फागुन २, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल १०० डलर आसपास पुग्न लागेको छ ।
युक्रेनमा रुसले हमला गर्ने र सोको प्रतिक्रियामा अमेरिका र यूरोपले ऊमाथि प्रतिबन्ध लगाउँदा यूरोपेली बजारमा रुसी तेल आपूर्ति अवरुद्ध हुने आशंकामा सोमवार तेलको भाउ सन् २०१४ यताको नयाँ उचाईमा उक्लिएको छ ।
तेलको भाउ १०० डलरमा पुग्यो भने यो सन् २०१४ यताको पहिलो पटक हुनेछ । यस्तो भएमा यसले विश्वको आर्थिक वृद्धिदर घटाउनेछ भने महँगी बढाएर विश्व अर्थतन्त्रलाई दोहोरो झट्का दिनेछ । विश्वका कयौं देशमा महँगी दशकौंयताकै उच्च स्तरमा उक्लिएको छ ।
यस्तोमा महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ समेत अन्य कयौं देशका केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा महामारीको प्रभावबाट विस्तारै उम्किदै पुनःबहाल भइरहेको विश्व अर्थतन्त्रले पुनः लय गुमाउने चिन्ता पनि थपिएको छ । महँगी सबैको मुख्य चिन्ता र चासोको विषय भएको अवस्थामा जीट्वेन्टीको अर्थमन्त्रीहरु यही हप्ता अनलाइनबाट भेटवार्ता गर्दैछन् ।
तेल निर्यातकर्ता देशका लागि कुनै समय तेलको भाउमा भएको वृद्धिले फाइदा हुन्यो । तर अहिले ती अर्थतन्त्रमा तेलको प्रभाव पहिलाको जस्तो छैन । महँगीको प्रभाव कम्पनी र उपभोक्ताहरुमा परेको छ । कम्पनीहरुले उत्पादन महँगो बनाइरहेका छन् ।
खाद्यान्न, यातायात लगायत सबैतिर महँगी बढ्दा उपभोक्ताहरुको खर्च गर्ने क्षमतता खुम्चिएको छ गत वर्षको अन्त्यमा प्रतिब्यारेल ७० डलर रहेको कच्चा तेलको भाउ यही महीनाको अन्त्यमा बढेर सय डलरमा पुग्ने ब्लुम्बर्ग इकोनोमिक्सको शुक मोडलले देखाएको छ । यसले वर्षको उत्तरार्द्धमा महँगी शून्य दशमलव ५ प्रतिशतले बढाउनेछ । तेलको भाउ प्रतिब्यारेल १५० डलरमा पुग्यो भने विश्वको आर्थिक विस्तार ठप्पन हुने जेपी मोर्गन एन्ड चेजले चेतावनी दिएको छ ।
तेलको भाउ सो स्तरमा पुग्यो भने महँगी ७ प्रतिशतमाथि उक्लिनेछ । यो अधिकांश मौद्रिक नीति निर्माताहरुले तय गरेको लक्ष्य भनदा तीन गुणा भन्दा धेरै हुनेछ । अहिले विश्वभर महँगी बढ्नुको एउटा कारण तेलको भाउ पनि हो । तेलको भाउमा भएको वृद्धिले विश्वको आर्थिक वृछिदर सुस्ताउने उल्लेख्य सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । एक वर्ष अघिको तुलनामा अहिले तेलको ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।
सोमवार लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव २ प्रतिशतले बढेर ९६ डलर ५६ सेन्टमा पुगेको थियो । न्यूयोर्क मर्कन्टाइल एक्चसेञ्जको कोमेक्स डिभिजनमा पनि अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ १ दशमलव ४ प्रतिशतले बढेर प्रतिब्यारेल ९४ डलर ३८ सेन्टमा आएको थियो ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी हटेपछिको विश्वभर बढेको माग, युक्रेनका मामिलामा यूरोपमा उत्पन्न तनाव आदिका कारण पछिल्लो समय तेलको भाउ बढिरहेको छ । भाउमा भएको यो वृद्धि चस्स बिझाउने खालको छ । ऊर्जाको भाउमा भएको वृद्धिले विश्वको आपूर्ति शृङ्खलाको समस्या बढाएको छ । तेलको भाउ बढ्दा उत्पादनको लागत बढेको छ भने कच्चा पदार्थ र तयारी सामानमा ढिलाइ भइरहेको छ । हवाई ढुवानीको भाडा पहिला देखि नै उच्च रहेको समयमा तेलको भाउ बढिरहेको छ ।
पछिल्लो समय अर्थशास्त्री र विश्लेषकहरुबीच तेलको भाउमा भएको वृद्धिले महँगी कुन स्तरमा पुर्याउला भन्नेबारे प्रक्षेपण गर्न होडबाजी चलेको छ । तेलको भाउ तेस्रो त्रैमासमा प्रतिब्यारेल सय डलरमा पुग्ने गोल्डम्यान श्याख्स ग्रुपको भनाइ छ । तेलकोे भाउ ५० प्रतिशत मात्रै बढयो भने पनि महँगी औसतमा ६० आधार अंकले बढ्ने गोल्डम्यानको भनाइ छ । अन्तरराष्ट्रिय मुद्रा कोषले पनि हालै विश्वको उपभोक्ता मूल्यसम्बन्धी आफ्नो प्रक्षेपण बढाएर यस वर्ष विकसित अर्थतन्त्रका लागि औसत ३ दशमलव ९ प्रतिशत र उदीयमान एवम् विकासोन्मुख देशका लागि ५ दशमलव ९ प्रतिशतमा पुर्याएको छ ।
मुद्रास्फीति कयौं दशकयताकै उच्च स्तरमा रहेको र मुद्रास्फीतिको परिदृश्य आसपासको अनिश्चित अभूतपूर्व बनेको अवस्थामा विश्वको अर्थतन्त्रलाई ऊर्जाको मूल्यबाट टेवा दिन अर्को टेको चाहिने एचएसबीसीका अर्थशास्त्री ज्यानेट हेनरी र जेम्स पोमेरोयले फेबु्रअरी ४ मा एक प्रतिवेदनमा भनेका थिए ।
महँगीको दबाब अपेक्षा गरिएको भन्दा धेरै नै कठोर साबित भएपछि केन्द्र बैैंकहरुले मागलाई टेवा दिनुभन्दा महँगी विरुद्धको लडाईलाई प्राथमिकतामा राख्न थालेका छन् । अमेरिकामा महँगी चार दशककै उच्च स्तरमा उक्लिएपछि यस वर्ष फेडले सात पटक ब्याजदर बढाउने अपेक्षा बढेको छ । बेलायतमा महँगी नियन्त्रण गर्न बैंक अफ इंगल्यान्डले ब्याजदर बढाएको छ । निकट भविष्यमा थप ब्याजदर बढ्ने अनुमान गरिएको छ ।
तेलको भाउले विश्वको अर्थतन्त्रलाई कसरी प्रभावित बनाउँला भनेर अधिकारीहरुले सावधानीपूर्वक निगरानी गर्ने यूरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिश्टिन लगार्दले हालै भनेकी छिन् । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि बिहबार तेलको मूल्यलाई जोखिमको रुपमा औंल्याएको थियो ।
हुन त अहिलेको विश्व अर्थतन्त्र अघिल्ला दशक विशेषगरी सन् १९७० को दशकको जस्तो तेल मात्रै खपत गरिरहने खालको छैन । अहिले वैकल्पिक ऊर्जाहरुले पनि केही राहत दिएका छन् । महामारीको समयमा घर परिवारले गरेको बचत र श्रम बजारमा चाहेजस्तो श्रमिक नपाउँदा उच्च तलब दिएर चाहिएको कर्मचारी भर्ना गर्ने प्रवृत्तिले पनि बजारलाई तताएको हो ।
तेलको भाउमा प्रतिब्यारेल १० प्रतिशत बढ्दा आगामी वर्ष आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतले घट्ने मूडिज एनालिटिक्समा प्रमुख अर्थशास्त्री मार्क जान्डी बताउँछन् । तेलको भाउमा भएको वृद्धिले तेल उत्पादक तथा निर्यातकर्ता सबै पनि देशहरुलाई राहत छैन ।
उपभोक्ताहरुको लागि त सबै समस्याको जड नै तेलको भाउमा भएको वृद्धि भइहाल्यो । तेलको भाउ बढेर विश्वले आर्थिक वृद्धिको लय गुमायो भने के होला भनेर अहिले अर्थशास्त्री र केन्द्रीय बैंकको टाउको दुखाइरहेको छ । भाउ निरन्तर बढयो भने वित्तीय नीति पनि उल्लेख्य स्तरमा कसिलो पारियो भने केही देशमा आर्थिक मन्दी जस्तो अवस्था आउन सक्ने विश्लेषण समेत गरिएको छ । एजेन्सीको सहयोगमा