काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरूलाई आशयपत्र प्रदान गरेको छ । बोर्डमा एक पुरानो ब्रोकर कम्पनी सहित ४६ कम्पनीहरूले ब्रोकर लाइसेन्सका लागि आवेदन पेश गरेका थिए । तीन कम्पनीमध्ये एक कम्पनीको योग्यता नपुगेको र दुई कम्पनीले आवेदन फिर्ता गरेको जानकारी बोर्डले दिएको छ ।
बोर्डले आशयपत्र प्रदान गरेका यी कम्पनीहरूले आगामी ६ महिनाभित्र आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठको भनाई छ । आवश्यक पूर्वाधार तयार पछि बोर्डले आवश्यक निरिक्षण गर्ने र चित्त बुझेमा मात्र अन्तिम स्वीकृति प्रदान गर्ने श्रेष्ठले जानकारी दिए । हाल ५० ब्रोकर कम्पनीहरू सञ्चालनमा रहेका छन् । बोर्डले धितोपत्र बजारको विकास र विस्तारमा थप टेवा पुर्याउने उदेश्य स्वरुपमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । आशय पाएका सबै कम्पनीहरूले आगामी प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति पाएमा ब्रोकरको संख्या ९३ पुग्नेछ । आगामी तीन वर्षसम्म बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न पाउनेछैन् ।
पूर्ण प्रविधिमैत्री धितोपत्र दोस्रो बजारको विकास र विस्तारका लागि नयाँ ब्रोकर कम्पनीहरूले नयाँ प्रविधि र नयाँ सेवा सुविधा लगानीकर्तालाई प्रदान गर्नेमा प्रबक्ता श्रेष्ठ विश्वस्त रहेका छन् । ४३ कम्पनीमध्ये नबिल सेक्यूरिटिजले स्टक डिलरको सेवा प्रदान गर्नेछ । बोर्डले तीन किसिमको नयाँ ब्रोकर लाइसेन्स पूँजीको हिसाबमा वितरण गर्न लागेको हो ।
बोर्डले सिमित दायराको पहिलो तहको ब्रोकरका लागि रू. २० करोड , शेयर खरीविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ । पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रुपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी २०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ ।