शान्ति हुने आशा, अमेरिकी ट्रेजरीको प्रतिफल बढ्दा सोमवार घट्यो विश्व बजारमा तेलको भाउ

न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । रुस र युक्रेनबीच युद्धबिरामका लागि भइरहेको वार्तामा सकारात्मक टिप्पणीहरुले लगानीकर्ताहरुलाई राहत दिएपछि तेलको भाउ सोमबार १०३ डलरसम्म आएको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउने अपेक्षामा अमेरिकी ट्रेजरीको प्रतिफल साढे २ वर्षकै उच्च बिन्दुमा उक्लिँदा पनि तेल बजारले टेवा पाएको हो ।  युद्ध अन्त्यसम्बन्धी वार्ताबारे आइतबार रुस र युक्रेनी अधिकारीहरुले अहिलेसम्मकै सकारात्मक अभिव्यक्ति दिएका थिए । केही दिनभित्रै मस्यौदा सम्झौतामा पुग्न सकिने वार्ताका केही  प्रतिनिधिहरुको भनाइ छ । वार्तामा सहमति हुने अपेक्षा सोमवार तेलको अन्तरराट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ ८ प्रतिशतसम्म घटेर २ हप्तायताकै न्यून स्तरमा आएको थियो ।   तर बजार बन्द हुँदासम्म कमी ६ दशमलव ८२ प्रतिशतमा सीमित भयो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्स इन्टरमिडियटको भाउमा पनि सोमबारको कारोबारमा ८ प्रतिशतसम्मको कमी आएको थियो । तर कारोबार बन्द हुँदा सम्म यो कमी घट्यो । रुस र युक्रेनबीचको नयाँ वार्ताको खबरको साथै चीनमा कोभिड नियन्त्रण गर्न ताजा लकडाउनको खबरले हप्ताको पहिलो दिनको कारोबारमा तेलको भाउ घटाएको विश्लेषकहरुले बताएका छन् । ओमिक्रोनको प्रकोप देखिएपछि उत्तरपूर्वी चीनको एउटा प्रान्तले लकडाउन लगाएको छ ।  लगानीकर्ताहरुले रुसमाथि लगाइएको प्रतिबन्धको  प्रभाव विस्तारै  पचाउन लागेकोले पनि तेलको भाउमा क्रमिक सुधारर आइरहेको वित्तीय सेवा प्रदायक कम्पनी सीएमसी मार्केट्सकी विश्लेषक टिना तेङ बताउँछिन् ।  यो हप्ता फेडले ब्याजदर बढाउने अपेक्षा गरिएको छ । ब्याजदर बढ्ने आशामा हालैका दिनमा डलरको भाउ बढेको छ । यसले पनि गैर डलरवाहकका लागि डलरमा किनबेच हुने तेल महँगो भएर माग घट्दा भाउमा कमी आएको विश्लेषण पनि छन् ।  रुस - युक्रेन बीच शान्तिको आशा बढ्दा मुद्रा डालोमा आबद्ध मुद्राको तुलनामा डलरको भाउ घटेको थियो । तर यो अझै पनि गत हप्ता कायम भएको २१ महीनाकै उच्च स्तर नजिक छ । सेफ हेभन एसेट सुनको भाउ घटेको थियो भने यूएस ट्रेजरीको प्रतिफल बढयो । एजेन्सी  

सम्बन्धित सामग्री

चीनको आर्थिक वृद्धिदर अनिश्चित बनेपछि घट्यो कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । चीनको अर्थतन्त्रबारे छाएको चिन्ताले प्रमुख तेल निर्यातकर्ता देशहरूले गरेको उत्पादन कटौतीको असरलाई उल्ट्याएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकामा तेल तथा ग्यास रिग्सको संख्या लगातार सातौं महीना पनि घटेको तथ्यांकले पनि तेलको भाउ घटेको हो ।  सोमबार बिहानी कारोबारदेखि तेल बजार दबाबमा रहँदा भाउ १ प्रतिशतसम्म घटेको थियो । यो समाचार तयार पार्दाखेरि भने भाउमा आएको कमी भरिएर तेलको दुवै बेञ्चमार्क हरियोमा आएका थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ४ बजे ब्रेन्टको भाउ ब्रेन्टको भाउ शून्य दशमलव १८ प्रतिशतले बढेर ७६ डलर ३९ सेन्टमा उक्लिएको थियो । यूएस क्रुडको भाउ पनि सोही समयमा शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७१ डलर ७१ सेन्टमा थियो । गएको हप्ता भने दुवै तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको थियो । अहिले चीनको अर्थतन्त्रलाई शक्तिशाली अवरोधले घेरिरहेको छ । घरजग्गा बजार गएको वर्षको कमीबाट उब्रिएको छैन । मेमा खुद्रा विक्री र औद्योगिक उत्पादन अपेक्षा गरिएभन्दा तल थियो ।  यस वर्षको चीनको आर्थिक वृद्धिको प्रक्षेपण कयौं ठूला बैंकले घटाइसकेका छन् । गएको हप्ता दुई पटक ब्याजदर घटाएको केन्द्रीय बैंकले मंगलवार अर्को कटौती गर्ने अपेक्षा व्यापक छ । सुस्ताइरहेको अर्थतन्त्रलाई टेवा दिन चीनले थप प्रोत्साहन ल्याउने स्रोतहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । तर, कर्जा र पूँजी पलायनसम्बन्धी चिन्ताका कारण प्रोत्साहन उपभोक्ता र निजी क्षेत्र लक्षित हुने अनुमान छ ।  जुन १६ मा सकिएको हप्तामा अमेरिकामा तेल तथा ग्यास रिग काउन्ट ६८७ रहेको छ । यो अघिल्लो हप्ताको भन्दा ८ कम हो । यो संख्या सन् २०२२ यताकै कम हो । रिग संख्यामा आएको कमीले भविष्यमा उत्पादन कम हुन्छ भन्ने देखाउँछ । इरानको बढ्दो तेल निर्यातले पनि मूल्यमा दबाब दिइरहेको छ । यो वर्ष इरानको कच्चा तेल निर्यात र उत्पादन दुवै कीर्तिमानी स्तरमा छन् । एजेन्सी

लगातार चौथो महीना पनि ओरालोमा कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ लगातार घटिरहेको छ । फेब्रुअरीमा पनि त्यो क्रम रोकिएको छैन ।  इन्भेस्टिङडटकमका अनुसार गत नाेभेम्बरमा प्रतिब्यारेल ८८ दशमलव ३७ डलर रहेकाे कच्चा तेलको भाउ साे महीनाको अन्त्यमा ८० दशमलव ५६ डलरमा झरेको थियो । त्यसको एक महीनापछि डिसेम्बरको अन्त्यमा कच्चा तेलको मूल्य भने झिनो अंकमा घटेर ८० दशमलव ४७ डलर कायम भएको थियो । जनवरीमा पनि भाउ घट्ने क्रम रोकिएन । जनवरीको अन्त्यमा यसको मूल्य ७८ दशमलव ८७ डलर कायम हुँदा फेब्रुअरीको अन्तिम दिन कच्चा तेलको भाउ प्रतिब्यारेल ७६ दशमलव ९० कायम भएको छ ।   लगानीकर्ता हतोत्साहित हुँदा कच्चा तेलको लगातार भाउ घटिरहेको छ । अमेरिकाले महँगी नियन्त्रण गर्न मौद्रिक नीति कसिलो बनाउँदा लगानीकर्ताहरू चिन्तामा छन् । सबैभन्दा धेरै कच्चा तेल आयातकर्ता चीनले कोभिडका कारण लगाएको सबै प्रतिबन्धहरू खारेज गरेपछि त्यहाँ तेलको माग बढ्ने आशा गरिएको भए पनि अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरले लगानीकर्ताहरू हतोत्साहित भएका हुन् । यसले गर्दा बजारमा दबाब देखिएको छ ।  मंगलवारको कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआइ)को भाउ प्रतिब्यारेल १ प्रतिशतले बढेर ७६ डलर ४६ सेन्टमा पुगेको थियो । आजको कारोबारमा भाउ बढेको भए पनि यो महीनाभर डब्ल्यूटीआई झन्डै ४ प्रतिशतले घट्ने क्रममा छ ।  मंगलवारको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ६७ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ८१ सेन्टमा पुगेको थियो ।  फेडले व्यापक ब्याजदर वृद्धि गर्दा पनि अमेरिकामा महँगी टसको मस नभएको तथ्यांकले ब्याजदर वृद्धि जारी रहने अनुमान बलियो हुँदा कच्चा तेलमाथि दबाब बढेको छ । डलरको भाउमा भएको वृद्धिले पनि डलरमा किनबेच हुने कमोडिटीलाई घाटा भइरहेको छ । अमेरिकामा कच्चा तेलको भन्डार बढिरहेको खबरले पनि तेलको भाउ घटेको छ । अहिले अमेरिकाको कच्चा तेल भन्डारण सन् २०२१ को मेयताकै उचाइमा उक्लिएको छ । चीनले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति खारेज गर्दै वर्षको अन्त्यतिर सीमा खुलाएको अनि तेलको माग बढ्ने संकेत देखिए पनि यसको भाउ यो वर्ष सुस्ताएको छ । यो वर्षको उत्तरार्द्धमा विश्वव्यापी तेलको माग कीर्तिमानी स्तरमा उक्लिन सक्ने एउटा अनुमान देखाएको छ । यो वर्षको अहिलेसम्म तेलको भाउ रातोमै रहेपछि बैंकहरूले तेलको मूल्य प्रक्षेपण घटाउन थालेका छन् ।

बुधवार एकै दिन १३ प्रतिशतले ओरालो लाग्यो अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बुधवार तेलको भाउ एकै दिन १३ प्रतिशतले घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)को सदस्य राष्ट्र संयुक्त अरब इमिरेट्स  (यूएई) ले युक्रेनी संकटपछि रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पादन गर्ने बताएपछि तेलको भाउमा उक्त दिन २ वर्षयताकै उच्च एक दिने कमी आएको हो ।  बुधवार लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड फ्यूचर्सको भाउ प्रतिब्यारेल १३ दशमलव २ प्रशित अर्थात् १६ डलर ८४ सेन्टले घटेर १११ डलर १४ सेन्टमा आएको थियो । ब्रेन्टको भाउमा आएको यो कमी सन् २०२० को अप्रिल यताकै उच्च हो । सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुड फ्यूचर्सको भाउ पनि १५ दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल १०८ डलर ७ सेन्टमा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यूएस क्रुडको भाउ बुधबार १५ डलर ४४ सेन्टले घटेको छ । यो एक दिने कमी नोभेम्बरयताकै उच्च हो ।  अहिले यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् । पछिल्लो समय विश्व बजारमा तेलको भाउमा भएको वृद्धि नियन्त्रण गर्न अमेरिकाले विश्वभरका तेल उत्पादक देशहरुलाई सकेको जति उत्पादन बढाउन भनिरहेको छ । अहिले तेलको मूल्य वृद्धि रोक्न माग धान्ने गरी उत्पादन बढाउन जरुरी छ । रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि  तेल बजारमा बुधवार कमी आएको हो । रुसी विदेश मन्त्री युक्रेनी समकक्षीसँग वार्ताका लागि बुधबार टर्की गएको खबरले पनि तेल बेजारमा  पछिल्लो समय देखिएका त्रास कम गरेको हो ।  रुसी तेलमाथि अमेरिका, बेलायत र ईयूले लगाएको प्रतिबन्धका कारण बजारमा उत्पन्न आपूर्ति अभाव ओपेकको अतिरिक्त तेल आपूर्तिले केही कम गर्न सक्ने सम्भावना पनि पछिल्लो समय देखिएको छ । रुस विश्वको शीर्ष कच्चा तेल र इन्धन निर्यातकर्ता हो । विश्वको कूल आपूर्तिको ७ प्रतिशत अर्थात् झन्डै दैनिक ७० लाख ब्यारेल तेल रुसबाट आउने गरेको छ । कच्चा तेल भन्डारणबाट थप तेल बजारमा ल्याउन सकिने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीको अभिव्यक्तिले पनि बुधवार तेलको भाउ घटेको हो । एजेन्सी

विश्व बजारमा कच्चा तेलको मूल्य १३ वर्षयताकै उच्च !

विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ ।अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको हो ।कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आइ स्थिर भएको बीबीसीले जनाएको छ । सन् २००८ को जुलाईयता तेलको मूल्य यो तहमा पुगेको पहिलोपटक हो ।यसैबीच, रुस र युक्रेनको युद्धका कारण मध्यपूर्वी तथा उत्तरी अफ्रिकाका देशमा खाद्यान्नको अभाव हुनसक्ने विश्लेषण गरिएको छ । यसले गर्दा इन्धनसँगै खाद्यान्न र खाने तेलको भाउ बढ्ने खबरमा उल्ल...

तेलको भाउ ७६ डलरभन्दा तल स्थिर

मंसिर २२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७६ डलर भन्दा तल स्थिर रहेको छ । कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्टले विश्व अर्थतन्त्र र इन्धनको मागमा पार्ने प्रभावबारे लगानीकर्ताहरुले आँकलन गरिरहँदा बुधवार भाउ स्थिर रहेको हो । बिहानी कारोबार प्रतिब्यारेल १ डलरभन्दा धेरैले घटेपछि मध्याहन्नतिर भने ब्रेन्ट क्रुडको भाउ ३२ सेन्ट अर्थात् शून्य दशमलव ४ प्रतिशतले बढेर ७५ डलर ७६ सेन्टमा आएको थियो । अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि १२ सेन्ट अर्थात् शून्य दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ७२ डलर १७ सेन्टमा आएको थियो । बुधवार बिहानी कारोबारमा यो प्रतिब्यारेल ७१ डलरभन्दा तल रहेको थियो । नोभेम्बर २५ यता १६ प्रतिशतले घटेर ब्रन्टको भाउ ६९ डलरभन्दा तल आएको थियो । डिसेम्बर १ यता भने ओमिक्रोनले तेलको मागमा सीमित मात्रै प्रभाव पारेको संकेत पछि यसको भाउ ८ प्रतिशतभन्दा धेरैले बढेको छ । एजेन्सी

तेलको भाउ १५० डलरमा पुग्ने अनुमान

मंसिर १५, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल पुग्ने अनुमान गरिएको छ । अमेरिकी बहुराष्ट्रिय स्वतन्त्र लगानी बैंक जेफ्रीज ग्रुपका इक्विटी स्ट्राटेजीका ग्लोबल हेड क्रिस्टोफर वूडले बुधवार सीएनबीसीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको सारा विश्व पुनः खुल्यो भने भाउमा उल्लेख्य वृद्धि हुन सक्ने उनको भनाइ छ । अधिकांश एशिया बन्द भएको बेलामा पनि तेलको भाउ प्रतिब्यारेल ८० माथि जान सक्यो । चीनको सीमा प्रभावकारी रुपमा अझै बन्द छ ।‘आपूर्तिमा समस्या नाटकीय रहेकोले विश्व साँच्चै नै पूरा खुल्यो भने भाउ १५० डलरसम्म जान सक्छ,’ उनले भने । आफ्नो लागि समस्या तेलको भाउ नभएर महामारी भएको पनि उनले बताएका छन् । हालका वर्षहरुमा खनिज इन्धनमाथिको राजनीतिक आक्रमणका कारण ऊर्जाको क्षेत्रमा लगानीका लागि प्रोत्साहन हटाइएको छ । तर गत वर्ष विश्वको ऊर्जा मागमध्ये ८४ प्रतिशत माग खनिज इन्धनबाटै पूर्ति भएको उनले औंल्याएका छन् । अहिले तेलमा कसैले लगानी नगरेको तर जैविक इन्धनको खपत भने भइरहेकोले विश्व पूरा खुलेपछि तेलको भाउ निकै माथि जाने र यसले महँगी डरलाग्दो गरी बढाउने वूडको भनाइ छ ।हालैका दिनमा भने विश्व बजारमा तेलको भाउ घटेको छ । बुधवार बिहान एशियाली कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७१ डलर ९ सेन्ट रहेको थियो । अमेरिकी बेञ्चमार्क यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल ६८ डलर ५ सेन्ट आसपास थियो । विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भ्यारिएन्ट ओमिक्रोनबारे चेतावनी दिएपछि शुक्रवार तेलको भाउका लागि यस वर्षकै खराब दिन बनेको  थियो । त्यसयता तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । एजेन्सी

उत्पादकहरुको बैठक रद्द, तेलको भाउ अझै बढ्ने

एजेन्सी। तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक)को बैठक रद्द भएको छ। सोमबारलाई तय गरिएको बैठकले विश्व बजारमा निरन्तर बढिरहेको तेलको मूल्यमा ब्रेक लगाउने अनुमान गरिएको थियो। तर बैठक बिनाकारण रोकिएको छ। यससँगै पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई लिने र उपभोक्ताको ढाड अझै सेक्ने अनुमान गरिएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ अमेरिकी डलर छ।