दुई महिना यता नेपालबाट भारततर्फ हुने जडिबुटीको निकासी पूर्णरूपमा बन्द भएको छ । निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडिबुटी व्यवसायीका गोदाममा थन्किएको नेपाल जडिबुटी व्यवसायी संघले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
१० हजार मेट्रिक टन बढी जडिबुटी गोदाममा थन्किएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । भारतीय क्वारेन्टाइनले ५४ प्रकारका विभिन्न जडिबुटीको भारत निकासीमा प्रतिबन्ध लगाउँदा निकासी बन्द भएपछि जडिबुटी खेती, संकलन र व्यापारमा लागेका २५ लाख नेपाली प्रभावित भएको अन्सारीको भनाइ छ ।