लगातार चौथो महीना पनि ओरालोमा कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ लगातार घटिरहेको छ । फेब्रुअरीमा पनि त्यो क्रम रोकिएको छैन ।  इन्भेस्टिङडटकमका अनुसार गत नाेभेम्बरमा प्रतिब्यारेल ८८ दशमलव ३७ डलर रहेकाे कच्चा तेलको भाउ साे महीनाको अन्त्यमा ८० दशमलव ५६ डलरमा झरेको थियो । त्यसको एक महीनापछि डिसेम्बरको अन्त्यमा कच्चा तेलको मूल्य भने झिनो अंकमा घटेर ८० दशमलव ४७ डलर कायम भएको थियो । जनवरीमा पनि भाउ घट्ने क्रम रोकिएन । जनवरीको अन्त्यमा यसको मूल्य ७८ दशमलव ८७ डलर कायम हुँदा फेब्रुअरीको अन्तिम दिन कच्चा तेलको भाउ प्रतिब्यारेल ७६ दशमलव ९० कायम भएको छ ।   लगानीकर्ता हतोत्साहित हुँदा कच्चा तेलको लगातार भाउ घटिरहेको छ । अमेरिकाले महँगी नियन्त्रण गर्न मौद्रिक नीति कसिलो बनाउँदा लगानीकर्ताहरू चिन्तामा छन् । सबैभन्दा धेरै कच्चा तेल आयातकर्ता चीनले कोभिडका कारण लगाएको सबै प्रतिबन्धहरू खारेज गरेपछि त्यहाँ तेलको माग बढ्ने आशा गरिएको भए पनि अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरले लगानीकर्ताहरू हतोत्साहित भएका हुन् । यसले गर्दा बजारमा दबाब देखिएको छ ।  मंगलवारको कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआइ)को भाउ प्रतिब्यारेल १ प्रतिशतले बढेर ७६ डलर ४६ सेन्टमा पुगेको थियो । आजको कारोबारमा भाउ बढेको भए पनि यो महीनाभर डब्ल्यूटीआई झन्डै ४ प्रतिशतले घट्ने क्रममा छ ।  मंगलवारको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ६७ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ८१ सेन्टमा पुगेको थियो ।  फेडले व्यापक ब्याजदर वृद्धि गर्दा पनि अमेरिकामा महँगी टसको मस नभएको तथ्यांकले ब्याजदर वृद्धि जारी रहने अनुमान बलियो हुँदा कच्चा तेलमाथि दबाब बढेको छ । डलरको भाउमा भएको वृद्धिले पनि डलरमा किनबेच हुने कमोडिटीलाई घाटा भइरहेको छ । अमेरिकामा कच्चा तेलको भन्डार बढिरहेको खबरले पनि तेलको भाउ घटेको छ । अहिले अमेरिकाको कच्चा तेल भन्डारण सन् २०२१ को मेयताकै उचाइमा उक्लिएको छ । चीनले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति खारेज गर्दै वर्षको अन्त्यतिर सीमा खुलाएको अनि तेलको माग बढ्ने संकेत देखिए पनि यसको भाउ यो वर्ष सुस्ताएको छ । यो वर्षको उत्तरार्द्धमा विश्वव्यापी तेलको माग कीर्तिमानी स्तरमा उक्लिन सक्ने एउटा अनुमान देखाएको छ । यो वर्षको अहिलेसम्म तेलको भाउ रातोमै रहेपछि बैंकहरूले तेलको मूल्य प्रक्षेपण घटाउन थालेका छन् ।

सम्बन्धित सामग्री

चीनको आर्थिक वृद्धिदर अनिश्चित बनेपछि घट्यो कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । चीनको अर्थतन्त्रबारे छाएको चिन्ताले प्रमुख तेल निर्यातकर्ता देशहरूले गरेको उत्पादन कटौतीको असरलाई उल्ट्याएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकामा तेल तथा ग्यास रिग्सको संख्या लगातार सातौं महीना पनि घटेको तथ्यांकले पनि तेलको भाउ घटेको हो ।  सोमबार बिहानी कारोबारदेखि तेल बजार दबाबमा रहँदा भाउ १ प्रतिशतसम्म घटेको थियो । यो समाचार तयार पार्दाखेरि भने भाउमा आएको कमी भरिएर तेलको दुवै बेञ्चमार्क हरियोमा आएका थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ४ बजे ब्रेन्टको भाउ ब्रेन्टको भाउ शून्य दशमलव १८ प्रतिशतले बढेर ७६ डलर ३९ सेन्टमा उक्लिएको थियो । यूएस क्रुडको भाउ पनि सोही समयमा शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७१ डलर ७१ सेन्टमा थियो । गएको हप्ता भने दुवै तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको थियो । अहिले चीनको अर्थतन्त्रलाई शक्तिशाली अवरोधले घेरिरहेको छ । घरजग्गा बजार गएको वर्षको कमीबाट उब्रिएको छैन । मेमा खुद्रा विक्री र औद्योगिक उत्पादन अपेक्षा गरिएभन्दा तल थियो ।  यस वर्षको चीनको आर्थिक वृद्धिको प्रक्षेपण कयौं ठूला बैंकले घटाइसकेका छन् । गएको हप्ता दुई पटक ब्याजदर घटाएको केन्द्रीय बैंकले मंगलवार अर्को कटौती गर्ने अपेक्षा व्यापक छ । सुस्ताइरहेको अर्थतन्त्रलाई टेवा दिन चीनले थप प्रोत्साहन ल्याउने स्रोतहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । तर, कर्जा र पूँजी पलायनसम्बन्धी चिन्ताका कारण प्रोत्साहन उपभोक्ता र निजी क्षेत्र लक्षित हुने अनुमान छ ।  जुन १६ मा सकिएको हप्तामा अमेरिकामा तेल तथा ग्यास रिग काउन्ट ६८७ रहेको छ । यो अघिल्लो हप्ताको भन्दा ८ कम हो । यो संख्या सन् २०२२ यताकै कम हो । रिग संख्यामा आएको कमीले भविष्यमा उत्पादन कम हुन्छ भन्ने देखाउँछ । इरानको बढ्दो तेल निर्यातले पनि मूल्यमा दबाब दिइरहेको छ । यो वर्ष इरानको कच्चा तेल निर्यात र उत्पादन दुवै कीर्तिमानी स्तरमा छन् । एजेन्सी

बढ्यो कच्चा तेलको भाउ, यस्तो छ कारण

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । मंगलबार लगातार दोस्रो दिन पनि कच्चा तेलको भाउमा हरियाली देखिएको छ । चीनको तेल मागमा आएको सुधार र टर्कीमा हालै गएको विनाशकारी महाभूकम्पपछि मुख्य निर्यात टर्मिनल बन्द भएर आपूर्ति अभाव भइरहँदा तेलको भाउ बढेको हो । उक्त दिनको कारोबारमा कच्चा तेलको अमेरिकी र अन्तरराष्ट्रिय दुवै बेञ्चमार्क उकालो लागेका छन् ।  लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा मंगलबार ८ जीएमटीतिर ब्रेन्ट क्रुडको भाउ २ दशमलव १५ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ७३ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ डलर ४ सेन्ट धेरै हो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ २ दशमलव २ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७५ डलर ८१ सेन्टमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ डलर ७० सेन्ट धेरै हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार ३ः४५ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८२ डलर १९ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ७५ डलर ४२ सेन्ट कायम भयो ।  चीनको आर्थिक गतिविधिमा पुनःबहाली आउने आशा र टर्कीको महाभुकम्पका कारण आपूर्ति अवरोधका कारण तेलको भाउले टेवा पाएको बजार अनुसन्धान संस्था ओएन्डाका विश्लेषक इडवर्ड मोयाले भने । यो वर्ष विश्वको कुल तेलको माग वृद्धिमध्ये आधा चीनबाट हुने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)को अनुमान छ ।   विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले ६ महीनामा पहिलो पटक एशियाली बजारका लागि साउदी बेञ्चमार्कको भाउ बढाएको छ । विशेषतः चीनको मागमा सुधारको आशामा तेलको भाउ बढाइएको हो । भूकम्पपछि टर्कीमा दैनिक १० लाख ब्यारेल तेल निर्यात हुने बीटीसी टर्मिनल बन्द भएको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्चका अध्यक्ष जेरोम पावेलको बुधवार भाषणको पखाईमा रहँदा भने तेलको भाउ धेरै बढ्न सकेन । एजेन्सी