बैंकहरूले आफ्ना लगानीकर्तालाई दिने प्रतिफल निरन्तर घटिरहेको छ, जुन कुरा यसअघि नै बैंकर तथा लगानीकर्ताले भन्दै पनि आएका हुन् । बैंकर्स संघले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले वाणिज्य बैंकहरूको पूँजीअनुसार प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) निरन्तर घटिरहेको पुष्टि गर्छ ।
आर्थिक वर्ष (आव) २०६७/६८ मा २६ दशमलव ४१ प्रतिशत प्रतिफल दिन सकेका वाणिज्य बैंकहरूले चालू आवको चैतसम्म १० दशमलव ८ प्रतिशत प्रतिफल दिनसक्ने देखिएको छ । चालू आवमा त्यति प्रतिफल दिने अवस्थामा पुग्नुको कारणमा त आर्थिक मन्दीलगायत समस्या होलान् । तर, त्यसअघिका थुप्रै वर्षमा बैंकले लगानीकर्तालाई दिने प्रतिफल सन्तोषजनक नभएको गुनासो रहँदै आएको छ ।
आव २०७८/७९ मा १३ दशमलव ५१ प्रतिशत प्रतिफल दिन सकेका बैंकहरूले त्यसको अघिल्लो वर्ष १२ दशमलव ६६ प्रतिशत प्रतिफल दिएका थिए । त्यस्तै आव २०७६/७७ मा १२ दशमलव ५२ र आव २०७५/७६ मा १६ दशमलव ९२ प्रतिशत वाणिज्य बैंकका लगानीकर्ताले प्रतिफल पाएका थिए ।
यद्यपि नेपालमा अझै पनि कतिपयले बैंकहरूको आम्दानी बढी भएको तर्क गर्छन् । बैंकमा तुलनात्मक रूपमा दक्ष जनशक्तिले काम गर्ने र प्रणाली पनि पारदर्शी हुनैपर्ने भएकाले वित्तीय संस्थाहरूको हिसाब स्पष्ट रूपमा सार्वजनिक हुने गर्छ । यसले गर्दा बैंकहरूको आर्थिक अवस्था सहजै सार्वजनिक हुन्छ । यस्तो अवस्थामा एकथरीले वित्तीय संस्थाको नाफा बढी भयो भन्ने र अर्काथरीले नाफा घटिरहेको तथ्यांक प्रस्तुत गर्दा समस्या समाधानका लागि कतै पनि पुग्न सकिँदैन ।
फेरि जुनसुकै व्यवसाय गर्नुको उद्देश्य नाफा कमाउनु नै हो । नाफा नहुने क्षेत्रमा कोही पनि लगानीकर्ता आकर्षित हुँदैनन् । तर, कतिसम्म नाफा कमाउने भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा गतिलो र प्रभावकारी प्रणालीको विकास हुन नसक्दा बैंकिङबाहेकका क्षेत्रको नाफा, घाटाको अवस्था के छ भन्ने कुरामा सधैं द्विविधा हुने गर्छ ।
पछिल्लो ८–१० वर्षको तथ्यांक हेर्दा बैंकहरूले दिने प्रतिफलमा भने कमी आएको छ । त्यसैले अहिलेको मत्वपूर्ण कुरा बैंकहरूको नाफा किन निरन्तर घटिरहेको छ भन्ने हो । बैंकको नाफा घट्नुमा यतिखेर मुख्यतया तीन कारण देखिन्छ । पहिलो बैंकहरूको आफ्नै कार्यकुशलतामा शिथिलता, दोस्रो अर्थतन्त्र नै ओरालो लाग्नु र तेस्रो नियामकीय व्यवस्था ।
त्यसैले यीमध्ये कुन बढी समस्या हो भन्नेबारे यकीन गर्न सम्बद्ध निकाय गम्भीर बन्नुपर्ने देखिएको छ । समस्याको यकीन नगरी प्रतिफल घट्यो भनेर चिन्ता मात्र गर्नुको कुनै अर्थ हुँदैन । कतिपयले केन्द्रीय बैंकले ब्याजदर र सेवाशुल्कमा कडाइ गर्दा आम्दानी वृद्धिमा अंकुश लागेको पनि बताएका छन् । राष्ट्र बैंकको माइक्रोम्यानेजमेन्ट अलि बढी नै हो भने पनि विस्तृत अध्ययन भयो भने समस्या समाधानका लागि नयाँ नीति बनाउन योगदान पुग्छ ।
यही बेला ऋण असुली प्रभावित हुँदा खराब कर्जा बढेको पनि पाइन्छ । चैतसम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३ दशमलव शून्य ३ प्रतिशत पुगेको छ । गत आवमा बैंकहरूको खराब कर्जा १ दशमलव १० प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा १ दशमलव ८३ र दोस्रो त्रैमासमा २ दशमलव ३५ प्रतिशत पुगेको थियो । बैंकहरूको प्रतिफल घट्दै जानुको कारण पत्ता लाग्नै नसक्ने छैन/होइन ।
बैंककै आफ्नै कार्यकुशलताको कमजोरी हो भने त्यसमा सुधार गर्न धेरै माथापच्ची गरिरहनु परेन । बैंकिङ मूल्यमान्यता र सिद्धान्तमा अनुशासित भएर काम गरे भइहाल्यो । त्यस्तै नियामकीय निकायले अवरोध गरेको छ भने पनि त्यसमा सुधार गर्न नसक्ने भन्ने भएन । अब रह्यो आर्थिक मन्दीको कुरा, अहिले मात्र बैंकहरूको प्रतिफल घटेको होइन, यसअघिका कैयन् वर्षमा अर्थतन्त्र त्यति समस्यामा नहुँदा पनि बैंकहरूको प्रतिफल घटेकै थियो ।
त्यसैले बैंकमा भएको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसक्नुमा सतही छलफलमा अलमलिनुभन्दा गहिरो र तुलनात्मक अध्ययन नै अहिलेको आवश्यकता हो । यदि समय र परिस्थितिअनुसार अहिले बैंकहरूले दिइरहेको प्रतिफल ठीकै हो भने पनि अध्ययनबाट निचोड निस्कँदा बढी विश्वासयोग्य हुन्छ ।