अतिविपन्न वर्गमैत्री लघुवित्तको आवश्यकता

बैंकिङ क्षेत्रमा छाता ऐनका रूपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कार्यान्वयनमा रहेको छ । यसभन्दा अघि कृषि विकास बैंक ऐन, २०२४, वाणिज्य बैंक ऐन, २०३१, वित्त कम्पनी ऐन, २०४२, नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ र विकास बैंक ऐन, २०५२ कार्यान्वयनमा रहेका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१), (२), (३) र (४) मा क्रमशः क, ख, ग र घ वर्गका बैंक वा वित्तीय संस्थाले गर्न सक्ने बैंकिङ तथा वित्तीय कारोबारको बारेमा उल्लेख गरिएको छ । यसका साथै यस क्षेत्रसँग सम्बद्ध अन्य थुप्रै ऐन, नियम, विनियम तथा नीति निर्देशनले बैंकिङ क्षेत्रलाई निर्देशित र नियन्त्रित गरेका छन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन र घ वर्गका लघुवित्त वित्तीय संस्थालाई छुट्टै निर्देशन जारी गर्ने गर्छ । ती निर्देशनमा बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा गर्ने कामकारबाही, कर्जा सापटको सीमा त्यसको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था, संस्थागत सुशासन, लगानी, ब्याजदर, वित्तीय स्रोत संकलन, कार्यक्षेत्र, निर्देशित कर्जा आदिसँग सम्बन्धी थुप्रै नियमनकारी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ । यस प्रकारका नीतिगत व्यवस्था र प्रावधानको अधीनमा रही क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था र घ वर्गका लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकलाई आआफ्नै तरीकाले वित्तीय सेवा प्रदान गर्ने गर्छन् । बैंकिङसम्बन्धी ज्ञान भएका, बैंक तथा वित्तीय संस्थासम्मको पहुँच राख्न सक्ने, कर्जा लिनका लागि राख्नुपर्ने धितो भएका वर्गलाई क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आप्mनै कार्यालय परिसरबाट वित्तीय सेवा प्रदान गर्छन् भने बैंकिङसम्बन्धी ज्ञान नभएका, बैंक तथा वित्तीय संस्थासम्म पहुँच राख्न नसक्ने, कर्जा लिनका लागि राख्नुपर्ने धितो नभएका गरीब तथा विपन्न वर्गलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाले उनीहरूकै घरदैलोमा गई सामूहिक जमानीमा वित्तीय सेवा प्रदान गर्छन् । प्रविधिमा आएको विकास, परिवर्तित समय, बढ्दो मुद्रास्फीति, नवीनतम व्यावसायिक अवधारणा, चेतनास्तरमा भएको विकास, प्रतिस्पर्धात्मक वातावरण आदिले परम्परागत बैंकिङ सेवामा क्रमशः परिवर्तन हुँदै आएको छ । यसअनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले पनि तोकिएको व्यवस्थाबमोजिम विनाधितो कर्जा, सहुलियत ब्याजदरमा कर्जा, पुनर्कर्जा, शाखारहित बैंकिङ सेवा, डिजिटल बैंकिङलगायत थुप्रै आधुनिकतम बैंकिङ सेवाहरू आप्mना ग्राहकलाई प्रदान गर्ने गर्छन् । यद्यपि यी बैंकिङ सेवाहरूमा लघुवित्तका लक्षित वर्गको पहुँच पुग्दैन । गरीब तथा न्यून आय भएका वर्गलाई आर्थिक गतिविधिमा सहभागी गराएर अर्थतन्त्रको मूलधारमा ल्याउने उद्देश्यले सरकारी र गैरसरकारी स्तरबाट विभिन्न आयमूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको भए पनि दीर्घकालीन दृष्टिकोणले लघुवित्तीय सेवा सहयोगी र प्रभावकारी कार्यक्रम बन्दै आएको छ । यस क्षेत्रको विकास र स्थायित्वका लागि नेपाल राष्ट्र बैंकले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा बसोवास गर्ने लक्षित वर्गलाई लघु वित्तीय सेवाको पहुँचभित्र समेट्ने गरी यसको दायरालाई फराकिलो बनाउने, लघुकर्जाको सीमा वृद्धि गर्ने, उपयुक्त ब्याजदर कायम गरी त्यसमा सीमा लगाउने, सेवा शुल्क परिमार्जन गर्ने, लघुकर्जालाई कर्जा सूचना केन्द्रसँग आबद्ध गरी कर्जा दोहोरोपनालाई नियन्त्रण गर्ने, पारदर्शी र विवेकपूर्ण तरीकाले सुपरिवेक्षण गर्ने, सरोकारवालाको सल्लाह र सुझावलाई नीतिगत रूपमा सम्बोधन गर्ने, असामान्य परिस्थितिमा विविध खाले नियमकीय छूट प्रदान गर्नेलगायत कार्य गर्दै आएको छ । सोहीअनुरूप लघुवित्त वित्तीय संस्थाले नियमकारी निकाय र आफ्नै नीति निर्देशनको अधीनमा रही लक्षित वर्गलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएका छन् । प्राप्त पछिल्लो तथ्यांकअनुसार लघुवित्त वित्तीय संस्थाले आफूसँग आबद्ध भएका ५१ लाखभन्दा बढी सदस्यमध्ये ३० लाखभन्दा बढी सदस्यलाई लघुकर्जा प्रवाह गरेका छन् । वित्तीय पहुँचसम्बन्धी पछिल्लो परिभाषाले संस्थामा आबद्ध भएका बचतकर्ता सदस्यलाई कर्जाको माध्यमबाट स्वरोजगार÷व्यवसायी बन्न उत्प्रेरित गराउनुपर्ने विषयलाई समेत जोड दिएको पाइन्छ । उपर्युक्त मूल उद्देश्य लिएको लघुवित्त कार्यक्रमले पछिल्लो समय सामूहिक जमानीको कर्जालाई भन्दा धितो कर्जालाई जोड दिने, गैरसदस्यबाट बचत संकलन गर्ने, कर्जाको आकार वृद्धि गर्नेलगायत व्यवस्थालाई सहज बनाउनुपर्ने विषयलाई विभिन्न फोरमहरूमा व्यक्त गर्ने र नियमनकारी निकायसमक्ष माग राख्ने गरेको पाइन्छ । यसैबीच लघुवित्त कार्यक्रम समाजमा रहेका अति विपन्न वर्गमैत्री बन्न नसकेको र यसका लागि कुनै प्रस्तावित योजनाहरू समेत नभएको अवस्था विद्यमान रहेको छ । यसका साथै हालैको कोरोना महामारी र प्राकृतिक विपद्का कारण लघुवित्त कार्यक्रमलाई यसको मूल मर्मबमोजिम अभैm प्रभावकारी तवरले विस्तार गर्नुपर्ने देखिन्छ । तर, पछिल्लो समय लघुवित्त क्षेत्रसँग सम्बद्ध विभिन्न कार्यक्रममा लघुवित्तकर्मीद्वारा व्यक्त गरिएका विचार र सल्लाह सुझावमा समेटिएका विषयवस्तुको आधारमा लघुवित्त क्षेत्रले ऐनको उद्देश्यभन्दा बैंकिङ व्यवसायी बन्न जोड दिन खोजे जस्तो देखिन्छ ।   लघुवित्त क्षेत्रको स्थायित्व र विकासका लागि नेपाल राष्ट्र बैंकले विगतदेखि नै आवश्यकताअनुसार दीर्घकालीन र अल्पकालीन नीतिगत व्यवस्थाहरू जारी गर्दै आएको छ । समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रको अभिभावकका रूपमा रहेको सरकारले लघुवित्त क्षेत्रको उद्देश्यलाई पहिचान गरी सोहीबमोजिम नीतिगत व्यवस्थामार्फत सम्बोधन गरेको विरलै देख्न पाइन्छ । यसरी एकातिर लघुवित्त क्षेत्रले स्वाभाविक रूपमा सरकारसँग क्षेत्रगत अपेक्षा राख्ने अर्कोतिर सरकारीस्तरबाट बजेट तथा अन्य नीतिगत व्यवस्थामा त्यसलाई समेट्न नसकेको अवस्था रहेको छ । अतः लघुवित्त क्षेत्रको उचित र तर्कपूर्ण विषयलाई समावेश गरेर अतिविपन्न वर्गलाई लघुवित्तीय सेवामा समेट्नेतर्पm आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले निर्दिष्ट गरेबमोजिम हालसम्म समेट्न नसकिएका अति विपन्न वर्गलाई लघु वित्तीय सेवामा आबद्ध गर्न ढिला गरिनु हुँदैन । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले गत माघमा देशका विभिन्न जिल्लाका शाखामार्फत वित्तीय साक्षरता गरेको बुधवार (आज) जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  साक्षरता कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्थामा आवद्ध सदस्य तथा गैर सदस्य सहभागी रहेको कम्पनीले जानकारी दिएको छ ।  साक्षरता कार्यक्रममा दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोग गर्ने तरिका, व्यवसाय व्यवस्थापनलगायत विषय समेटिएको छ । कम्पनीको कोशी प्रदेशको सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय छ भने काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय छ ।

लघुवित्तको कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना हुने

२१ कात्तिक, काठमाडौं । अध्ययन समितिले तत्कालमा केही समयावधिको लागि कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था जुनसुकै वर्गमा रहेको कर्जालाई गर्न सक्ने व्यवस्था गर्न सुझाव दिएको छ । लघुवित्तको ऋणीको ऋण भुक्तानी गर्ने अवस्था कमजोर रहेकोले आवश्यकता …

लघुवित्तको निष्क्रिय कर्जाको व्यवस्थापन

पछिल्लो समय लघुवित्त संस्थामा निष्क्रिय कर्जाको अंश बढ्दै गएको छ । विभिन्न कारणले भुक्तानी तालिकाबमोजिम कर्जा भुक्तानी नगर्ने ऋणीसदस्यको संख्या बढ्दै जाँदा लघुवित्त क्षेत्रमा यस्तो अवस्था आएको हो । राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार विगतका वर्षहरूमा ३ प्रतिशतभन्दा कम रहेको निष्क्रिय कर्जा गत चैत मसान्तमा ७ प्रतिशतभन्दा माथि पुगेको छ भने कालोसूचीमा पर्ने ऋणीहरूको सूची पनि लम्बिने क्रम जारी छ । यसरी नै निष्क्रिय कर्जाको अंश बढ्दै गएमा लघुवित्त क्षेत्रको व्यावसायिक वातावरणमा प्रतिकूल प्रभाव पर्नसक्ने देखिन्छ ।  सञ्चालनमा रहेका ६३ (असार मसान्तमा ५३) मध्ये ५९ ओटा खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाबाट कर्जा लिने ऋणीसदस्यको संख्या २०७९ असारको तुलनामा ४ दशमलव २८ प्रतिशतले कमी आई २०७९ चैत मसान्तमा ३१ दशमलव ६२ लाख रहेको छ । त्यसैगरी लगानीमा रहेको कर्जा ३८१.४३ अर्बमध्ये ७ दशमलव ४३ प्रतिशत (रू.२८.४३ अर्ब) निष्क्रिय कर्जा रहेको छ । यस अवधिमा लगानीमा रहेको कर्जा ७ दशमलव ५० प्रतिशतले घटेको छ भने निष्क्रिय कर्जाको अंश १८२ दशमलव १६ प्रतिशतले बढेको देखिन्छ । निष्क्रिय कर्जामा भएको वृद्धिसँगै लघुवित्त संस्थाको निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था गत असारको तुलनामा १२०.७५ प्रतिशतले वृद्धि भई रू.११.५० अर्ब पुगेको देखिन्छ । यस अवधिमा २१ ओटा लघुवित्त संस्था खुद नोक्सानीमा र ३८ ओटा नाफामा रहेका छन् । लघुवित्त क्षेत्रमा कुल ऋणी संख्या र कर्जा रकम घटेको छ भने निष्क्रिय कर्जा र त्यसको नोक्सानी व्यवस्था बढेको देखिन्छ । यसरी बढेको निष्क्रिय कर्जाको असुली कार्य लघुवित्त संस्थाका लागि कठिन बन्दै गएको छ ।  लक्षित वर्गलाई सदस्य बनाउने, सदस्यलाई प्रदान गर्नुपूर्व कर्जाको विश्लेषण र त्यसको सदुपयोगिता, कर्जा असुलीलगायत विभिन्न तहमा गरिने कार्य सम्पादन गर्दा अवलम्व्न गरिने विधि र प्रक्रियाले संस्थाको निष्क्रिय कर्जा नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । लघुवित्त संस्थाको संख्यात्मक वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा नीतिगत व्यवस्थाको अनुपालना प्रभावकारी हुन नसकेकाले यस अवधिमा धेरै संस्थाले एउटै सदस्यलाई सीमाभन्दा बढी कर्जा दिने, कर्जा विश्लेषण नगरी सदस्यको क्षमता र आवश्यकताभन्दा बढी कर्जा प्रदान गर्ने, कर्जाको सदुपयोगितातर्फ संस्था र ऋणीसदस्य दुवैले ध्यान नदिनेलगायत कार्य भयो । नाफा वृद्धि गर्ने उद्देश्यले कर्मचारीलाई कर्जा प्रवाहमा लक्ष्य तोक्ने प्रवृत्तिले पनि कर्जाको गुणस्तर कायम राख्न चुनौती थपियो ।  लघुवित्तको कर्जा र सोको असुलीका विषयमा लघुवित्त संस्थाले सीमाभन्दा बढी कर्जा प्रदान गर्ने, निर्धारित समयभन्दा अगावै नवीकरण गरी कर्जालाई असल बनाउने, ब्याजमात्र चुक्ता गर्ने प्रकारको कर्जालाई प्राथमिकता दिने, सदस्यको नियमित बचतबाट कर्जा असुली गर्ने, कर्जाको विश्लेषण नगरी सहज कर्जा प्रदान गर्ने र असुलीका लागि अधिक ताकेता र अव्यावहारिक तवरले कर्जा असुली गर्ने, कर्जा असुलीकै लागि नयाँ कर्जा सृजना गर्नेजस्ता वैकल्पिक विधि प्रयोग भएको सुनिन्छ । गतवर्ष सेवाशुल्कबापत संकलन भएको मध्ये १.६२ अर्ब सदस्यलाई फिर्ता गर्नुपर्ने नियामकको निर्णयले उल्लिखित अवस्थालाई थप पुष्टि गर्छ । ऋणी सदस्यले कर्जाको सदुपयोग नगर्ने, निर्धारित समयमा कर्जा नतिर्ने र कर्जा तिर्न एकभन्दा बढी संस्थासँग सीमाभन्दा बढी कर्जा उपभोग गर्ने, परम्परागत स्रोतबाट सापटी लिई कर्जाको साँवाब्याज भुक्तानी गर्नेलगायत कार्य हुने गरेको पाइन्छ । यस्ता कार्यले संस्था र ऋणीसदस्यबीच साहू र आसामीको जस्तो सम्बन्ध स्थापित भई सामाजिक बैंकिङले प्राथमिकता पाउन नसकेको देखिन्छ ।  लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जाको अंश बढ्दै जानुमा उल्लिखित कारणको साथै लघुवित्त संस्थाविरुद्धको स्वघोषित संघर्ष समितिको अराजक गतिविधि पनि उत्तिकै जिम्मेवार देखिन्छ । लघुवित्त संस्थासँग सम्बद्ध गैरकानूनी माग राख्दै खराब ऋणीहरूलाई संघर्ष समितिमा आबद्ध गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगतमा कृषि विकास बैंक (नेपाल सरकार) बाट प्रदान गरिएको ३० हजारसम्मको कर्जा मिनाहा गरिएको उदाहरण दिँदै जनताको पूँजी/बचतबाट सञ्चालित लघुवित्त संस्थाले पनि कर्जा मिनाहा दिनुपर्ने माग राख्नु बैंकिङ अपराध हो । कर्जा लिने तर भुक्तानी नगर्ने भन्दै संस्था र कर्मचारीप्रति असुरक्षित वातावरण सृजना गर्नु गैरकानूनी कार्य गर्नु हो र राज्यविहीनताको अवस्था सृजना हुनु हो । गलत मनसाय राखी संघर्ष समितिमा लागेका ऋणीबाहेक अन्य ऋणीसदस्यले समेत आफूले लिएको कर्जा मिनाहा भइहाल्छ कि भन्ने आशाले कर्जा नतिरेको कुरा सार्वजनिक भएका छन् । साथै, अर्थतन्त्रमा आएको मन्दीका कारण ऋणी सदस्यको आम्दानी प्रभावित भई निर्धारित समयमा कर्जाको साँवाब्याज भुक्तानी गर्न नसकेको अवस्था पनि छ । यसरी माथि उल्लिखित विभिन्न कारणले लघुवित्तमा निष्क्रिय कर्जाको अंश बढ्दै गएको छ । ऋणी सदस्यको वास्तविक समस्यालाई मनन गर्दै राष्ट्र बैंकले गत जेठमा ल्याएको कर्जाको पुनर्तालिकीरण र/वा पुन:संरचना सम्बन्धी निर्देशनले यस क्षेत्रमा खराब कर्जाको अंशमा केही कमी ल्याउन सहयोग गरे पनि दीर्घकालीन समाधानका लागि खराब कर्जाको असुली नै एउटैमात्र विकल्प देखिन्छ ।  लघुवित्त क्षेत्रको एकल प्रयासबाट मात्र यस क्षेत्रमा देखिएको समस्या समाधान सम्भव देखिँदैन । लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिका कारण सृजित समस्या समाधानका लागि नेपाल र राष्ट्र बैंकको पहलकदमी आवश्यक देखिन्छ भने आन्तरिक कारणले बढ्न गएको निष्क्रिय कर्जा नियन्त्रण गर्न संस्था आफै लाग्नुपर्छ । यसका लागि संस्थाले कर्जा प्रदान गर्नुपूर्व सदस्यको घर तथा परियोजनास्थल गई कर्जाको विश्लेषण गरी कर्जा जोखिमलाई न्यूनीकरण गर्न सदस्यको आर्थिक र सामाजिक पक्षको विश्लेषण गर्दै नीतिगत व्यवस्थाको पूर्ण पालना गर्नुपर्छ । सदस्यले आवश्यकता र क्षमताअनुसारको कर्जा लिई वित्तीय अनुशासनमा बस्नुुपर्छ । नीतिगत व्यवस्थाको अनुपालना नगरी प्रदान गरिएको कर्जा असुली कठिन हुने हुनाले नीतिगत व्यवस्थाको अनुपालना गर्दै समयमानै कर्जा भुक्तानी हुने यकीन गरी कर्जा प्रवाह गर्नुपर्छ ।  लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

लघुवित्तको समस्या ब्याजदर होइन

चर्को ब्याज लिएको भनेर लघुवित्तहरूको आलोचना हुने गर्छ । तर, लघुवित्तको काम गर्ने प्रकृति राम्रोसँग बुझ्ने हो भने ब्याजदर कुनै मुद्दा नै होइन, ब्याजदरलाई समस्या बनाउन पनि हुँदैन । जुन काम पढेलेखेका, हुनेखाने वर्गले गर्न खोज्दैनन्/सक्दैनन् ती काम आर्थिक रूपमा विपन्नले गर्छन् । उनीहरूलाई चाहिने स्रोतको जोहो गरिदिने मूल उद्देश्य लघुवित्तहरूको हो । हेर्दा सानोतिनो व्यवसाय भए पनि ती व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले लघुवित्तबाट कर्जा लिएकाले राम्रो आम्दानी गर्छन्, जसले उनीहरूको जीवनस्तर सुधारमा निकै मद्दत पुगेको हुन्छ । उदाहरणको लागि कपाल काट्ने शीप भएका युवालाई लघुवित्तले उपकरण खरीदमा दिने सानो कर्जाबाट ती युवाले राम्रो आम्दानी गर्न सक्छन् । त्यही भएर बंगलादेशको ग्रामीण बस्तीबाट शुरू भएको लघुवित्त आज संसारका विभिन्न मुलुकमा लोकप्रिय छ । सस्तो दरमा पनि विपन्न वर्गलाई कर्जा दिन नसकिने होइन तर कर्जा प्रवाहको स्रोत के हो ? राज्यले स्रोत जुटाउन कुनै भूमिका खेल्न सक्छ वा सक्दैन ? भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ । स्वाभाविक रूपमा लघुवित्तले थोरै थोरै कर्जा वितरण ठूलो समुदायमा गर्नुपर्ने भएकाले प्रशासनिक काम बढी हुन्छ, काम बढ्नेबित्तिकै खर्च पनि बढेको हुन्छ ।  यस्तो वास्तविकताको अघिल्तिर नियामक निकायले सहजीकरण हुने खालको संयन्त्र निर्माण गर्नुपर्ने हुन्छ । तर, अहिले नेपाल राष्ट्र बैंकले लघुवित्तलाई नियमन गर्नुभन्दा पनि वाणिज्य बैंकहरूलाई गर्ने जस्तो व्यवहार गरिरहेको छ । यस्तो अभ्यासले नै अहिलेको समस्या सृजना गर्न सहयोग पुर्‍याएको देखिन्छ । गरीबी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आएका लघुवित्तलाई सहजीकरण गर्दै विपन्नको पक्षमा काम गर्ने वातावरण सृजना गर्नु अहिलेको आवश्यकता हो । लघुवित्तमा दोहोरो, तेहरो कर्जाको समस्या छ । त्यसलाई नियमन गर्ने प्रणाली चाहिन्छ । लघुवित्तहरूले यसको माग पनि गरिरहेका छन् । त्यस्तै वाणिज्य बैंकहरूको जस्तै कर्जा सुरक्षणको व्यवस्था पनि गरिनुपर्छ । यस्ता समस्या समाधान गर्न तत्परता देखाउनु पर्ने बेला आइसकेको छ ।

लघुवित्त पीडितहरुद्वारा आन्दोलनको घोषणा

बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुटवलमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका

लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन सम्पन्न, ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चितवनको सौराहामा व्यवस्थापन सम्मेलन २०७८ सम्पन्न गरेको छ । मंसिर २२ देखि २४ गतेसम्म भएको उक्त सम्मेलनमा ब्यवस्थापन समूह र शाखा प्रमुखहरुको उपस्थिती रहेको र  सम्मेलनले वर्तमान परिवेशको शुक्ष्म विश्लेषण गर्दै आवश्यक रणनीति तय गरेको कम्पनीले जनाएको छ।संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज प्रकाश शर्माले उक्त कार्यक्रमको उदघाटन गर्दैे वित्तीय सुशासन, कारोवा।रमा पारदर्शीता, आन्तरीक श्रोत परिचालन, सेवा प्रवाहमा प्रविधिको प्रयोग सहितको ग्राहकको चाहना अनुसारको सेवा आजको आवश्यकता रहेको विषयमा प्रकाश पारेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शर्माले शाखा प्रबन्धकहरुलाई ट्यावलेट हस्तान्तरण गर्दै सम्पूर्ण शाखाबाट ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ भएकोे घोषणा गरेका छन् ।  कार्यक्रमको अन्तिम दिन उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई  'वर्षको उत्कृष्ठ शाखा' सम्मानवाट पुरस्कृत गरिएको र केन्द्रीय तथा प्रादेशीक स्तरका उत्कृष्ठ कर्मचारीहरुलाइ 'वर्षको उत्कृष्ठ कर्मचारी'उपाधिवाट सम्मान तथा पुरष्कृत गरिएको कम्पनीले जनाएको छ। ३ दिने कार्यक्रम समापन गर्दै संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थाको समग्र उपलब्धिमा कर्मचारीको विशेष योगदान रहने भएकोले त्यसमा निरन्तर लागीरहन आग्रह गरेका छन् । लक्ष्मी लघुवित्तलाई एउटा उत्कृष्ठ लघुवित्त संस्था वनाउन आवश्यक सहयोग गर्न सञ्चालक समिति र लक्ष्मी वैंक प्रतिवद्ध रहेको उनले बताए। लक्ष्मी लघुवित्तले २०७८ कार्तिक मसान्त सम्ममा ५५ वटा जिल्लामा आफ्नो कारोबार संजाल बिस्तार गरि सेवा प्रदान गरिरहेको छ ।

स्वाभिमान लघुवित्तको साधारणसभा आह्वान, मर्जरको पनि प्रस्ताव

स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ८ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ करोड २० लाख ५० हजार रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः (१) संचालक समितिको तर्फबाट अध्यक्षज्युबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । (२) लखापरीक्षण प्रतिवेदन सहितको २०७८. आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । (३) आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (४) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको १.७० प्रतिशतले हुन आउने रकम रु.१५,६४,८५०/- (पन्ध्र लाख चौंसठ्ठी हजार आठ सय पचास मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) बितरण गर्न स्वीकत गर्ने । (५) संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने। (६) रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने बारे । ख. विशेष प्रस्तावः(१) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको ३२.३० प्रतिशतले हुन आउने रकम रु.२,१७,३२,१५०/- (दुई करोड सन्तानब्बे लाख बत्तीस हजार एक सय पचास मात्र) बराबरको बोनश शेयर जारी गर्न स्वीकृत गर्ने । (२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने ।(३) संचालकहरुको सेवा सुविधा पुनरावलोकन गर्ने बारे । (४) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । (५) अन्य इजाजतपत्र प्राप्त (घ) वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । (६) संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने ।

लक्ष्मी लघुवित्तको ७८ औ शाखा संखुवासभाको मुढेमा

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले संखुवासभाको मुढेमा शाखा सञ्चालानमा ल्याएको छ । यो कम्पनीको ७८ औ शाखा हो ।संस्थाका संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बु र संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन्। शाखा उद्घाटन कार्यक्रममा संस्थाका सामान्य प्रशासन विभागका विभागिय प्रमुख  दिलिप शर्मा र संस्थाको ०१ ने प्रदेश कार्यलय प्रमुख भिम न्यौपाने पनि उपस्थित रहेको कम्पनीले जनाएको छ  ।  संस्थाले भबिष्यमा लक्ष्मी बैंकको शाखारहित बैंकिड सेवापनि उपलब्ध गराउने संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बुले जानकारी दिएका छन्  । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले संस्थाको परिचय, स्थापना, कार्यक्षेत्र र आगामी रणनितिको बारेमा जानकारी गराएका थिए। संस्थाको कार्यक्षेत्र बिस्तार,सम्भावना,चुनौति,यसको आवश्यकता र महत्वको बारेमा उक्त शाखाका शाखा प्रमुख महेश लुईटेलले प्रतुतिकरण दिएका थिए।

कोरोनामा लघुवित्तको प्रभावकारी सञ्चालन

नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएको छ । कोरोनाबाट संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएको छ । विश्वका कतिपय मुलुकमा कोरोनाको तेस्रो लहरसमेत आइसकेको र मानवीय क्षतिका साथै अर्थतन्त्रका अधिकांश क्षेत्रलाई प्रभावित पारेका खबर सार्वजनिक भइरहेका छन् । कोरोना महामारीका कारण दैनिक आयस्रोतमा निर्भर रहेको जनसंख्याले रोजगारी गुमाउनु परेको, गरीबीको रेखामुनि रहेको जनसंख्याको आकार बढेकोलगायत तथ्यांक सार्वजनिक भइरहेका छन् । राष्ट्रिय योजना आयोगले नेपालमा कोरोनाका कारण १५ लाखभन्दा बढीले रोजगारी गुमाउनु परेको र गरीबीको दर १८ दशमलव ७ प्रतिशतबाट बढेर २२ दशमलव ७ प्रतिशत पुगेको प्रक्षेपण गरेको छ । कोरोनाका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र आक्रान्त भएसँगै बैंकिङ क्षेत्र पनि अछुतो रहन सकेन । बैंकिङ क्षेत्रभित्र पर्ने लघुवित्त क्षेत्र पनि यसबाट प्रभावित हुँदै आएको छ । लघुवित्त क्षेत्रमा वित्तीय कारोबारको लगभग ८० प्रतिशत कार्य फिल्ड तहमा नै सम्पन्न हुने गर्छ । केन्द्र बैठकमार्फत लघुवित्तीय कारोबार सञ्चालन गर्नुपर्ने भएकाले कोरोनाका कारण मुलुकव्यापी बन्दाबन्दी भएको समयमा कुनै प्रकारको लघुवित्तीय गतिविधिहरू हुन सकेन । यातायात क्षेत्र र आपूर्ति सञ्जाल पूर्णरूपले प्रभावित हुँदा लघुवित्तका सदस्यहरू प्रभावित भई बचत संकलन गर्ने, कर्जा प्रवाह गर्ने तथा साँवा ब्याज असुली गर्ने कार्य ठप्प रहेका थिए । यसरी बन्दाबन्दीका कारण लघुवित्तीय कारोबार सञ्चालन हुन नसकी आम्दानी खुम्चिएको तर नियमित खर्चहरू भइरहँदा लघुवित्त वित्तीय संस्थाको नाफा घट्ने अवस्था रहेको थियो । मुलुकव्यापी बन्दाबन्दीको अन्त्य गरेपश्चात् यस क्षेत्रमा कोरोनाबाट सुरक्षित रहने स्वास्थ्य सुरक्षाका मापदण्डहरू अवलम्बन गर्दै लघुवित्तीय गतिविधिहरू सञ्चालन हुन थालेका छन् । लघुवित्त क्षेत्रलाई स्थायित्व प्रदान गरी दीर्घकालीन विकास गर्न नियामक र सुपरिवेक्षकको जिम्मेवारी पाएको नेपाल राष्ट्र बैंकले विभिन्न नीति निर्देशनहरू जारी गर्ने र नियमित रूपमा सुपरिवेक्षण गर्ने कार्य गर्दै आएको छ । यसका साथै बेलाबेलामा आइपर्ने विभिन्न किसिमका असामान्य परिस्थितिबाट लघुवित्त क्षेत्रलाई संरक्षण गर्न राष्ट्र बैंकले विभिन्न सहुलियत प्रदान गरी सहजकर्ताको भूमिकासमेत निर्वाह गर्दै आएको छ । विगतमा भूकम्प, बाढीपहिरो, भारतीय नाकाबन्दीलगायत असामान्य अवस्थाबाट लघुवित्त क्षेत्रलाई संरक्षण गर्न राष्ट्र बैंकले विभिन्न सहुलियत प्रदान गरेको थियो । पछिल्लो समय कोरोना विपद्बाट उत्पन्न असामान्य परिस्थितिमा लघुवित्त संस्थाहरूलाई सञ्चालन गर्न विभिन्न नियामकीय सहुलियत प्रदान गरेको छ । गतवर्ष कोरोना भाइरसको संक्रमण फैलने क्रमसँगै राष्ट्र बैंकको निर्देशनमा लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी संस्था/सदस्यलाई ब्याज छूट प्रदान गरेका थिए भने राष्ट्र बैंकले नियामकीय प्रावधानमा सहुलियत प्रदान गरेको र हालसम्म पनि उक्त सहुलियत निरन्तर रहेको छ । नियामकीय प्रावधानबमोजिम लघुवित्त संस्थाले कर्जाको वर्गीकरण र त्यसबापत राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा सहुलियत प्रदान गर्दै आएको र आवश्यकता र औचित्यको आधारमा यो व्यवस्थालाई आगामी २०७८ असार मसान्तसम्म कायम गर्न सकिने निर्देशन जारी गरेको छ । यस व्यवस्थाले ऋणी सदस्यलाई साँवाब्याज भुक्तानीमा सहज भएको छ भने बचत संकलन, कर्जा प्रवाह, नाफालगायत वित्तीय सूचकमा सकारात्मक प्रभाव परेको र पूँजीकोष, निष्क्रिय कर्जाको अवस्थालगायत नियमकीय प्रावधान सन्तोषजनक अवस्थामा रहेको छ । कोरोनाको दोस्रो लहर शुरू भएको र यसले पार्ने प्रभावको समय अनिश्चित भएकाले लघुवित्तीय कार्यक्रमलाई अनिश्चित समयसम्म बन्द गर्न उपयुक्त हुँदैन । त्यसैले आगामी दिनमा कोरोना विपद्कै बीच लघुवित्तीय सेवालाई निरन्तरता दिनुको विकल्प छैन । कोरोना संक्रमणको दोस्रो लहरलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्ने, पूर्ण सजगताका साथ भीडभाड नहुने गरी भौतिक दूरी कायम गरेर लघुवित्तीय कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी तथा सदस्यलाई प्रोत्साहन हुने गरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, यसबीच सम्पर्कबाहिर रहन पुगेका सदस्यलाई मोबाइलबाट एसएमएस तथा भेटघाटका माध्यमबाट सम्पर्कमा ल्याउने, नियमित रूपमा गरिँदै आएको केन्द्र बैठकको अतिरिक्त उत्प्रेरणा जगाउने किसिमका भेला कार्यक्रमहरू सञ्चालन गरी सफल तथा शीप र जाँगर भएका सदस्य र अन्य सदस्यलाई एकै थलोमा राखी आआप्mना सफलताका अनुभवहरू आदनप्रदान गर्ने कार्यक्रमको माध्यमद्वारा सदस्यहरूको गुणस्तरीय व्यवस्थापन गर्नेलगायत कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । यसका साथै, सदस्यहरूमा आय आर्जन गर्ने सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने, वित्तीय साक्षरता, वित्तीय जनचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी सदस्यमा वित्तीय अनुशासन कायम गर्ने बानीको विकास गर्नेलगायत कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । भौतिक दूरी कायम राख्नुपर्ने र लघुवित्तीय कारोबार महँगो भइरहेको सन्र्दभमा सदस्य र संस्थाको स्तर र क्षमताबमोजिमको प्रविधिको विकास गरी डिजिटल वित्तीय सेवाको विकास गर्नेतर्फ लाग्नु लाभदायक हुन्छ । नियमनकारी निकायले कोरोना संक्रमणसँगै शुरू गरेको सहुलियतपूर्ण कार्यक्रमलाई आवश्यकता र औचित्यताको आधारमा निरन्तरता दिने र आवश्यकताअनुसार अन्य थप कार्यक्रम र साविकको कार्यक्रमको समयावधि थप गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । समग्रमा मुलुकव्यापी बन्दाबन्दीको समयमा नयाँ सदस्यहरू बनाउने क्रम निरन्तर हुन नसकेको, बचत संकलन र कर्जा प्रवाह हुन नसकेको, सदस्यहरू संस्था छोड्ने क्रम बढेको, विपन्न कर्जा सापटी रकममा कमी आएको, संस्थाको नाफा प्रभावित भएको, नियमकीय प्रावधानहरूको पालना कठिन भएको अवस्था रहेको देखिन्छ । लघुवित्त क्षेत्रको विकास र स्थायित्वका लागि राष्ट्र बैंकले नियामकीय तथा सुपरिवेक्षकीय भूमिका निभाउँदै आएको तथा आवश्यकता र परिस्थितिअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको पाइन्छ । कोरोना संक्रमणका बीच समुदायमा आधारित लघुवित्तीय गतिविधिलाई सञ्चालन गर्ने कार्य सहज छैन तर निरन्तरताको विकल्प पनि छैन । तसर्थ, कोरोनाबाट त्रस्त नभई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै दह्रो मनोबलका साथ नियमकारी निकायको नीतिनिर्देशन र सहुलियतको भरपुर उपयोग गर्दै लघुवित्तीय गतिविधि सञ्चालन गर्नु उपयुक्त हुने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

लघुवित्तको कर्तव्य

लघुवित्त भन्नाले लघु बचत, लघु कर्जा, लघु कर्जा बीमा/लघु कर्जा सुरक्षण तथा विप्रेषणजस्ता माध्यमबाट विपन्न वर्गका समुदायलाई स्वरोजगारका अवसरहरू दिलाई तिनीहरूको उद्यमशीलताको विकास गरी आय आर्जन क्रियाकलापमा सलग्न गराउन सहयोग पुर्‍याउने वित्तीय सेवालाई जनाउँछ । लघुवित्तले विनाधितो विपन्न वर्गका मानिसलाई लघु ऋण प्रदान गरी लघु उद्यम सञ्चालन गर्न प्रोत्साहन गर्छ । विसं २०४९ सालमा डा. मोहम्मद युनुसले शुरू गरेको बंगलादेशको ग्रामीण बैंकिङ पद्धतिलाई नेपालमा लघुवित्तका रूपमा भित्र्याएको हो । नेपाल राष्ट्र बैंकको सक्रियता र नेपाल सरकारसमेतको पहल तथा लगानीमा बंगलादेशको ग्रामीण बैंकिङ पद्धतिको अनुसरण गर्दै पूर्वाञ्चल ग्रामीण विकास बैंक र सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंक स्थापना भएपश्चात् नेपालमा लघुवित्तको संख्यात्मक विकास शुरू भएको हो । हाल गाभ्ने गाभिने प्रक्रिया पार गर्दै ७५ भन्दा बढी लघुवित्तले करीब ४०५७ शाखामार्फत ७७ जिल्लाबाट वित्तीय सेवा दिइरहेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिअनुसार लघुवित्त संस्थाहरूको इजाजत दिने कार्य स्थगन गरिएको छ । साथै, इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरूको इजाजत प्रक्रियासमेत रद्द गरिएको छ । प्रदेशस्तरमा कारोबार गर्ने लघुवित्त संस्थाहरूले तोकिएको प्रदेशबाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय विक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कारोबार एउटै प्रदेशमा सीमित गर्नुपर्ने समयसीमा २०७७ असार मसान्तबाट बढाई २०७८ असार मसान्त कायम गरिएको छ । व्यावसायिक परियोजनाको लागि स्वीकारयोग्य धितो लिई तोकिएका कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई प्रदान गरिने कर्जा सीमा रू. ७ लाखबाट बढाई रू. १५ लाख कायम गरिएको छ । लघु वत्त वित्तीय संस्थाहरूले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत र लघुवित्त वित्तीय संस्थामा आधार दर (गणनाविधि) समेत तय गरिने योजना रहेको देखिन्छ । इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र थोक कर्जा प्रवाह गर्ने ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्ग कर्जाको रूपमा लघुवित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जामा शून्य दशमलव ५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था भएको छ । लघुवित्त वित्तीय संस्थाहरूको शाखा नभएका वडाहरूमा मात्र शाखा खोल्न पाउने व्यवस्थाले वित्तीय पहुँचलाई बढावा दिइएको छ । लघुवित्त वित्तीय संस्थामध्ये थोक कर्जा प्रवाह गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्न स्वीकृत प्राप्त संस्थाहरूले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमानअनुसार समेत प्रकाशन गर्नुपर्ने व्यवस्थाले लघुवित्तको शुद्धीकरणलाई बल मिलेको छ । लघुवित्त संस्थाहरूको पूँजीको आधार सुदृढ तुल्याउन एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गरिएबाट गुणस्तरीय सेवा र पूँजीको आधार सुनिश्चित भएको छ । बढ्दो सामाजिक उत्तरदायित्व निर्वाह, अनुुगमन र लगानी एवं असुलीलाई प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिएको फलस्वरूप लघुवित्तले लगानीकर्तालाई तुलनात्मक रूपमा बढी लाभांश दिएको र वाणिज्य र विकास बैंकभन्दा शेयरमूल्य पनि उच्च रहेको छ । नेपालमा लघुवित्त क्षेत्रले विगत अढाइ दशकमा संख्यात्मक एवं गुणात्मक रूपमा ठूला फड्को मारेको छ । वित्तीय सेवाको पहुँच हेर्दा ७७ जिल्लामा पुगिसकेको र लाखौं परिवारले आय आर्जनका माध्यमबाट आफूलाई गरीबीको रेखाभन्दा माथि उकास्न सफल भएका छन् । महिला सशक्तीकरण, नेतृत्व विकास, बालबालिकाको पोषण, विद्यालय भर्नाजस्ता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ । लघुवित्तको अवस्था र यसले पारेको प्रभावबारे अनुसन्धान र खोजको आवश्यकता देखिन्छ । लघुवित्तको अवस्था हेर्दा धेरै चुनौतीको सामना गर्नुपरेको देखिन्छ । दोहोरो कर्जा र यसको दुरुपयोग, उच्च सञ्चालन खर्च, स्रोत व्यवस्थापनमा परनिर्भरता, भौगालिक विकटता भएको क्षेत्रमा सेवा विस्तारमा कठिनाइ, अस्वस्थ प्रतिस्पर्धा, विपन्न वर्गमा सेवा पुर्‍याउन कठिनाइजस्ता समस्या देखिएका छन् । बढी मुनाफामा केन्द्रित हुँदा सामाजिक उत्तरदायित्वको पालनामा कठिनाइ, सरकारबाट अपेक्षित सहयोगको अभाव, मर्जरमा जान बाध्य पारिनुु, सर्वसाधारणमा वित्तीय साक्षरताको अभाव, उद्देश्यअनुरूपको लगानी नहुनु स्प्रेडदर न्यून रहनुलगायत समस्या छन् । सेन्टर फर माइक्रो फाइनान्सको सहकार्यमा लघुवित्त संस्थाहरूले पारेको सामाजिक र आर्थिक प्रभावको अध्ययनको थालनी हुनुलाई सकारात्मक कार्यका रूपमा लिन सकिन्छ । लघुवित्तको प्रमुख कर्तव्य र दायित्वमा कोभिड–१९ को मारमा परेका कृषकलाई कसरी माथि उठाउने, निर्देशित नीतिको कार्यान्वयन, स्रोत व्यवस्थापनको पहल, वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तारका माध्यमबाट वित्तीय समावेशीकरणमा जोड, उद्यमशीलता र स्वरोजगारको विकास, विपन्न परिवारमा पहुँच लघुवित्तका दायित्व हुन् । लगानी गरिएको कर्जाको समयमा नै नियमानुसार असुली र नियमित अनुगमन, लगानीका नयाँ क्षेत्र पहिचान, गरीबी निवारणमा थप भूमिका खेल्ने र गुणस्तरीय सेवा दिने पनि यसका दायित्व हुन् । कर्मचारी तथा कामदारको क्षमता अभिवृद्धि गर्ने, कर्जा सूचनालाई व्यवस्थित गर्ने, अनुसन्धानमूलक कार्य र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य गर्ने, अनावश्यक खर्च कटौती गर्ने, गरीबसँग लघुवित्त भन्ने कार्यलाई यथार्थमा बदल्नेजस्तो चुनौती लघुवित्तलाई छ । चर्को ब्याजलाई नियन्त्रण गर्ने र स्रोतको उचित परिचालन गर्नेलगायत थप दायित्व पनि छन् । लघुवित्तको सकारात्मक कार्यको प्रचारभन्दा नकारात्मक कार्यको प्रचार बढी पाइन्छ । तसर्थ लघुवित्तले हालसम्म गरेको योगदानका बारेमा नेपाल लघुवित्त बैंकर्स संघले समेत प्रचारप्रसारलाई तीव्रता दिएमा जनविश्वास बढ्नेछ । ऋण असुली र लगानीका बीच सामीप्यसमेत आउने कुरामा कसैको दुईमत नहोला । बैंकिङ पहुँच र गरीबी निवारणको लक्ष्यसहित लघुवित्तको स्थापना र विकासमा सरकारी तहबाट नै योगदान रहिसकेको अवस्थामा लघुवित्तलाई खुम्चाउने नीति र निर्देशनात्मक दबाब उचित हुँदैन । बरु, लघुुवित्तको योगदानबारे अध्ययन, अनुसन्धान गर्ने र जनमानसमा सुसूचित गराउने, लघुवित्तलाई सक्षम, दिगो र भरपर्दो कार्यक्रमका रूपमा विस्तार गर्ने कार्यमा नेपाल राष्ट्र बैंकलगायत सरकारी तवरबाट समेत उचित सहयोग हुनु जरुरी देखिन्छ । लेखक नेपालमा वित्तीय क्षेत्र सुधारसम्बन्धी विषयका विद्यावारिधि हुन् ।