काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप १३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको छ । वैशाख २० गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले दिएको जानकारीअनुसार थपिएका सबै कम्पनीलाई सीमित कार्य गर्ने गरी आशयपत्र प्रदान गरिएको हो ।
यसअघि बोर्डको वैशाख १८ गतेको सञ्चालक समितिको बैठकले १६ कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको थियो । थपिएकासहित २९ कम्पनीहरूलाई बोर्डले आशय पत्र प्रदान गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
पछिल्लो समय आशयपत्र प्राप्त गर्ने कम्पनीहरूमा सनराइज सेक्युरीटीज लिमिटेड, जे.बि.एन.एल सेक्युरीटीज लिमिटेड, शेयर प्रो सेक्युरिटिज प्राइभेट लिमिटेड, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टी विजार्ड लिमिटेड, क्यापिटल हब प्राइभेट लिमिटेड, मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लूचिप सेक्युरिटिज लिमिटेड, गरिमा सेक्युरिटज लिमिटेड, कलश स्टक मार्केट प्राइभेट लिमिटेड, मनी वर्ल्ड शेयर एक्सचेन्ज प्राइभेट लिमिटेड, शुभकामना सेक्युरिटिज प्राइभेट लिमिटेड र मियो सेक्युरिटिज प्राइभेट लिमिटेड रहेका छन् ।
नयाँ ब्रोकर लाइसेन्सका लागि एक पुरानो ब्रोकर कम्पनी सहित ४६ कम्पनीको आवेदन परेकोमा बाँकी कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया जारी रहने प्रवक्ता श्रेष्ठले प्रष्ट पारेका छन् ।
श्रेष्ठका अनुसार आशय पत्र पाएका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरेपछि मात्र पूर्ण रूपमा लाइसेन्स प्राप्त गर्नेछन् । धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधारको सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ । पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था प्रयाप्त देखिएमा बोर्डले अन्तिम अनुमति प्रदान गर्ने श्रेष्ठले जानकारी दिएका छन् ।
बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि गत असोज २ गतेदेखि ३१ गतेसम्म आवेदन संकलन गरेको थियो । हाल ५० ब्रोकर कम्पनी सञ्चालनमा रहे पनि बोर्डले धितोपत्र दोस्रो बजारको पहुँच विस्तारका लागि नयाँ ब्रोकर थप गर्न लागेको हो । आवश्यक प्रक्रिया पूरा गर्ने सबै कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने बोर्डको भनाइ छ ।
बोर्डले सीमित दायराको पहिलो तहको ब्रोकरका लागि रू. २० करोड , शेयर खरीदविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रूपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी २०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ । नयाँ ब्रोकर लाइसेन्स बोर्डले बजारको आवश्यकतालाई ध्यानमा राखी प्रत्येक तीन वर्षमा मात्र वितरण गर्न पाउने व्यवस्था छ ।