काठमाडौं (अस) । फोर्स मोटर्स नेपालले नयाँ गाडी गुर्खा नेपाली बजारमा बिक्री सुरु गरेको छ । नेपालमा आयाम इन्टरकन्टिनेन्टल प्रालि फोर्स मोटर्सको आधिकारिक बिक्रेता हो । ग्राउन्ड अप मोडुलर आर्किटेक्चर प्लेटफर्ममा निर्मित गाडीको आकृतिले अघिल्लो पुस्ताको जी वागनलाई प्रतिविम्बित गर्ने कम्पनीले बताएको छ ।
लामो र चौडा बनावटयुक्त गुर्खाको क्याबिन फराकिलो एवं आरामदायी हुनुका साथै यसमा चारै जना यात्रुका लागि क्याप्टेन सिटलगायत गरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुटस्पेस छ । मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो सेग्मेन्टको यस्तो गाडी हो, जुन बिनाकुनै समस्या तीन अंकको गतिमा राजमार्गमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने कम्पनीले बताएको छ । यो गाडीमा रहेको एयर इन्टेक स्नोर्कलर चार वटै पांग्रामा भएको लक अन्यभन्दा विशेष प्रकारको रहेको कम्पनीको दाबी छ ।
अटोमिडियाले यो गाडीको टेस्ट ड्राइभसम्बन्धी गरेको कभरेजमा गुर्खाको डिजाइन, स्टाइल र स्पेस अरूभन्दा उत्कृष्ट भएको जनाएको कम्पनीको भनाइ छ । पाँच विभिन्न रंगमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ । ग्राहकले चार पटकसम्म नि: शुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन् । ‘शक्ति, क्षमता एवं स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका सडकका लागि उपयुक्त छ’, आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले भने ।