग र साथको अपेक्षा गरेको बताए । नेपाल धितोपत्र बोर्डले पहिलो चरणमा जेठ ८ गते यी कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । नेप्सेले असार २० गते यी कम्पनीलाई सदस्यता दिएको थियो ।  धितोपत्र बोर्डबाट हालसम्म १८ नयाँ कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका छन् । २५ नयाँ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । ब्रोकर लाइसेन्स पाउने १८ कम्पनीमध्ये एउटा पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा छ । बाँकी १० ले नेप्सेको सदस्यताका लागि आशयपत्र पाइसकेका छन् ।  नयाँ ब्रोकर कम्पनीहरूबाट पहिलो दिन २१० कित्ता धितोपत्र खरीद भएको छ । नेप्सेको तथ्यांकअनुसार नयाँ सात ब्रोकर कम्पनीबाट १ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको २१० कित्ता धितोपत्र खरीद भएको हो । ब्रोकर नम्बर ६५, शेयर प्रो सेक्युरिटिजबाट सबैभन्दा बढी ५४ हजार १० रुपैयाँ बराबरको ११० कित्ता धितोपत्र खरीद भएको छ ।

सात कम्पनीले पाए  ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।  जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमश: निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले स्पष्ट पारेका छन् ।  सात कम्पनी सबैले चुक्ता पूँजीका आधारमा सीमित कार्य गर्ने अनुमति पाएका हुन् । मंगलवार एक कार्यक्रम गरी बोर्डका अध्यक्ष रमेशकुमार हमालले ती कम्पनीलाई लाइसेन्सको प्रमाणपत्र वितरण गरेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर किनबेचसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।  गत असोज २ गतेदेखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्दा ४६ कम्पनीले दिएका थिए । ४६ मध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीका लागि थियो । तीमध्ये एक कम्पनीको योग्यता नपुगेको, एक कम्पनी खारेज भइसकेको र एक कम्पनीले आवेदन फिर्ता लिएको बोर्डले जानकारी दिएको छ । बोर्डले सीमित कार्य गर्ने गरी अनुमति माग गरेको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको बताएको छ । त्यस्तै सीमित कार्य गर्ने गरी आवेदन दिएको एनआईसी एशिया सेक्युरिटिज कम्पनी नै खारेज भएको र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । यस आधारमा बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य संस्था रहेको बताएको छ ।  पूँजीका हिसाबमा बलिया कम्पनीलाई बजारमा प्रवेश गराउने बोर्डको प्रयासले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाएका कम्पनीहरूले चालू आर्थिक वर्षभित्रै सेवा शुरू गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब नेपाल स्टक एक्सचेन्जसँग सदस्यता लिएर यसै आवभित्र सेवा शुरू गर्ने जानकारी दिए । उनले नेप्सेकै विद्युतीय कारोबार प्रणाली प्रयोग गर्ने भएकाले नेप्सेले छोटो समयमै कारोबार गर्ने वातावरण बनाइदिए जेठभित्रै सेवा शुरू गर्न सकिने बताए । सीमित कार्य गर्ने ब्रोकरको रूपमा लाइसेन्स पाएकाले सोही बमोजिम लगानीकर्तालाई प्रभावकारी एवं गुणस्तरीय सेवा दिने गिरीको भनाइ छ ।

नयाँ ब्रोकर लाइसेन्स रोक्ने पुराना ब्रोकरहरूको मागप्रति बोर्डको आक्रोश

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्टक ब्रोकर एशोसिएशन अफ नेपालले नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया रोक्न गरेको मागप्रति खेद प्रकट गरेको छ । बोर्डले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै कानूनी रूपमा नै समयसीमा तोकी, जवाफदेही पद्धतिको माध्यमबाट पारदर्शी प्रक्रियाबाट मापदण्ड पूरा गरेका सबैलाई समान अवसर प्रदान गर्ने गरी वितरण गर्न लागेको ब्रोकर लाइसेन्स रोक्न माग गरेकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।  केही संस्थाहरूले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैं सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरू लगाइएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यावसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रित स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्‍याउन भएको प्रयासप्रति बोर्डले खेद व्यक्त गरेको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौं संशोधन गत भदौ २९ गते स्वीकृत भई धितोपत्र दलाल व्यवसायीको खुला प्रवेशको नीतिगत व्यवस्था गरेको बोर्डले प्रष्ट पारेको छ ।  अन्तरराष्ट्रिय अभ्यासअनुरूप संस्थाको पूँजी, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता तथा सूचना प्रविधिलाई अनुमतिपत्र प्रदान गर्ने प्रमुख मापदण्डहरू मानी नियमावलीको व्यवस्थाबमोजिम बोर्डले गत असोज २ गते धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन दिने सम्बन्धमा ३० दिने सार्वजनिक सूचना प्रकाशित गरी निवेदन माग गरेको विज्ञप्तिमा उल्लेख छ ।  नयाँ ब्रोकर लाइसेन्सका लागि कुल ४६ ओटा आवेदन प्राप्त भएकोमा ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूणर् कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीको लागि आवेदन प्राप्त भएकोमा १४ आवेदन वित्तीय संस्थाको सहायक कम्पनीको रहेको जानकारी बोर्डले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।   धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि रीतपूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा यस नियमावलीबमोजिम पूरा गर्नुपर्ने शर्त पूरा भए नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र अनुमतिपत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निणर्य गर्नुपर्ने व्यवस्थाअनुरूप लाइसेन्स वितरण गर्न लागिएको बोर्डले प्रष्ट पारेको छ ।  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम अनुमतिपत्र जारी हुन सक्ने देखिँदा ४३ वटा निवेदक कम्पनीहरूलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४ बमोजिम आवश्यक पूर्वाधार तयार गर्न सूचित गरिएको समेत बोर्डको विज्ञप्तिमा उल्लेख छ । उल्लिखित व्यवस्थामार्फत १२ वटा ॅक’ वर्गका बैंकका सहायक कम्पनीहरू तथा ३१ अन्य संस्थाहरूलाई धितोपत्र दलाल तथा व्यापारीको रूपमा प्रवेश गराउने प्रक्रियाले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने बोर्डको विश्वास छ । लामो समयदेखि लगानीकर्ताबाट माग भई आएको धितोपत्र दलाल व्यवसायीको प्रवेशसम्बन्धी माग सम्बोधन भएको तथा धितोपत्र बजारमा प्रतिस्पर्धाका साथै रोजगारीको समेत सृजना भई अर्थतन्त्रमा समेत योगदान हुने बोर्डको अपेक्षा रहेको छ ।  बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यावसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रित स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्‍याउन भएको प्रयास भएकोमा बोर्डले दुःख व्यक्त गरेको छ । साथै लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि बोर्डले आगामी दिनहरूमा समेत खुला प्रगतिशील नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत बोर्डले व्यक्त गरेको छ ।

४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरूलाई आशयपत्र प्रदान गरेको छ । बोर्डमा एक पुरानो ब्रोकर कम्पनी सहित ४६ कम्पनीहरूले ब्रोकर लाइसेन्सका लागि आवेदन पेश गरेका थिए । तीन कम्पनीमध्ये एक कम्पनीको योग्यता नपुगेको र दुई कम्पनीले आवेदन फिर्ता गरेको जानकारी बोर्डले दिएको छ । बोर्डले आशयपत्र प्रदान गरेका यी कम्पनीहरूले आगामी ६ महिनाभित्र आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठको भनाई छ । आवश्यक पूर्वाधार तयार पछि बोर्डले आवश्यक निरिक्षण गर्ने र चित्त बुझेमा मात्र अन्तिम स्वीकृति प्रदान गर्ने श्रेष्ठले जानकारी दिए । हाल ५० ब्रोकर कम्पनीहरू सञ्चालनमा रहेका छन् । बोर्डले धितोपत्र बजारको विकास र विस्तारमा थप टेवा पुर्‍याउने उदेश्य स्वरुपमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । आशय पाएका सबै कम्पनीहरूले आगामी प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति पाएमा ब्रोकरको संख्या ९३ पुग्नेछ । आगामी तीन वर्षसम्म बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न पाउनेछैन् ।  पूर्ण प्रविधिमैत्री धितोपत्र दोस्रो बजारको विकास र विस्तारका लागि नयाँ ब्रोकर कम्पनीहरूले नयाँ प्रविधि र नयाँ सेवा सुविधा लगानीकर्तालाई प्रदान गर्नेमा प्रबक्ता श्रेष्ठ विश्वस्त रहेका छन् । ४३ कम्पनीमध्ये नबिल सेक्यूरिटिजले स्टक डिलरको सेवा प्रदान गर्नेछ । बोर्डले तीन किसिमको नयाँ ब्रोकर लाइसेन्स पूँजीको हिसाबमा वितरण गर्न लागेको हो । बोर्डले सिमित दायराको पहिलो तहको ब्रोकरका लागि रू. २० करोड , शेयर खरीविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ । पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रुपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी २०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ ।

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको कार्य अगाडी नबढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको छ। सर्वोच्चका न्यायधिश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको हो। साथै अदालतले निवेदकको माग बमोजिम आन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले हालको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका थिए ।धितोपत्र बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन दिने म्याद अझै केही दिन बाँकि रहेको छ भने ब्रोकर लाइसेन्सको लागि आवेदन दिने म्याद सकिएको छ। ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन् । स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि भने कार्तिक १५ गतेसम्म आवेदन दिन सकिने छ ।बोर्डले निजी लगानीको स्टकको लाइसेन्स दिनको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जसअनुसार नयाँ खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो ।

९ वर्षपछि नयाँ ब्रोकर लाइसेन्स खोल्ने गृहकार्यमा धितोपत्र बोर्ड

ब्रोकर छनोट गर्ने अधिकार बोर्डमै ल्याउने तयारी नेपाल धितोपत्र बोर्डले ९ वर्षपछि सेयर ब्रोकर थप्ने गृहकार्य