काठमाडौं। बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब रुपैयाँ नाघेको छ । रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा भएको निरन्तर वृद्धि र सरकारले स्थानीय तहको सञ्चित रकमबाट निक्षेप गणना गर्न पाउने सुविधा दिएसँगै बैंकहरूको निक्षेप उच्च बिन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत आइतवारसम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो दिनको तुलनामा एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । शनिवार वित्तीय प्रणालीमा ५७ खर्ब ९२ अर्ब निक्षेप थियो ।
गत आर्थिक वर्ष (आव) सम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ थियो । सरकारले स्थानीय तहको सञ्चित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा कटौती गर्दै ५० प्रतिशतमा झारेपछि चालू आवको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तर, बैंकरसँगको छलफलपछि भदौ दोस्रो साता अर्थमन्त्री डा. प्रकाशशरण महतले पुन: स्थानीय तहको सञ्चित कोषको रकममध्ये ६० प्रतिशत बैंकहरूले निक्षेपमा गणना गर्न पाउने सुविधा दिए । यसैगरी विप्रेषण आप्रवाह उच्च भएपछि बैंकमा निक्षेप बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत आइतवारसम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ छ ।
निक्षेप बढे पनि बैंकहरूको कर्जा प्रवाह भने सुस्त छ । अर्थमन्त्रीले आर्थिक गतिविधि चलायमान बनाउन ऋण प्रवाह बढाउने उद्देश्यले निक्षेप गणनाको सुविधा दिएका थिए । आइतवारसम्ममा बैंक, वित्तीय संस्थाले कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आवको अन्तिममा ४८ खर्ब ७९ अर्ब रहेको कुल कर्जा लगानी साढे २ महीनामा ५३ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । शनिवार ८२ दशमलव २१ प्रतिशत रहेको सीडी रेसियो आइतवार ८२ दशमलव शून्य ५ प्रतिशतमा झरेको छ । यसैगरी तरलता उच्च हुँदा अन्तरबैंक कारोबारको औसत ब्याजदर पनि २ दशमलव ५२ प्रतिशतमा झरेको छ ।
बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी लगानी गर्न पाउने व्यवस्था छ । यो प्रावधानअनुसार बैंकहरूसँग यतिबेला ४ खर्ब ६१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।