रूपन्देहीका तिनाउ र दानव खोलाबाट गिट्टीबालुवा उत्खननका लागि स्थानीय तहले ठेक्का लगाएका छन् । स्थानीय तहले लगाएको ठेक्का सकारेका कम्पनीले खोलाबाट दैनिक नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । उत्खननका लागि पालिकाले तय गरेको मापदण्ड पालना गर्ने सम्झौता गरेका ठेकेदार कम्पनीको ध्यान जनप्रतिनिधिको आँखा छलेर खोलाबाटै गिट्टी–बालुवा क्रसर उद्योगलाई बिक्री गर्न केन्द्रित भएको पाइएको छ ।